चिसो अझै केही दिन बढ्ने मौसमविदको भनाइ

काठमाडौं, २३ पुस ।

न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढेको छ । केही साता देखि तराई मधेस क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दिन देखि १ देखि ० डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । तापक्रम घटेका कारण उपत्यकाको जनजीवन समेत प्रभावित बन्दै गएको छ । चिसोका कारण स्वास्थ्य सम्बन्धी विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् ।

काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

काठमाडौंको आज आइतबारको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौंको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो ।

उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा कम जुम्लामा आज माइनस ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ ।

उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने मौसमविद वरुण पौडेलले बताए ।

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले मुलुकभर चिसो बढेको मौसमविद पौडेलले बताए । उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ ।

शनिबार पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको थियो । पहाडी र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ । पहाडी र हिमाली क्षेत्रमा बिहानीपख बाक्लो तुसारो पर्ने र रातभर आकाश खुला हुने क्रम रहेकाले केही दिन अझै चिसो बढ्ने मौसमविद्को दाबी छ । – राजधानीबाट

आइतबार, पुस २३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*