जमानाका बेस्ट-सेलर लेखक कृष्णप्रसाद पराजुली

व्यक्ति-व्यक्तित्व/जयदेव गौतम

उसै पनि कुनै व्यक्ति –त्यसमा पनि मूर्धन्य साहित्यकार अथवा वरिष्ठ वाङ्मय–शिल्पी– का बारेमा केही लेख्नु आफैँमा चुनौतीपूर्ण हो । किन पनि भने यस्तो बेलामा लेख्ने कुरा धेरै हुन्छन्, बहुपक्षीय आयाम हुन्छन् र के छोड्ने के राख्ने भनेर सहजै निर्णय लिन कठिन हुन्छ । तापनि, भनिन्छ नि– यात्रा रोकिनु हुँदैन ! त्यही कडीमा यो प्रसङ्ग जोडिन पुगेको हो– यही असार २४ गते नेपाली वाङ्मयका वरिष्ठ शिल्पी कृष्णप्रसाद पराजुलीको ८७औं जन्मजयन्ती हो । लाग्छ, उनको बारेमा लेखिनका लागि त मानौं सिङ्गो महासागर नै छताछुल्ल छ ।

यति बेला यो विचारले मलाई हठात् झक्झक्याउनुको कारण सकिँदो असार महिना हो । यो समयावधि विशेष किन छ भने मेरो मात्र नभएर सायद अनगन्ती नेपालीहरूको भाषिक स्तरोन्नतिमा अथाह योगदान पुर्याउने एउटा अप्रतिम पुस्तक ‘राम्रो रचना, मीठो नेपाली’ का रचनाकार कृष्णप्रसाद पराजुलीको जन्म–महिना यही असार (चौथो साता) हो । यी सरस्वती–पुत्रले विसं. १९९२ असार २४ गते आफू रुँदै पहिलोपटक यो धर्तीमा आँउदा अरूलाई हँसाएका थिए, र, पछि, धेरै वर्ष मधुमेहको रोगी बनेर दिनहुँ इन्सुलिन सूई लिँदै जीवन बिताएपश्चात् अन्तिम दिनहरूमा सांघातिक मृगौला–रोगले थलिएर ७८ वर्षको उमेरमा अन्य सबैलाई रुवाउँदै यो धर्ती त्यागेर परलोकवासी भएका थिए ।

असारको महिना नेपालीहरूका लागि विशेष हो किनभने दही–च्युरा आदि समेत खाएर मनाइने ‘असार १५’ को चाड आम रूपले सबैका लागि बिर्सन नसकिने किसिमको हुन्छ । खेतीपातीमा रमाउने किसानहरूका लागि ‘मानो रोपेर मुरी फलाउने’ खास अवसर पनि यही बेला त हुने गर्छ । उसो भए के झम्झम् पानी परिरहने र सबैतिर हरियालीको बहार छाइरहने यही असार महिनामा जन्मेको हुँदा नै कृष्णप्रसाद पराजुली लेखनकर्ममा समेत यतिविधि रसिला, हँसिला, भरिला, खँदिला, पोटिला र फरासिला भएका होलान् त ? स्वयम् उनी नै भन्ने गर्थे, ‘भाषाप्रतिको चाख आफ्नो लेखनयात्राको आरम्भदेखि हुँदै आएको हो । पछि त यसप्रति झन् बिछट्टै प्रेम लाग्न थाल्यो । भाषाप्रति कति चाख, कति प्रेम थियो भने यसमा लाग्दा मैले रात भनिनँ, दिन भनिनँ । झन्डै आपद् पनि पर्यो, तर टर्यो ।’

Ramro Rachana Mitho Nepali

उनको जीवनकालमा मैले उनलाई केहीपटक भेटेको हुँ तर उनीसित निकट सम्बन्ध भने कहिल्यै भएन र रहेन पनि (हो, बरु उनका सुयोग्य उत्तराधिकारी तथा जेठा छोरा शाश्वत पराजुलीसित भने आत्मीय साइनो गाँसिएको छ) । कृष्णप्रसादसँगको मेरो पहिलो भेट एकोहोरो मात्र थियो, मलाई लाग्छ, जसरी अरू हजारौं नेपाली पाठकको हुनुपर्छ–

उनको सर्वत्र प्रशंसित र पठित पुस्तक ‘राम्रो रचना, मीठो नेपाली’ मार्फत । सन्दर्भवश, अक्सर उद्धृत गरिने उनकै एउटा लोकप्रिय मुक्तक हुँदै अगाडि बढौँ–

