‘चित्रलेखा’, पुस्तकप्रेमीले पढ्नैपर्ने उपन्यास

पुस्तक–समीक्षा// जयदेव गौतम

कुनै पनि कृतिको सफलता के हो भने त्यो पढिसिध्याएपछि त्यसको छाप र प्रभाव लामो समयसम्म मन–मस्तिष्कमा रहिरहोस् । कृतिकारप्रति सहजै एउटा भाव पलाओस् र मनमनै भन्न आओस्— कृति सिर्जना गर्नु त यस्तो पो ! हो, भारतीय उपन्यासकार भगवतीचरण वर्माले लेखेको र उनको नितान्त पहिलो उपन्यास ‘चित्रलेखा’ यही कोटीमा पर्दछ ।

भगवतीचरण त्यतिबेला केवल तीस वर्षका थिए सन् १९३३ मा, जतिबेला उनले यो युगान्तकारी उपन्यासको सिर्जना गरेका थिए । उनी पेसाले वकिल थिए तर साहित्य सेवामा उनको रुचि कहिल्यै कम भएन । त्यसो त उनका अन्य उपन्यास ‘टेढे मेढे रास्ते’, ‘भुले बिसरे चित्र’, ‘आखिरी दाँव’ र ‘टुटे खिलौने’ पनि निकै चर्चित छन् तर संसारका दर्जर्नौं भाषामा अनुदित भइसकेको ‘चित्रलेखा’ ले उनलाई जुन उचाइ र सम्मान दियो, त्यो अन्य कुनै कृतिले दिन सकेनन् ।

‘चित्रलेखा’ मूलतः एक समस्यामूलक उपन्यास हो । यसमा उठाउन खोजिएको समस्या हो— पाप के हो ? पुण्य के हो ? यी कहाँ बस्दछन् ? यिनै कुराहरूको चर्चा गर्ने प्रसङ्गमा उपन्यासकारले भौतिकवाद र अध्यात्मवाद, पाप–पुण्य, प्रेम–वासना, योग–भोग, सुख–दुख, दैव र परिस्थितिहरू, प्रकृति र कृत्रिम जीवन आदिको व्याख्या गरेका छन् । मानव जीवन समस्याले परिपूर्ण छ । लिगैलिगैमा हिँड्ने मानिसले समस्याको समाधान खोज्न सक्दैन । उसलाई नयाँ दृष्टिकोण चाहिन्छ— उचित र अनुचित एवम् न्याय र अन्यायको परखका लागि । उपन्यासकार लेख्छन्— “आफ्ना आवश्यकताहरूलाई पूरा गर्न समाजले ईश्वरको सृष्टि गरेको छ ।अन्तरात्मा ईश्वरद्वारा निर्मित भएको छैन, बरु समाजद्वारा निर्मित भएको छ । मानिसको अन्तरात्माले त्यसै कुरालाई अनुचित ठान्दछ जसलाई समाजले अनुचित ठह¥याउँदछ ।”

शीर्षक अनुसार नै उपन्यास नारीप्रधान छ । चित्रलेखा यस उपन्यासकी मूल पात्र हुन् जो तत्कालीन भारतीय सहर पाटलीपुत्रकी नम्बर एक सुन्दरी नर्तकी हुन् । दुईपटक विवाह गरेर पनि विधवा हुन पुगेकी चित्रलेखा एकजना उम्दा नर्तकी हुन् तर देहव्यापार गर्ने नारी होइनन् । उनी अत्यन्तै तर्कशील छन् । उनका तर्कका अगाडि योगी र भोगी सबै निरुत्तर जस्तै हुन्छन् । उनीबाहेक प्रमुख पात्रहरूमा भोगी सामन्त बीजगुप्त, योगी कुमार गिरी, पाप के हो भन्दै खोज्न तम्सेको श्वेतांक, पुण्यको खोजीमा लागेको विशालदेव आदि छन् । यी पात्रका अलावा महाप्रभु रत्नाम्बर, सम्राट चन्द्रगुप्त मौर्य, आचार्य चाणक्य आदि पनि केही ठाउँमा उल्लिखित छन् भने पाटलीपुत्रका वयोवृद्ध सामन्त मृत्युञ्जय र उनकी जवान सुन्दरी छोरी यशोधराको प्रसङ्ग अर्थपूर्ण र उल्लेखनीय पनि छ ।

