चाडपर्वको नाममा पितृसत्ता जोगाउँदै !

विचार/मोना शेर्पा

नेपालको महिला आन्दोलन विविध प्रगतिशील परिवर्तन हासिल गर्न सफल भएको छ । संविधानले धेरैवटा प्रगतिशील कानुन जारी गरेको छ, जसले महिला अधिकारलाई बलिया आधार प्रदान गर्नुका साथै पितृसत्तात्मक समाजका मिथहरूलाई पर्दाफास गरेका छन् । हामीले महिलाको नाममा नागरिकता, राजनीतिक संरचनामा महिलाको प्रतिनिधित्व, र सामाजिक, आर्थिक तथा सार्वजनिक क्षेत्रमा महिला नेतृत्वको विषयमा सफलता हासिल गरेका छौं र त्यसको उत्सव मनाएका छौं । कानुनी प्रावधानहरूको समीक्षाले हामी दक्षिण एसियाका अन्य मुलुकहरूको दाँजोमा धेरै प्रगतिशील छौं भन्ने प्रमाणित गरेको छ । यी सबै परिवर्तनहरूको श्रेय महिला आन्दोलन र पितृसत्तात्मक सोचहरूको ‘ग्लास सिलिङ’लाई साझा प्रयासद्वारा तोड्न सकिन्छ भन्ने कुरा बुझेर निरन्तर पैरवी गरिरहने दूरद्रष्टा महिला अधिकारकर्मीहरूलाई जान्छ ।

Mona-Sherpa-

                –मोना शेर्पा

तर महिलाहरू आफ्ना श्रीमानको दीर्घायुका लागि व्रत बस्ने पर्व तीजले भने आधारभूत रूपले नै महिलालाई तल्लो मर्यादास्तरमा राख्छ र हाम्रा उपलब्धिहरूलाई कलंकित पार्छ । विडम्बना त के छ भने हामीले आदर गर्ने र हामी कृतज्ञ समेत रहने गरेका हाम्रा दूरद्रष्टा नेताहरू मात्र नभएर महिला अधिकार र लैङ्गिक समानताका लागि काम गर्ने धेरै संघ–संस्थाहरू समेतले यस पर्वलाई प्रोत्साहित गर्दछन्, जुन वास्तवमा अरू केही नभएर पितृसत्तात्मक मान्यताहरू पुनस्र्थापित गर्ने गराउने अभ्यासहरूलाई निरन्तरता दिने एक औचित्य मात्र हो । तर त्यही पितृसत्ता र त्यसका हानिकारक रुढीवादी परम्परागत अभ्यासहरूविरुद्ध लड्ने क्रममा भने लामो समयदेखि अथक संघर्ष गर्दै आइरहनुपरेको छ ।

मलाई त्यतिबेला निकै उदेक लागेर आउँछ जुनबेला मेरो सामाजिक सञ्जालका भित्ताहरू (सोसल मिडिया फिड) महिलाहरूले तीज मनाइरहेका बग्रेल्ती तस्बिरहरू, लगातार तीज पार्टीसम्बन्धी दिक्कलाग्दा जानकारीहरू, र भौतिकवादी समाज/संस्कृतिलाई प्रोत्साहित गर्ने शृंखलाबद्ध सेल व्यापार–जसले यस्ता पर्व/परम्पराहरूलाई प्रोत्साहित गर्दै कसरी आफ्नो व्यापार बढाउने गरी बजारले फाइदा लिने गरेको छ भन्ने संकेत गर्छ– जस्ता कुराहरूले भरिन्छन् । यस्ता सवालहरूमा यदि कम सरोकार राख्नेहरूमध्येकै एक हुन्थेँ भने म पनि बरु मौन रहन्थेँ होला तर एक महिला अधिकारकर्मी भएर हेर्दा अन्य तमाम महिला अधिकारकर्मीहरू तीज उत्सवको आधारभूत कारणबारे प्रश्न उठाउन र सोधखोजै गर्न नतम्सेको देख्दा भने आफैँ विस्मयमा पर्छु । आधारभूत रूपमा महिला भनेका दोस्रो दर्जाका, परनिर्भर, अपवित्र सेवक, पुरुष (श्रीमान) प्रति निर्भर र उसकै अधीनस्थ हुन् भन्ने मान्यतालाई स्थापित गरेर तीजले स्त्रीद्वेषी विचारहरूको निरन्तरतालाई समर्थन गर्दछ । तीजसम्बन्धी समग्र विचार र यससँग जोडिएका विविध परम्पराहरू यसै विचारबाट निर्देशित छन् । त्यसो त तीज मनाउने प्रवृत्तिमा आएका परिवर्तनहरूलाई देखाएर तीजको औचित्य पुष्टि गर्ने प्रयासहरू भइरहेको पनि देखिन्छ । लैङ्गिक दृष्टिकोणबाट गरिने यस पर्वको समालोचनात्मक समीक्षाले गतिशीलता (डाइनमिक्स) र शक्ति समीकरणबीचको द्वन्द्वलाई प्रतिध्वनित गर्दछ ।