जीवन ओइलाएको पात जस्तो मन पर्दैन मलाई
जीवन बिलाएको रात जस्तो इच्छा हुँदैन मलाई
एकपल्ट झर्नुहोस् न बरु उज्यालो छोडेर
जीवन त बिहान र फूल जस्तो मन पर्छ मलाई ।

 

Foto (JDG)
—- जयदेव गौतम

विसं २०४०–०४१ सालतिरको कुरा हो, करिब सत्र बर्से ठिटो म गृह–जिल्ला पाल्पा तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको छात्र थिएँ । मेरो भाषा अन्य धेरैजनाको तुलनामा बेहतर थियो र मलाई साहित्यमा अत्यधिक रुचि पनि थियो । मलाई लाग्थ्यो– साहित्यमा रुचि हुनु भनेको केवल पढ्नु मात्र होइन, लेख्न पनि सक्ने हुनुपर्छ । त्यसका लागि भाषा राम्रो हुनुपर्छ । भाषा राम्रो बनाउनु भनेको शब्द–ज्ञान बढाउनुपर्ने त हो नै, त्यत्तिकै महत्वपूर्ण भाषिक शुद्धता एवम् वाक्य–संरचनासम्बन्धमा जानिफकार हुनु पनि हो । छिट्टै यही अनुरागले मलाई अन्य धेरै पुस्तक खोज्दै जाने क्रममा पराजुली र उनको ‘राम्रो रचना, मीठो नेपाली’ सम्म पुर्याएको थियो ।

किताब–पसलमा उभिएर हेर्दै जाँदा पहिले त पुस्तकको शीर्षकले नै तान्यो । सर्सर्ती हेरेँ । वाह ! पुस्तक त मैले खोजेझैँ थियो, मैले चाहेझैँ थियो । तत्काल पुस्तक किनेँ र बासस्थान पुगेर पढ्न पनि थालेँ । त्यसअघि मैले श्यामप्रसाद शर्माको ‘लेखक कसरी बन्ने ?’ समेत लेखनसम्बन्धी अन्य कतिपय पुस्तकहरूको संकलन र अध्ययन गरिसकेको थिएँ तर जुन आनन्द एवम् सन्तोष पराजुलीको पुस्तकले दियो, त्यो अभूतपूर्व थियो, मनै झङ्कृत पार्ने किसिमको थियो । राम्रो र मीठो नेपाली कसरी लेख्ने भन्ने विषयमा यो किताबले छताछुल्ल सामग्री पस्केको थियो । संदेश पनि प्रस्ट थियो– अध्ययन र लेखनको निरन्तरता नै गुदी कुरा हो ।

आफूले लेखेको एउटा छन्दमा पराजुलीले भनेका पनि छन्–

‘स्वप्ना फुल्दछ रातमै कति यहाँ आएर आँखाभरि–
बोलूँ क्यै सरि हुन्छ भूमि जसरी पीडा र आशा छरी ।
त्यो हेरिकन बैँसका लहरमा उठ्लान नयाँ भावना
टाँसी चित्र म जाउँला पर कतै बोकी मिठा सम्झना ।’

अर्को एक प्रसङ्गमा पराजुलीले लेखेका थिए, “भाषा भावप्रकाशनको महत्त्वपूर्ण साधन हो । यसको रूपरंगमा फिटिएको मथिङ्गल नै भाषिक शिल्प र क्षमताको विकास गर्दै ज्ञानका किरण समेट्न समर्थ हुन्छ । नेपाली भाषाको रूप र बान्की, शुद्धता र कुशलतासित परिचित हुन यसै भाषाको प्रकृतिअनुसार बेलैदेखि अध्ययन हुनुपर्छ । यस्तो अध्ययनबाट हुने प्राप्ति रटेर पनि हुन्न, घोकेर पनि हुन्न । यसका निम्ति त सजिलो र वैज्ञानिक उपाय अँगाल्नुपर्छ र प्रयोगकुशलता नै महत्त्वपूर्ण माध्यम हुन्छ ।”

आफ्नो आत्मकथा ‘शिखरयात्रा’ मा पराजुलीले ‘राम्रो रचना, मीठो नेपाली’ को रचना–अवधिमा घटेको एक संवेदनशील घटनाको रोचक–घोचक वर्णन गरेका छन् । उनले लेखेका छन्–

