‘क्यान्सर मृत्युको पर्यायवाची होइन’

सन्दर्भ : विश्व स्तन क्यान्सर सचेतना महिना

काठमाडौं, २९ असोज ।

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसंग हुन्छन् । कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो । परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गत असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेलिरहन्थ्यो ।

तर, शनिबार दिउँसो भरतपुरममा आयोजित एउटा कार्यक्रममा दुई घण्टा बसेपछि उनको सोच बदलियो । ‘हैन यो पनि अरू रोग जस्तै उपचारपछि निको भइहाल्ने रहेछ । क्यान्सर लागेकाहरू पनि उपचार गरेर बाँचेकै रहेछन्,’ सीताले हर्षित हुँदै सुनाइन् ।

अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने चलन छ ।

शनिबार दिउँसो श्रेष्ठ त्यही सम्बन्धि एउटा कार्यक्रममा सहभागी भएकी थिइन् ।

breast-change-diagram

कार्यक्रममा स्तन क्यान्सर भएको पत्ता लागेपछि उपचार गरेर निको भएका र हाल सामान्य जीवन बिताइरहेका पाँचजना महिलाले आफ्नो अनुभव राखेका थिए । त्यो अनुभव सुनेपछि श्रेष्ठको हौसला बढेको हो ।

‘क्यान्सर भएपछि केही समयलाई पीडा नहुने होइन । तर म केमियोथेरापी दिँदा पनि अस्पतालको बेडमा बसेर एसएमएसमार्फत अफिसको काम गरेकी हुन्थे,’ स्तन क्यान्सर भएर उपचार गरी निको भएकी वन्दना खाँडले भनिन् ।

पेशाले स्वास्थ्यकर्मीसमेत रहेकी पञ्चु लामालाई २०६१ सालमा स्तन क्यान्सर भएको पत्ता लाग्यो ।

उपचार सुरु भएपछि केमो थेरापी दिँदा उनको तौल ४० किलोसम्म भयो । १७ दिनसम्म पानी पनि राम्रोसँग खान सकिनन् । तर उपचार पूरा भएपछि उनको रोग बल्झेन । उनी अहिले सामान्य दिनचर्यामा छिन् । किमो दिँदा उनलाई देखेका सामान्य मान्छे मात्रै होइन नर्सहरू समेत अहिले भेट हुँदा छक्कै पर्छन् । – नागरिक दैनिकबाट

आइतबार, २९ असोज, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*