आफैलाई सोधी हेर्नुहोस् त, यदि यो पर्व महिला सशक्तीकरणसम्बन्धी छ भने, श्रीमानको दीर्घायुका लागि भनेर भोकै बस्दैमा के यो कुरा यथार्थमा फेरिन सक्छ ? महिलाको अस्तित्व श्रीमान वा हुनेवाला श्रीमानहरूमा पूर्ण रूपमा निर्भर रहने धार्मिक सोचग्रस्त समाजमा जीवन बिताउनु पर्दा के खुसीयाली र वैवाहिक जीवनका आनन्दहरूको ग्यारेन्टी गर्न सकिन्छ ? के हामी यसैलाई सत्य प्रमाणित गर्ने कोसिस गरिरहेका छौं ? के महिलाहरूलाई सशक्तीकरणका गीत गाउनका लागि वा अहिलेसम्मका संघर्षहरूको साझा उत्सव मनाउनका लागि हामीसँग अन्य प्लाटफर्महरू छैनन् जसले गर्दा हामी महिलालाई दोयम सिद्ध गर्ने गलत धारणाहरूमाथि उभ्याइएका मञ्चहरूमा भर परिरहेका छौं ? के हाम्रो दायित्व हाम्रा श्रीमानहरूप्रति मात्र छ ? विडम्बनाको कुरा, महिला अधिकारका लागि क्रियाशील धेरै प्रगतिशील व्यक्तिहरू र अधिकारकर्मीहरू भाषण वा भनाइमा यी विचारहरूविरुद्ध लड्दछन् तर मौन रूपमा यसलाई अँगालेर यसको समर्थन गरिरहेका हुन्छन् । यसलाई स्वीकार गर्ने दौरानमा, के हामीले समानता, सशक्तीकरण, स्वतन्त्रता, र विश्वव्यापी मानव अधिकारसम्बन्धी घोषणा–पत्रले प्रदान गरेका तथा पछि गएर ‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि’ (सिड) ले जोड दिएका अधिकारहरूलाई बिर्सिइसकेका छौं ? यस पर्वको एकनास निरन्तरता र ज्यादै प्रवर्धनले के प्रमाणित गर्दछ भने हामी प्रतिगामी, पितृसत्तात्मक र यौनवादी विचारहरूलाई प्रवर्धन गरिरहेका छौँ ।