… ‘‘कुरा हो, २०२२ साल सकिँदा–नसकिँदैको । म राम्रो रचना ः मीठो नेपाली तयार पार्दै थिएँ । मलाई सल्लाह गर्नु थियो, उपयोगी केही पुस्तक भए लिनु पनि थियो । पहिले कमलपोखरीको साहित्य सेवा सदनमा श्यामप्रसादकहाँ गएँ । त्यहीँ सात बजिसकेको थियो । त्यो दिन शनिबार थियो । अर्को दिन फुर्सद नहुने, रात्रि शिक्षण संस्थान जानुपथ्र्यो । ढिलो हुने भए पनि त्यहाँबाट हिँडेर नयाँ सडक हुँदै झोछे, न्हुसाल पुगेँ— भैरव अर्यालसँग भेट्न । भैरव र म यति मस्त भयौँ, कुरा गर्दागर्दै राति सवा एघार पो बजेछ । “ढिलो भयो” भनेर म हिँडेँ र नयाँ सडक भएर सरासर आएँ । बाटामा मुस्किलले एक–दुईजना मानिस भेटिए, नत्र एकदमै शून्य; तैपनि म बाटैबाटो हिँडेर रानीपोखरी नाघी राष्ट्रिय नाचघरनेर पुगेँ । त्यसै बेला पाइन्ट, ज्याकेट लगाएका दुईजना हट्टाकट्टा मानिस उभिएका भेटिए । तीमध्ये एउटाले भन्यो— “ए भाइ, कति बज्यो ?”

त्यहीँबाट घण्टाघर देखिँदै छ । त्यसमाथि खाइलाग्दा मानिस छन्, तैपनि “कति बज्यो ?” भनेर सोध्छन् । मैले झस्के पनि संयत भएर भनेँ— “बाह्र बज्नै लाग्यो ।”

“‘बाह्र बज्नै लाग्यो भनेको के ?” निहुँ खोज्ने ढाँचामा अर्कोले भन्यो र नारीतिर हात ल्यायो । मनमा लाग्यो— जीउमा केही नगरे हुन्थ्यो र ब्यागका किताबचाहिँ नखोसे हुन्थ्यो । म एकदमै असुरक्षित स्थितिमा पुगिसकेको थिएँ । तारतम्य पनि गजबकै हुन्छ । त्यसै बेला भानुभक्तको सालिक नाघेर एक हूल मानिस आए— लोग्नेमान्छे, आइमाई, ठिटाठिटी, चार–पाँचजना त खर्पनमा भाँडाकुँडा बोकेका र पटुका बाँधी इस्टकोट लगाएका मानिसहरू पनि । सके कतै (भद्रकालीतिर) भोजमा पुगेर आएका थिए ।

तिनीहरूलाई देख्नासाथ एउटाले भन्यो— “ए भैगो, हिँड् !”

अर्कोले फुसफुसायो— “कस्तो कुसाइत पर्यो !” उनीहरू हिँडे । ट्याक्सी थोरै थिए त्यस बेला, त्यसमाथि राति, तैपनि एउटा ट्याक्सी कतैबाट आइपुग्यो । म ‘ट्याक्सी !’ भनेर चिच्च्याएँ । चालक (ड्राइभर) ले ट्याक्सी रोके । म चढेर ठमेल डेरामा पुगेँ । त्यस बेला हरिहर भवन पुलचोकबाट ठमेल ट्याक्सीमा जाँदा पाँच रुपियाँले कुरुक्षेत्र हुन्थ्यो, राष्ट्रिय नाचघरबाट ठमेल महिला संगठननेर पुग्दा कति नै लाग्थ्यो र; तैपनि मैले डबल (दुई गुना) दिएँ । ड्राइभर पनि खुसी नै भए । म डेरामा पुगेँ र भनेँ— “जय भाषा भवानी ! धन्य बाँचेँ ।” ….

यसरी पुस्तक बनेर बजारमा आउन सकेको ‘राम्रो रचना, मीठो नेपाली’ पहिलोपटक विसं २०२३ मा प्रकाशित भएको थियो, अर्थात् त्यतिबेला जुनबेला कृष्णप्रसाद पराजुली केवल ३१ वर्षका उत्साही तन्नेरी थिए । उनले त्यति कम उमेरमै कति ठूलो भाषा–साहित्य–सेवा गरेका थिए भने पहिलोपटक प्रकाशित भएपछि अहिलेसम्म बितेको करिब पैंतालीस वर्षको समयान्तरमा ‘राम्रो रचना, मीठो नेपाली’ पुस्तकका उनन्तीस संस्करण प्रकाशित भइसकेका छन्, संख्यात्मक रूपले हेर्दा पौने दुई लाखभन्दा पनि धेरै प्रति प्रकाशित र बिक्री भइसकेका छन् । पराजुलीका निकटवर्तीहरूका अनुसार अब फेरि यस पुस्तकको नयाँ अर्थात् तीसौँ संस्करण निकाल्ने तयारी पनि हुँदैछ । ‘भानभक्तीय रामायण’, ‘मुना–मदन’ खण्डकाव्य र ‘बसाइँ’ उपन्यासका अतिरिक्त अन्य कुनै पनि नेपाली पुस्तकका यति धेरै संस्करण आजसम्म निस्कन सकेका छैनन् ।