महाप्रभु रत्नाम्बरले आफ्ना दुई शिष्यमध्ये श्वेतांकलाई बीजगुप्तको घरमा र विशालदेवलाई कुमार गिरीको कुटीमा लगेर छोड्छन् । उनी भन्छन्, “तिमी पाप जान्न नै चाहन्छौ भने तिमीले संसार खोज्नुपर्दछ । यो गर्न तिमी तयार छौ भने सम्भव छ, पाप जान्न सकौला । … किनभने पापको परिभाषा गर्ने चेष्टा मैले पनि कैयौं पटक गरेको छु तर सदा असफल भएको छु ।”

उपक्रमणिका शीर्षकबाट सुरु भएको उपन्यास बाइस अध्यायपछि उपसंहार शीर्षकमा समाप्त हुन्छ । यसले समग्रमा एक वर्षको कालखण्ड समेटेको छ । उपन्यासको अन्त्यमा, महाप्रभु रत्नाम्बरको मुखबाट उपन्यासकार भन्छन्, “संसारमा पाप भन्ने छैन, पाप त केवल मनुष्यको दृष्टिकोणको विषमताको अर्को नाम हो । प्रत्येक मनुष्य एक विशेष प्रकारको मन प्रवृत्ति लिएर जन्मिन्छ । … मनुष्यले गरेका जुनसुकै काम पनि उसको स्वभावको अनुकूल नै हुन्छन् र स्वभाव प्राकृतिक हो । मनुष्य आफ्नो स्वामी होइन, ऊ परिस्थितिको दास हो — ऊ लाचार छ । ऊ कर्ता होइन, ऊ त केवल साधन हो । … मनुष्यमा ममत्व प्रधान छ । प्रत्येक मनुष्य सुख चाहन्छ । केवल बेग्लाबेग्लै व्यक्तिको सुखको केन्द्र बेग्लाबेग्लै हुन्छ । कोही धनमा सुख देख्छन्, कोही मदिरामा सुख देख्छन्, कोही चाहिँ व्यभिचारमा सुख देख्छन्, कोही त्यागमा देख्छन् तर प्रत्येक व्यक्ति सुख चाहन्छ । संसारमा कुनै पनि व्यक्ति आफ्नो इच्छानुसार त्यस्तो काम गर्दैन जसबाट उसले दुःख पाओस्— यही हो मनुष्यको मन–प्रवृत्ति र उसको दृष्टिकोणको विषमता । … त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन र हुन पनि सक्तैन ।”

उपन्यासको पहिलो अध्याय नै बीजगुप्त र चित्रलेखाको प्रसङ्गबाट सुरु हुन्छ । बीजगुप्तको केलीगृह (ड्राइङरुम) मा दुईजना बसेर मदिरा सेवन गर्दै योग–भोग, प्रेम–वासना–सुख आदिबारे तर्क–वितर्क गर्दैछन् । कथानक अगाडि बढ्दै जाँदा सम्राट चन्द्रगुप्तले एउटा ठूलो शास्त्रास्त्रको आयोजना गर्छन् जहाँ आचार्य चाणक्यका तर्कहरूको सटिक जवाफ योगी कुमारले दिन्छन् । चाणक्य नास्तिक हुन्छन् र कुमार गिरी आस्तिक । यहाँ पनि पछि चित्रलेखाको हस्तक्षेप हुन्छ र उनी नै विजयी ठहरिन्छिन् । एक दिन साँझ बीजगुप्त र चित्रलेखा बास खोज्न कतैबाट योगी कुमार गिरीको कुटीमा पुग्छन् । नर्तकी चित्रलेखा र योगी कुमार गिरीको पहिलो भेट त्यहीँ हुन्छ । उनीहरूबीच सम्वाद चल्दा योगीले जीवनको सार्थकता योग, त्याग र वासना–इच्छाहरूमाथिको विजय भन्छन् भने नर्तकीले सुख, मस्ती, वासना र भोगको पक्षमा तर्क प्रस्तुत गर्छिन् । योगी नर्तकीको सौन्दर्य एवम् विद्धताबाट प्रभावित हुन्छन् भने नर्तकी योगीको तपोमय सौन्दर्यबाट आकर्षित हुन्छिन् ।

 

JD Gautam

            – जयदेव गौतम

 

