गौरिका बनिन् एउटै सागमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

जारी १३ औं सागको समापन मंगलबार, १४ औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने

खेल संवाददाता
काठमाडौं । पछिल्लो १२औं सागदेखि नै नेपाली पौडीमा अद्भुत प्रतिभा देखाउँदै आएकी कीर्तिमानी किशोरी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक सफल खेलाडी बन्न पुगेकी छन् ।

उनले १३औं सागमा चार स्वर्णसहित ९ पदक जितेकी छिन् । उनले यो सागमा पौडीका विभिन्न ९ स्पर्धामा भाग लिएकी थिइन् जसमध्ये उनी कुनैमा पनि पदकविहीन हुन परेन ।

यससँगै गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

यस अघि, सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चारवटा सागबाट चार स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् । १३ औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी छन् ।

पौडीको अन्तिम दिन सोमबार उनले १०० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी ५८:१३ सेकेन्डमा पूरा गरिन् । ५८।१५ सेकेन्डमा दूरी पार गरेकी भारतीय शिवांगी शर्माले रजत पदक पाएकी छन् ।

निकै सानो अन्तरले स्वर्ण जितेकी गौरिकाले भनिन्, ‘हेर्नै डर लाग्यो म जितेको हो कि उ जितेको ।’

Gaurika-Singh-saag

सोमबार नै ४०० मिटर मिड्ले रिलेमा गौरिका संलग्न नेपाली टोलीले कांस्य पदक जितेको छ । गौरिका सिंहसहितको टीमले ४ मिनेट ३३:६२ सेकेण्डमा दूरी पार गरी कांस्य पदक जितेको हो । यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जिते । भारतीय खेलाडीले ४ मिनेट २१:२८ सेकेण्ड र श्रीलंकाका खेलाडीले ४ मिनेट २४:६६ सेकेण्डमा दूरी पार गरे ।

गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा भने स्वर्ण पदक जित्नबाट वचित रहिन् । सातदोबाटोस्थित स्विमिङ पुलमा भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३:१५ सेकेण्डमा पूरा गरिन् ।

उनी भारतकी मन्ना राजीव पटेलभन्दा एक सेकेण्ड भन्दा कम समयले पछि परेकी हुन् । पटेलले १ मिनेट ०२:३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण जितेकी छन् ।

१३औं सागमा गौरिकाले २०० मिटर ब्याकस्ट्रोक र प्रिmस्टालमा स्वर्ण जितेकी हुन् । तर २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि स्वर्णका लागि पर्याप्त भएन । गौरिकाले आठौ राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनेट ०७।२२ सेकेण्डको कीर्तिमान सुधार गरेकी हुन् ।

यस्तै डुआना लामा र एलेक्स शाहले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि पदक जित्न सकेनन् ।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले फिना वर्ल्डकप २०१८ सिंगापुरमा आफैंले बनाएको ३५:८२ को कीर्तिमानमा सुधार गर्दै ३५:४६ को टाइमिङ निकालिन् ।

एलेक्सले पुरुष १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०२:१० को नयाँ कीर्तिमान बनाए । उनले आठौं राष्ट्रियमा नाथन दोर्जेले राखेको १ मिनेट ०४:०६ सेकेण्डको कीर्तिमान तोडे । डुआवा आफनो इभेन्टमा चौथो हुँदा एलेक्स छैटौँ भएका छन् ।

जुडोमा पूनम श्रेष्ठले स्वर्ण जितिन्

Punam Shrestha Judo

१३ औँ साग अन्तर्गत ७८ केजी मुनिको जुडो स्पर्धामा पूनम श्रेष्ठले स्वर्ण जितेकी छन् । उनले श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

जारी सागमा जुडोमा जितेको नेपालको यो दोस्रो स्वर्ण हो। अघिल्लो दिन देविका खड्काले ५२ केजी मुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्।

इतिहास बनाउँदै महिला बक्सिङमा मिनु गुरुङले जितिन् स्वर्ण 

महिला बक्सर मिनु गुरुङले सोमबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा स्वर्ण पदक जितिन् । उनले श्रीलंकाली र भारतीय खेलाडीलाई हराएकी थिइन् ।

Menu-Gurung-gold-Boxing

योसँगै मिनुले बक्सिङमा इतिहास समेत रचेकी छन् । उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बन्न सफल भएकी हुन् ।

सागमा नेपालले बक्सिङमा २० वर्षपछि पहिलो स्वर्ण हात पारेको छ । यसअघि सन् १९९९ मा काठमाडौंमा भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