यो पुस्तकका अतिरिक्त, तीन भागमा प्रकाशित उनको बालसाहित्य कृति ‘रमाइला नानी’ (अठार संस्करण) लगभग सत्र लाख प्रति, ‘प्रयोगात्मक भाषा–तत्व’ (तेइस संस्करण) र ‘जूनतारा’ (पाँच संस्करण) ६०–६० हजार प्रति, ‘नेपाली व्यावहारिक व्याकरण’ (चौध संस्करण), ‘फूलपात’ (उन्नाइस संस्करण)– यी सबै कृति पैंतीसदेखि पचास हजार प्रतिसम्म प्रकाशित र बिक्री भएका छन् ।

Two Book Covers of Krishna Pd Parajuli

विधागत कृतिहरू संख्यात्मक रूपमा हेर्दा पराजुलीले कविता/काव्य ११ वटा, भाषिक कृति ५ वटा, कथा/एकाङ्की ३ वटा, लोकसाहित्य ३ वटा, निबन्ध/प्रबन्ध १२ वटा, बालसाहित्य २१ वटासमेत गरी कुल ५५ वटा गहन कृति नेपाली वाङ्मयलाई उपहार दिएका छन् ।

जानकारीअनुसार, उनका प्रकाशित सबै पुस्तकका गरी लगभग ३५ लाखभन्दा बढी नै पुस्तक छापिएका छन् । यस अतिरिक्त, उनका अन्य तीन कृति क्रमशः ‘चुलीचम्की’ (व्यक्ति–कृति, मन्तव्य र वार्ता), ‘सुनौलो बिहान’ (बालकविता) र ‘छाँगैछाँगा’ (कविता–सङ्ग्रह) प्रकाशोन्मुख छन् ।

रोचक के छ भने यति धेरै कृतिमध्ये उनी जीवित छँदै प्रकाशित ‘मनमाया’ (विसं २०७१, एकमात्र महाकाव्य) समेत केवल बाह्रवटा मात्र त्यस्ता पुस्तक छन् जसको एकभन्दा बढी संस्करण निस्केको छैन ! यसबाहेक, उनका केही फुटकर कृति अङ्ग्रेजी, जापानी, उर्दू, नेवारी आदि भाषामा अनुदित पनि छन् भने केही गीतिचक्का (क्यासेट) पनि निस्केका छन् ।

समयअनुसार उनले विभिन्न साहित्यिक र समसामयिक प्रकाशन, अन्य लेखकका पुस्तक वा ग्रन्थ र बालसाहित्य कृति गरी करिब सत्तरीवटा पुस्तक सम्पादन गरेका थिए भने उनी लगभग डेढ दर्जन मासिक–द्वैमासिक साहित्यिक पत्रिकाका सल्लाहकार र सहयोगी बनेर पनि सक्रिय थिए । अर्कोतिर, फरक–फरक समयमा गरी विभिन्न पत्र–पत्रिकाले ‘कृष्णप्रसाद पराजुली विशेषाङ्क’ पनि निकालेका थिए । यस अतिरिक्त, उनका बारेमा विभिन्न सोह्रवटा विश्वविद्यालयस्तरीय अध्ययन–अनुसन्धानसमेत भएका छन् ।

