खोटाङमा अठार पुरुषसँग भिड्दै एक्ली महिला उम्मेदवार !

खोटाङ, १४ कात्तिक ।

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो ।

वि.सं. ०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद भएकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी छिन् ।

बजिमयसँगै काँग्रेस, नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार छन् ।

विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेका छन् । निर्वाचनमा जिल्लाबाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमयले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य लगायतको भूमिका निर्वाह गरिसकेकी छिन् ।

उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेश सभामा कुनै पनि दलले महिला नेत्रृलाई दिएका छैनन् । दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेत्रृहरु असन्तुष्ट बनेका छन् ।

प्रदेश सभामा दुई र प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान शुरु गरिसकेका छन् । चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँ–गाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन् । रासस

मंगलबार, कात्तिक १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*