भुपेन्द्रलाई बक्सिङमा स्वर्ण पदक

Bhupendra Thapa Boxing
जारी १३औं सागमा नेपाली बक्सर भुपेन्द्र थापाले स्वर्ण जितेका छन्। थापाले ६४ केजी तौल समूहमा फाइनलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरेका थिए।

महिला फुटबलमा भारतलाई स्वर्ण, नेपाल रजतमा सीमित

पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

फाइनलमा भारतले सुरुदेखि नै अग्रता लिएको थियो । भारतका लागि पहिलो हाफको १८ औं मिनेटमा बाला देवीले पहिलो गोल गरेको थिइन् । देवीले ५५ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

पहिलो हाफसम्म १–० ले पछि परेको नेपालले खेल अवधिभर गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । यसरी फाइनलमा भारतसँग २(० गोल अन्तरले पराजित भएपछि स्वर्ण जित्ने नेपालको सपना फेरि एकपटक अधुरो नै रहन पुगेको छ ।

हारसँगै मुख्य प्रशिक्षक खड्काको राजीनामा

नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । १३औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हारेसँगै प्रशिक्षक खड्काले राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका प्रशिक्षक खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए । तर उनले कुनै न कुनै रुपमा नेपाली फुटबलसँग आबद्ध हुने प्रतिबद्धता पनि जनाएका छन् । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उपविजेता बनेको थियो ।

जारी सागको समूह चरणमा पनि नेपाल भारतसँग १–० ले हारेको थियो ।

महिला कबड्डीमा नेपाललाई रजत
जारी १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा सोमबार भएको फाइनलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो।

बास्केटबलमा नेपालले जित्यो रजत

जारी १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टोलीले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को कभर्ड हलमा सोमबार भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित बनेको हो ।

भारतसँग नेपाल २०–१५ ले पराजित भयो । सोही स्पर्धामा श्रीलंकाले कांस्य जित्यो ।

सेमिफाइनलमा नेपाल श्रीलंकालाई २१–९ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यसैगरी महिलातर्फको खेलमा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत र नेपालले कांस्य पदक जिते ।
पुरुष क्रिकेटमा नेपाल कांस्यमा सीमित

जारी तेह्रौँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कांस्य पदक हात पारेको छ । सोमबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपाल कास्य जित्न सफल भएको हो ।

माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले केवल १६.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्यो ।

आरिफ शेखले सर्वाधिक ३२ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, बिनोद भण्डारीले १२ रन, रोहितकुमार पौडेल १५ रन, पवन सरार्फले १० रन, पारस खड्काले ३ रन र दिपेन्द्रसिंह ऐरीको २ रनमा नेपालले कास्य जितेको हो ।

ज्ञानेन्द्र भए सागको उत्कृष्ट ब्याट्सम्यान

श्रीलंका र बंगलादेशका टेष्ट खेलाडीलाई पछि पार्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल १३ औं दक्षिण एसियाली खेलकुद ९साग० पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । कप्तान मल्लले प्रतियोगिताभर ५ खेलमा २ सय १२ रन बनाउन सफल भएपछि यस्तो उपाधि पाएका हुन् ।

ज्ञानेन्द्रलाई पछ्याउँदै श्रीलंकन पाथुम निसान्काले ४ खेलमा २ अर्धशतकसहित २ सय ११ रन बनाउँदै सागमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहे ।

बंगलादेशका स्पिनर तनवीर इस्लामले ५ खेलमा १० विकेट लिएर उत्कृष्ट बलरको उपाधि जिते । उता, म्यान अफ द टुर्नामेन्टमा भने श्रीलंकाका कप्तान कामिन्दु मेन्डिसले बाजी मारे । उनले ४ खेलमा ५ विकेट लिनुका साथै १ शतकसहित १ सय ३४ रन जोडेका थिए ।

१४ औं दक्षिण एसियाली खेलक’द पाकिस्तानमा हुने

जारी १३ औं सागको समापन मंगलबार गरिँदैछ । १४ औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।

साथै काउन्सिलको बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी – भाराेत्तलन
३४. गाैरिका सिंह – पाैडी
३५. जुनी राई – उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ– गल्फ (टिम इभेन्ट)
४०. विकास थापा– भाराेत्ताेलन
४१. गाैरिका सिंह– पाैडी
४२. किरणसिंह बाेगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गाैरिका सिंह- पाैडी
४५. देविका खड्का- जुडाे
४६. मिनु गुरुङ- बक्सिङ
४७. भूपेन्द्र थापा- बक्सिङ
४८. पुनम श्रेष्ठ- जुडाे
४९. गाैरिका सिंह- पाैडी

सोमबार, मंसिर २३, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*