कृष्णप्रसाद पराजुलीको जीवनयात्रा सानो उमेरदेखि नै सिर्जनात्मक गोरेटोमा लम्किएको थियो । विसं २००७–०८ सालदेखि नै साहित्यिक–शैक्षिक अभियानमा सक्रिय रहँदै गाउँ–जिल्लामा विद्यालय र पुस्तकालय आदिको स्थापना गर्दै अगाडि बढेको उनको जीवन विसं २०१७ देखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सेवारत हुनपुगेको थियो । योसँगै उनले नेपाल राष्ट्रिय विद्यापीठमा प्रधानाध्यापक, प्राचार्य र सह–रजिस्ट्रार, त्रिभुवन स्मारक समितिमा सम्पादक, जुद्धोदय माविमा शिक्षक, त्रिभुवन विश्व विद्यालयअन्तर्गत नेपाली केन्द्रीय विभागमा प्राध्यापन गर्दै सह–प्राध्यापक पदबाट अवकाश लिएका थिए । पाठ्यक्रम विकास केन्द्रमा नेपाली विशेषज्ञ, सुनकोसी साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष, विभिन्न साहित्यिक संस्थामा आजीवन तथा सम्मानित सदस्य र सल्लाहकार भएर पनि काम गरेका पराजुलीको कम चर्चा पाएको अर्को योगदान प्रज्ञा प्रतिष्ठानद्वारा निकालिएको ‘बृहत् नेपाली शब्दकोष’ को सम्पादन र शब्द–संकलनमा उनले उल्लेखनीय परिश्रम गरेका थिए ।

पराजुली राष्ट्रियस्तरमा सुप्रबल गोरखा दक्षिण बाहुद्वारा विभूषित हुनुका साथै विभिन्न रूपबाट सम्मानित तथा अभिनन्दित भए । यस क्रममा उनी विसं २०६४ को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित भएका थिए भने २०६५ मा काभ्रेको भकुण्डेबेंसीमा उनको सार्वजनिक अभिनन्दन तथा अग्रपूजन भएको थियो । विसं. २०६६ मा सार्वजनिक पचहत्तरौँ मङ्गलोत्सव भयो भने त्यसभन्दा धेरैपहिले विसं २०४४ मा धुलिखेलमा उनको सार्वजनिक सम्मान र अभिनन्दन भएको थियो । पछिल्लोपटक उनले विसं २०६८ मा संयुक्त राज्य अमेरिका, क्यानडा र बेलायतको भ्रमण गरेका थिए र ती सबै देशमा उनलाई सम्मान तथा अभिनन्दन गरिएको थियो– पछि यो भ्रमणबारे उनले ‘पूर्वी पाइला पश्चिमी देशमा’ भन्ने यात्रा–संस्मरण पुस्तक (विसं २०६९) नै प्रकाशित गरेका थिए ।

उनको सम्मानमा परिवारले ‘कृष्ण साहित्य सदन’ गठन गरेको छ र त्यसमार्फत प्रदान गर्ने गरी ‘रमाइला नानी बालसाहित्य पुरस्कार तथा सम्मान’ स्थापना गरेको छ । त्यो पुरस्कार यस वर्ष कवि तथा बालसाहित्य सर्जक दुर्गालाल श्रेष्ठलाई प्रदान गरिँदै छ ।

सार्वभौम सत्य हो, मानिस अजम्मरी छैन । कृष्णप्रसाद पराजुलीले पनि यो नियति त भोग्नु नै थियो, र भोगे पनि, माथि उल्लिखित घटनाको करिब पचास वर्षपछि । काभ्रेपलाञ्चोक जिल्लाको भमरकोट गाउँमा जन्मेर काठमान्डुको शिक्षण अस्पतालमा विसं २०७० चैत २० मा अन्तिमपटक सास फेरेका पराजुली पशुपति आर्यघाटमा पञ्चभूत तत्वमा विलीन भएका थिए । संसार छाड्दा पनि उनका आँखाभरि सपना थिए र मुटुभरि गीत । ती सपना र गीतको एउटै भाका थियो, नेपाली साहित्य फलोस्–फुलोस्–झाङ्गियोस् र सधैँ राम्रो अनि मीठो रचना सिर्जना भइरहोस् । तसर्थ पनि यस्तो लाग्छ, सशरीर देखा नपरे पनि मानौं उनी यतै कतै घुमिरहेका छन् र नेपाली साहित्यानुरागीहरूलाई भनिरहेछन्–

‘यो बाटो आउनू तिमी आफूलाई त्यहीँ छिपाइदिन्छु म
यो माटो हेर्नु तिमीले कथा त्यहीँ बिछाइदिन्छु म
नखोज्नू मलाई आँखाहरूले कहिल्यै तिमी
मुटुको उच्छवास र सङ्गीतमा आफूलाई भिजाइदिन्छु म ।’

उनै विशिष्ट वाङ्मय–शिल्पी कृष्णप्रसाद पराजुलीको ८७औं जन्म–जयन्तीको सुअवसरमा यिनै शब्द–थुङ्गाहरूबाट उनीप्रति हार्दिक श्रद्धा अर्पण गर्दछु ।

मंगलबार, साउन १२, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*