‘खुसियाली घर, खुसियाली गाउँ’ ‘खुसी गाउँ’ बनाउँदै आमाहरू

सुर्खेत, बेलचौरका आमाहरू गाउँ अवलोकनमा आएका आगन्तुकको स्वागत गर्दै ।तस्बिर- प्रकाश, कान्तिपुरबाट

बेलचौर (सुर्खेत), ३ पुस ।

कस्तो गाउँलाई खुसी गाउँ भन्ने ? पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ बेलचौरका आमाहरू आफैंले त्यसका लागि दर्जन बढी सूचक बनाएका छन् ।

उनीहरू दुई वर्षयता गाउँलाई नै खुसी बनाउन जुटेका छन् । तिनै सूचक पूरा गरेर आगामी चैतभित्रै बेलचौर ‘खुसी गाउँ’ बन्ने उनीहरूको विश्वास छ ।

बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरधुरीका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आबद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो ।

हरेक सदस्य व्यवसायमा लागेको, सबै बालबालिका स्कुल भर्ना भएको, महिला हिंसा, जातीय विभेद शून्य, बालविवाह र बहुविवाहमुक्त, हरेक घरधुरीले सरसफाइका सबै सूचक पूरा गरेको, सहकारीमा आबद्ध हुनुपर्ने लगायत मापदण्ड निर्धारण गरिएका छन् ।

‘जति सूचक बनाएका छौं, तीमध्ये धेरै पूरा भइसकेको छ,’ समूहकी उपाध्यक्ष कृष्णा बोगटी भन्छिन्, ‘चैतभित्रै खुसी गाउँ घोषणा गर्ने तयारीमा छौं ।’

बेलचौरमा एउटा नारा छ, ‘खुसियाली घर, खुसियाली गाउँ ।’ घर–घरका भित्तामा यही नारा लेखिएको छ । – कान्तिपुरबाट

सोमबार, पुस ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*