श्वतेकांक सुरुमै चित्रलेखातिर आकर्षित हुन्छ, प्रस्ताव पनि राख्छ तर चित्रलेखाले आफू बीजगुप्तबाहेक कसैको हुन नसक्ने, अरू कसैलाई प्रेम गर्न नसक्ने र श्वेतांकलाई भाइको दर्जामा राखेको बताउँछिन् । उनी भन्छिन्, “सुख तृप्ति हो र शान्ति अकर्मण्यता तर जीवन अविचल कर्म हो, कहिल्यै नमेटिने प्यास । जीवन हलचल हो, परिवर्तन हो अनि हलचल र परिवर्तनमा सुख र शान्तिको कुनै स्थान छैन । … साधना भनेको आत्माको हनन हो … मादकता जीवनको प्रधान अंग हो ।” चित्रलेखाले श्वेतांकलाई मदिरा सेवन गर्न सिकाउँछिन् । बीजगुप्तको केलीगृृहमा बस्ने प्रहर समाप्त भएपछि चित्रलेखालाई उनको निवाससम्म पु¥याउने जिम्मा श्वेतांकलाई नै सुम्पिएको हुुन्छ ।

धेरै सोचविचारपछि र बीजगुप्तसित आफ्नो विवाह र सामाजिक मान्यताप्राप्त सन्तानोत्पति नहुने निष्कर्षमा पुगेपछि चित्रलेखा तमाम असहमति व्यक्त हुँदाहुँदै पनि बीजगुप्तलाई छाडेर र आफ्नो घर—सम्पत्ति एकजना दासीको जिम्मा लगाएर स्वयम् चाहिँ दीक्षित हुन योगी कुमार गिरीको कुटीमा शरण लिन पुग्छिन् । समस्त इच्छा, भोग र वासनामाथि विजय प्राप्त गरिसकेको दावी गर्ने योगी कुमार उनलाई एउटै कुटीमा पाएपछि चञ्चल बन्छन्, उनको वैराग्य भाव हराउँछ र शारीरिक सुखभोगको चाहना बलियो भएर आउँछ । चित्रलेखाले अनेक तर्कद्वारा योगीलाई संयमित तुल्याउन भरपुर प्रयास गर्छिन् तर सक्दिनन् र अनिच्छापूर्वक सम्भोग प्रस्ताव स्विकार्छिन् ।

कुमारको कुटीमा जानुअघि चित्रलेखाले बीजगुप्तलाई यशोधरासित विवाह गरेर सांसारिक दायित्व निर्वाह गर्न भनेकी हुन्छिन् । बीजगुप्तले धेरै प्रयास गर्छन् चित्रलेखालाई भुल्ने भुलाउने तर किमार्थ सक्दैनन् । सामन्त मृत्युञ्जय र उनकी छोरी यशोधरालाई पटकपटक भेट्छन्, सँगै काशी घुम्न पनि जान्छन् तर विवाहका लागि तयार हुन सक्दैनन् ।

यस्तैमा एकदिन श्वेतांकले आफूले नै यशोधरासित विवाह गर्न चाहेको तर आफू गरिब भएको हुँदा विवाहमा तगारो भएको बीजगुप्तसित जिकिर गर्छन् । बीजगुप्त आफैँ श्वेतांकको विवाहको प्रस्ताव लिएर मृत्युञ्जयको घर पुग्छन् । श्वेतांक गरिब भएकाले छोरी दिन नसक्ने सामन्त मृत्युञ्जयले बताएपछि बीजगुप्तले आफ्नो सारा श्री–सम्पत्ति श्वेतांकको नाममा नामसारी गरिदिन्छन् र प्रशासनसित संवाद गरेर आफ्नो ‘सामन्त’को उपाधि पनि दिलाइदिन्छन् । यसरी श्वेतांक र यशोधराको विवाहको बाटो उनले खुलाइदिन्छन् ।

उता कुमार गिरीसित विरक्तिएर चित्रलेखा पुनः आफ्नो निवासमा फर्किन्छिन् जहाँ उनले श्वेतांकबाट बीजगुप्तले आप्mनो सर्वस्व त्याग र दान गरेको थाहा पाउँछिन् । उनलाई निकै पश्चाताप लाग्छ बीजगुप्तको यो अवस्थाको जिम्मेवार उनी आफैँ हुँ भन्ने ठानेर । र, अन्ततः उनले बीजगुप्तलाई भेट्छिन्, बीजगुप्तले जस्तै आप्mनो श्री–सम्पत्ति दान गरिदिन्छिन् र दुई प्रेमी–प्रेमिका भिखारी–भिखारिणी जस्तो भएर अथाह संसारको अज्ञात यात्रामा निस्कन्छन् । प्रस्थान गर्नुअघि बीजगुप्तले चित्रलेखालाई मीठो गरी म्वाइँ खान्छन् र भन्छन्, “हामी दुईजना कति सुखी छौँ ।”