संस्कृति र परम्पराहरूसँग गाँसिएको भावनात्मक मूल्यलाई म स्वीकार र सम्मान गर्दछु, तर के यसका लागि महिला आन्दोलनले अन्य उत्सव र मञ्चहरू सिर्जना गर्न सक्दैन ? के हामीले आफैँलाई आप्mनो महत्ता सम्झाउनका लागि तीज पर्वलाई प्रवर्धन गर्नु आवश्यक छ ? वरिष्ठ महिला अधिकारकर्मीहरू र महिला अधिकारका लागि कार्यरत विभिन्न एजेन्सीहरूद्वारा हुने गरिने यस पर्वको प्रवर्धनले उनीहरू नै महिलाहरू भनेका पितृसत्तात्मक व्यवस्थाको सेवा गर्न जन्मिएका हुन् भन्ने कुरालाई निरन्तर स्मरण गराउने कर्ताहरू हुन् भनेर प्रमाणित गर्दछ । महिला भनेका दोस्रो दर्जाका हुन् भनेर यस किसिमका पर्वहरूले स्थापित गर्दै आएका विचारसँग यदि महिला अधिकारकर्मीहरू सहमत छन् भने हामी किन छाउपडी प्रथाको तीव्र विरोधमा छौं, हामीले किन समान र न्यायपूर्ण ज्यालाका लागि बलियो आवाज उठाइरहनुपर्छ, र किन स्वतन्त्र एवम् सम्मानित जीवन बाँच्नका लागि समान अधिकारको पैरवी गर्नुपर्छ ? हरेक दिन गर्नुपर्ने घरायसी कामहरूको बाध्यताबाट एक हप्ता भए पनि महिलाहरूलाई आराम दिने पितृसत्तात्मक अभ्यासको सहुलियत लिँदै हामीले छाउपडीको पनि किन उत्सव नमनाउने ? अथवा, बालिकाहरूले पनि जीवनमा छिट्टै आफू परनिर्भर हुनका लागि दुलाहा पाउँछन्, र आप्mनो जीवनका आधारका रूपमा रहेका आफन्तहरूबाटै हुने संरचनागत वा शारीरिक हिंसामा पनि शान्ति पाउँछन् भन्ने तर्क दिएर बालविवाहलाई पनि स्वीकार गरौं ! महिला सशक्तीकरण कस्तो हुनुपर्दछ भन्नेमा समालोचनात्मक बहसको आवश्यकता छ, त्यसमा पनि, सम्मानित जीवन बाँच्नु भनेको के हो भन्ने बारेमा त झनै आवश्यकता छ ।

पुराण र स्मृतिग्रन्थ जस्ता हिन्दु धार्मिक पुस्तकहरूले महिलाका लागि विभिन्न सामाजिक भूमिकाहरू तय गरेका छन् । यदि नर्कको डरले तर्सिएर र स्वर्गमा स्थान पाउन लोभिएर हामीले यस्ता नियमहरू इमान्दारीपूर्वक पालन गर्छौ भने पितृसत्तात्मक नियमहरूलाई नै थप संस्थागत गरिरहेका हुन्छौं । यस्ता कुराहरूले महिलालाई निश्चित दायरामा सीमित बनाएका छन् र पुरुष तथा महिलाका लागि क्रमशः सार्वजनिक र व्यक्तिगत पृथक–पृथक स्थान, भूमिका, र उत्तरदायित्वहरू (श्रम आदिमा) स्थापना गरेर पुरुषलाई समाजमा शक्तिशाली व्यक्तिका रूपमा परिवर्तित गरेका छन् । विश्वका अन्य भागमा जस्तै नेपाली समाजमा पनि यस्तो विचार धार्मिक एवम् राजनीतिक रूपमा बुनिएको छ । यसलाई तोड्नु सजिलो छैन । यो त लैङ्गिकीकरण (जेन्डराइजेसन) प्रक्रियाद्वारा एउटा खास सोच (माइन्डसेट), संस्कृति, आदत, मूल्य, र पहिचान नै बनिसकेको छ । पहिलेका दिनहरूमा जतिबेला आधुनिक सञ्चार र यातायातका साधनहरू थिएनन, तीजको बेलामा महिलाहरू माइतीघरमा जम्मा हुने वा भेटघाट गर्ने गर्दथे र आफ्ना दुःख–सुखका कथाहरू साटासाट गर्दथे । तर अहिले हामीले मोबाइल फोन र यातायातको सुविधा पाएका छौँं ।

