गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल

२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

Prithvi-subba-gurung-Gandaki

                                                   पृथ्वीसुब्बा गुरुङ

अनलाइनखबर स्रोतका अनुसार गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासागै केपी शर्मा ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका हुन् ।

तर प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उलेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

परासीका वकिल सा’ब, अब गण्डकी प्रदेशका मुख्यमन्त्री

यसैबीच कान्तिपुरमा नारायण शर्माले सम्प्रेषण गरेको समाचारअनुसार, विसं २०३९ सालमा तनहुँबाट नवलपरासी सदरमुकाम परासीमा बसाइँ सरेर आउँदा कृष्णचन्द्र नेपालीलाई राजनीतिकर्मी भन्दा पनि सबैले वकिल सा’ब भनेर चिन्थे । त्यतिबेला उनले परासीमा जनपक्षीय ‘ल फर्म’ खोलेर पञ्चायती व्यवस्थाविरोधी समूहका राजनीतिक र अन्य मुद्दा हेर्न थाले ।

पञ्चायतकालमा मधेसी समुदायको बाहुल्यता रहेको परासीमा देखाउने पेसा वकालत गर्ने र भित्रभित्र कांग्रेसको राजनीति थालेका उनै ७१ वर्षीय कृष्णचन्द्रले परासी आएको ३९ वर्षपछि शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हालेका छन् ।

परासीमा वकालत र पञ्चायतविरोधी राजनीति (नेपाली कांग्रेस त्यतिखेर प्रतिबन्धित थियो) गर्ने भनेर आएको छोटो समयमै उनी कांग्रेसजन र पञ्चायतविरोधी खेमाका कहलिएका वकिल सा’बको रुपमा स्थापित भइसकेका थिए ।

बीपी कोइरालाका विश्वासपात्र बाबु गोवर्धन पोख्रेलको विरासतका कृष्णचन्द्रलाई कांग्रेसजनहरु खोजीखोजी भेट्थे । स्पष्ट बोल्ने र कडा मिजासका वकिल हुन् कृष्णचन्द्र । उनका राजनीतिक सहकर्मी महेन्द्रध्वज जिसी भन्छन्, ‘पञ्चायतविरोधी मुद्दा र कांग्रेस कार्यकर्ताका मुद्दा निःशुल्क हेरेर मन जित्ने काम गर्नु हुन्थ्यो ।’ उनलाई परासीमा अहिले पनि पुराना पुस्ताले वकिल सा’ब नै भनेर चिन्छन् ।

उनको प्रारम्भिकदेखि स्नातकसम्मको शिक्षा भारतको विहारमा भएका कारण (बाबु गोवर्धन शर्मा भारतमा निर्वासनमा रहेकाले) परासीमा मधेसी समुदायमा छिट्टै घुलमिल हुन सफल भए ।

तनहुँमा उनको परिवार नै सक्रिय राजनीतिमा थियो । विद्यार्थी आन्दोलनमा लागेका कारण २०३५ सालमा जेल परे कृष्णचन्द्र । कास्की कारागारमा थुनिए । ३०३६ सालको आममाफीमा छुटे । बहुदलको प्रचारमा लागेको आरोपमा फेरि उनका बाबु, दाजु रामचन्द्र पोख्रेल र उनी जेल परे ।

परिवारका सबैजना एउटै जिल्ला तनहुँमा राजनीतिमा सक्रिय रहनुभन्दा अन्य जिल्लामा पनि कांग्रेसको आन्दोलनलाई गति दिने र वकालत पेसा पनि गर्ने भन्दै २०३९ सालमा नवलपरासी बसाइँ झरेका थिए । त्यहाँ आएकै वर्ष उनलाई बीपी कोइरालाले जिल्ला सदस्यमा रहेर काम गर्न अह्राए ।

वकालत पेशासँगै राजनीतिलाई अघि बढाए । गोवर्धनका छोरा भएका कारण कांग्रेसमा उनी बसाइँ सरेर आएको जिल्लामा पनि हाइहाइ नै भए । तनहुँबाट नवलपरासीमा बसाइँ सरेर आएकाहरुको संख्या बाक्लो भएका कारण उनलाई कहिल्यै नवलपरासी फरक जिल्लाझैं लागेन । उनका बाबु गोवर्धन देशभरिबाट बीपीले रुचाउनेमध्येका एक थिए ।

२०४८ सालमा नवलपरासी कांग्रेसको जिल्ला सभापति बनेका उनी लगातार ४ कार्यकाल जिल्ला सभापति बने । २०४८ मै परासीबाट प्रतिनिधि सभाको (तत्कालीन क्षेत्र नम्बर ४) उम्मेदवार बने । ९ हजार ९ सय मत ल्याएर सद्भावनाका उम्मेदवारसँग पराजित भए । २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएर राजनीतिक यात्रा जारी राख्दै आएका उनी २०७० मा नवलपरासी क्षेत्र नम्बर ३ (दुम्किबास अरुणखोला क्षेत्र) बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका भए पनि झिनो मत अन्तरले पुनः पराजित भए ।

राजनीतिमा सक्रिय उनी २०७४ मा नवलपरासी १ ‘क’ बाट प्रदेश सभामा उम्मेदवार बनेर निर्वाचित भए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि कृष्णचन्द्र नेपाली (पोख्रेल) ले गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

भारतमा अध्ययन गर्दासम्म उनको नाम कृष्णचन्द्र पोख्रेल थियो । परीक्षामा फर्म भर्ने बेला प्रोफेसरले ‘पोख्रेल क्या होता है’ भन्दै पोख्रेल फालेर ‘नेपाली’ थर झुण्डाइ दिएका हुन् ।

आफ्ना प्रतिद्वन्द्वी (माओवादीका) सूर्य न्यौपानेलाई ३ सय ८२ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् उनी ।

चार दाजुभाइमध्ये उनी माइला हुन् । उनका दाजु रामचन्द्र पोख्रेल पनि कांग्रेसका नेता तथा पूर्वसांसद हुन् । भाइ जगदीशचन्द्र पोख्रेल योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । कृष्णचन्द्रका श्रीमती, २ छोरा, २ छोरी, ९८ वर्षकी आमा छन् ।

बाबुसँग भारतमा निर्वासित जीवन बिताउँदा उनले विहार, नरकटियागञ्जबाट माध्यमिक तहको शिक्षा पूरा गरे । र, दरभंगाबाट स्नातक पूरा गरेर नेपालबाट कानुनमा स्नातक गरेका हुन् । (स्रोत : विभिन्न सञ्चार -माध्यम )

शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*