उता योगी कुमार गिरी चित्रलेखाका तर्कहरूसामु निरीह भइसकेका हुन्छन् । उनी पनि थप तपस्या र ज्ञान हासिल गर्न कुनै अनकण्टारतिर लाग्छन् ।

एक वर्षपछि महाप्रभु रत्नाम्बरले आप्mना दुवै शिष्यलाई भेट्दा श्वेतांकले बीजगुप्तलाई देवता र त्यागका प्रतिमूर्ति भएको र कुमार गिरी पशु तथा पापी भएको बताउँछन् । विशालदेवले भने कुमार गिरीलाई अजित र पुण्यात्मा भएको र बीजगुप्त चाहिँ वासनाका दास, घृणित भोगविलासी र पापी भएको जिकिर गर्दछन् ।

यसरी उपन्यास समाप्त हुन्छ ।

उपन्यासको एउटा महत्वपूर्ण विषय प्रेम पनि हो । प्रेमकै कुरा गर्दा, पाउनमा होइन, प्रेमको महत्व प्राप्ति र साँचो अर्थ त्यागमा छ भन्ने तथ्य बीजगुप्त–चित्रलेखाको परिणतिबाट खोजिएको छ । प्रसङ्गवश बीजगुप्त भन्दछन्, “हाय ! यदि प्रेम नै मर्दो हो त म यो वैभव नै किन छाडिरहन्थेँ ? चित्रलेखा, मेरो हृदयमा तिम्रो प्रेम मरिदिएको भए हुन्थ्यो भन्ने म चाहन्छु । तर यो हुन सकेन । … प्रेम स्वयम् एक त्याग हो, विस्मृति हो, तन्मयता हो ।”

सन् १९३३ मा भारतमा पहिलोपटक प्रकाशित भएको उपन्यास ‘चित्रलेखा’ साहित्यकार तारिणीप्रसाद कोइरालाले नेपालीमा अनुवाद गरी सन् १९६३ मा प्रकाशन गरेका थिए तर त्यतिबेला यो पुस्तक सम्भवतः आम पाठककका हातमा पर्न सकेको थिएन । पछिल्लोपटक ओरिएन्टल पब्लिकेसन हाउस प्रा.लि.ले कोइरालाद्वारा अनुदित सोही पुस्तक वि.सं. २०७१ मा पुनः प्रकाशित गरी बजारमा ल्याएको हो । जम्मा २०५ पृष्ठ लामो यो उपन्यास पाठकमैत्री अक्षर (फन्ट) र उम्दा छपाइले गर्दा अझ बढी पठनीय बनेको छ । अनुवादको भाषा पनि सरल छ, सलल बग्दो छ । अनुवाद पढेजस्तो महसुस भइहाल्दैन ।

उपन्यासले कर्मलाई प्रधानता दिएको छ । यसको सारमा यसो भन्न सकिन्छ— अभिलाषा पूर्ण हुनुलाई सुख र अभिलाषा पूर्ण नहुनुलाई दुःख भन्दछन् । पशु र पंक्षीभन्दा मनुष्य किन श्रेष्ठ छ भने मनुष्यमा अभिलाषा हुन्छ र अभिलाषा पूर्ण गरेर ऊ सुखी हुन्छ । मनुष्य कर्ता हो, ऊ जन्मिएर अकर्मण्यताको जीवन व्यतीत गरी मर्नका निम्ति बनाइएको होइन, ऊ बनाइएको हो कर्म गर्नका निम्ति । कर्मको प्रस्थान–बिन्दु नै के हो भने मनुष्यलाई भोजनका निम्ति पनि परिश्रम गर्नुपर्छ ।

पुस्तकप्रेमी हर कसैले कम्तीमा एकपटक पढ्नैपर्ने पुस्तकको नाम हो— चित्रलेखा । यो पठनीय त छ नै, सङ्ग्रहणीय पनि छ ।

बुधबार,११ पुस, २०७५ मा प्रकाशित//(Published on Wendesday, December 26, 2018)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*