Teej

आधुनिक सुविधाहरूको प्रयोगले गर्दा कुनै पनि उद्देश्यका लागि एक ठाउँमा जम्मा भई भेटघाट गर्न अचेल कुनै कठिनाइ छैन । वर्तमान समयमा, पुँजीवाद र पितृसत्ताको साझेदारीले तीजलगायतका विविध सांस्कृतिक अवसरहरूमाथि शासन गरिरहेको देखिएको छ । महिलाहरू बजारको मुख्य उद्देश्यलाई फाइदा पुर्याउँदै यस्ता सरसामानका साथ चाडपर्व मनाउने प्रवृत्तिका अगाडि झुक्छन् । उनीहरू यसको औपनिवेशिक अन्तप्रेरणा सम्बन्धमा त्यति सचेत छैनन् । मलाई लाग्छ, ‘सुसूचित छनोट’ को विषयमा बहसको अभाव छ । के हामी तीजको केन्द्रमा महिलाको समान हैसियत, अधिकार, स्वतन्त्रता, समानता, र आत्मसम्मानका विरुद्ध रहेका आधारभूत गल्तीहरूबारे सुसूचित छैनौँ ? जतिजति बेला हामी महिलालाई दोयम तुल्याइरहने पितृसत्तात्मक गोप्य सन्देशलाई समर्थन गर्ने यसको एजेन्ट बन्छौं, त्यतिबेला के हामीले यसले हामीप्रति बनावटी हाँसो हाँसेको देखेका छैनौँ ? यो उत्सव स्वतन्त्रताको नजिक पटक्कै छैन, बरु यो त महिलामुक्ति संघर्षको अतिक्रमण पो हो ।

महिलाहरूका लागि भनेर प्रगतिशील कानुनहरूको घोषणा मात्र पर्याप्त छैन । महत्वपूर्ण यो स्मरण गराउनु छ– महिला आन्दोलनले आफ्ना मूल्यहरू प्रतिबिम्बित गर्न, संघर्षलाई बुझ्न, र असमानता एवं महिलाको शोषणलाई सबल बनाउने विचार–भावनाहरूलाई अस्वीकृत गर्न जरुरी छ । महिला अधिकारकर्मीहरूले यसको अभियन्ता बन्नुपर्छ, र यसका साथैे सशक्तीकरण, समानता, तथा आत्मसम्मानको खोजी तबसम्म प्राप्त हुन सक्दैन जबसम्म हामी नै स्त्रीद्वेषी, प्रतिगामी, पुँजीवादी पितृसत्तात्मक मूल्य र संस्कृतिको ‘चौकीदार’ का रूपमा काम गरिरहेका हुन्छौँ भनेर पनि बुझ्नु उत्तिकै आवश्यक छ भनेर पनि बुझ्नु पर्छ । हामीले हाम्रो एजेन्सी निर्माण गर्न, हाम्रा दुःखहरू साटासाट गर्न र सफलताहरूमा खुसी मनाउन रूपान्तरित वैकल्पिक मञ्चहरू खोज्नु पर्दछ । यदि, आधारभूत रूपमै गलत विचार र महिला आन्दोलनको राजनीतिका विरुद्ध हुने गरी धार्मिक रूपले उपलब्ध गराइएको र हामीलाई एकै थलोमा संकुचित पार्ने क्षेत्र होइन, बरु केवल महिलाको स्थान मात्र भनेर नहेरिने नयाँ मञ्च/स्थानहरू सार्वजनिक क्षेत्रमा स्थापित गर्न सक्यौँ भने हाम्रो संघर्ष र उपलब्धिका गीतहरूले बृहत् मूल्य हासिल गर्ने छन् ।

(मोना शेर्पा महिला अधिकारकर्मी हुन्)

(मूल अंग्रेजी भाषामा लेखिएको यो लेख यसअघि नै huffington post  मा प्रकाशित भइसकेको हो । यहाँ सोही लेखको नेपाली अनुवाद प्रस्तुत गरिएको हो ।)

  सोमबार, भदौ १२, २०७४ मा प्रकाशित

2 Comments on चाडपर्वको नाममा पितृसत्ता जोगाउँदै !

  1. श्रीमान् को सम्मान गर्नु श्रीमती को माया र सम्मान गर्नु ,परम्परा को संरक्षक बन्नु जस्ता कार्यलाई सासक र सासितको रुपमा बुझ्नुपनी गलत होकि

  2. I agree that patriarchy is deep-rooted in our culture. If we want change, we need to change our culture. But we lack courage to reject the old. That is what happening with Teej.

Leave a Reply

Your email address will not be published.


*