जसले जीवनमा कहिल्यै झुक्न जानिनन्

 

 

नेपाली राजनीतिमा शैलजा आचार्य एउटा त्यस्तो नाम हो जसको तुलना उनका अन्य कुनै समकालीन वा पछिल्ला कसैसित गर्नै सकिँदैन र मिल्दैन पनि । समयको त्यस कालखन्डमा उनले राजनीतिको झन्डा उचालिन् जतिबेला देशमा निर्दलीय पञ्चायती व्यवस्थाको जगजगी थियो र बहुदलीय लोकतन्त्रको कुरा मात्र गर्नु पनि अवैध थियो, ‘अराष्ट्रिय तत्व’ (अत) कहलिनु अनि सजायको भागीदार बन्नुपर्ने कुरा अति सामान्य थियो । केवल १८ वर्षको उमेर विद्यार्थीकाल कत्ति नै पाको र विचारशील हुन्छ र ? तर, यही उमेरमा उनले सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ नेपाल आएको अवसरमा सदर टुँडीखेलमा राजा महेन्द्रलाई कालो झन्डा देखाएकी थिइन् ! भर्खर राजाले प्रधानमन्त्री विपी कोइरालाको निर्वाचित संसदीय सरकारलाई बलपूर्वक हटाएर सबै नेताहरूलाई थुनेका थिए र दलहरूमाथि प्रतिबन्ध लगाएका थिए, सत्र सालको कालो काण्ड घटाइएको धेरै भएकै थिएन, जसले गर्दा राजाका विरुद्धमा केही गर्ने कल्पना पनि विरलै व्यक्तिले मात्र गर्न सक्थे होलान् । तर, विराटनगर मोरङको एक सम्पन्न परिवारमा सन् १९४२ मे ८ मा जन्मेकी सुन्दर युवती शैलजाले अन्य कसैले नसोचेको, कल्पनै नगरेको दुस्साहस प्रदर्शन गरेरै देखाइन् । परिणाम? उनी पक्राउ परिन् र उनलाई तीन वर्ष लामो जेलसजाय भयो । यससँगै अगाडि बढ्यो उनको निरन्तर सम्झौताहीन राजनीतिक जीवनयात्रा । यो यात्रामा उनले कहिल्यै झुक्न जानिनन् पनि । उनले सधैँ आफ्नो सर्तमा जीवन बाँचिन् र त्यसैगरी मृत्यु वरण पनि गरिन् ।

Jayadev-Gautam

– जयदेव गौतम

उनी नेपालकी प्रथम महिला उपप्रधानमन्त्री, प्रथम महिला जलस्रोत एवं वन मन्त्री, नेपाली कांग्रेसकी प्रथम महिला उपसभापति र लामो समयसम्म राजनीतिमा एक प्रभावशाली व्यक्तित्व थिइन् । उनले सधैँ शीर्षस्थ नेताहरूका बीचमा रहेर र आफैँलाई पनि शीर्षमै राखेर काम गरिन् । नेपाली राजनीतिमा आ–आफ्नो समयका शीर्षस्थ व्यक्तित्वहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद कोइरालाहरू शैलजाका साख्खै मामाहरू थिए । शैलजा आमा इन्दिरा र पिता पिनाकीप्रसादकी जेठी छोरी थिइन् । उनकी आमा इन्दिरा मातृकाकी कान्छी बहिनी थिइन् भने विपी र जिपीचाहिँ मातृकाकी अर्की आमातर्फका छोराहरू थिए) । सम्भवतः यसले पनि उनलाई राजनीतिमा शीर्षस्थता प्रदान गर्न उल्लेखनीय भूमिका खेलेको थियो ।

विराटनगरमा हाइस्कुलसम्मको अध्ययन पूरा गरेपछि उनी उच्च अध्ययनका लागि काठामाडौं आइन् र पद्म कन्या क्याम्पसमा भर्ना भइन् । त्यहाँबाट स्नातक गरेपछि उनी भारतको बनारस हिन्दू विश्वविद्यालय भर्ना भइन्, जहाँबाट उनले समाजशास्त्र विषयमा स्नातकोत्तर डिग्री हासिल गरिन् । क्याम्पस वा विश्वविद्यालयमा अध्ययन जारी राखिरहेको विद्यार्थी समयमा पनि शैलजा खासगरी राजनीतिक र अन्य गतिविधिहरूमा निकै सक्रिय भइरहेकी हुन्थिन् । उनी नेपाली विद्यार्थी, गैर–विद्यार्थी र नेपालप्रेमीहरूलाई भेला पार्थिन् वा आफैँ भेट्न जान्थिन् अनि नेपालमा लादिएको अलोकतान्त्रिक राजनीतिक व्यवस्थाका विरुद्ध जोडदार रूपमा भनाइहरू राख्थिन् । यसै क्रममा नेपाली विद्यार्थीहरूलाई संगठित पार्न खोलिएको प्रजातान्त्रिक समाजवादी युवा लिग संगठनमा सन् १९७२ मा उनी अध्यक्ष भएकी थिइन् । राजनीतिबाहेक उनलाई कला, संस्कृति र दर्शनमा पनि उत्तिकै रुचि थियो । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार– उनको एउटा विशिष्टतम गुण भनेको उनको सादगी थियो, सादा जीवन उच्च विचार भन्ने मानौं उनको मूलमन्त्र नै थियो ।

सन् १९७३–७४ तिर नेपाली कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र आन्दोलन सञ्चालन गर्ने योजना बनाएको थियो र त्यतिबेला यस योजनाकी एक कट्टर समर्थक शैलजा हतियार किन्नका लागि भारत–पाकिस्तान सिमानासम्म पनि पुगेकी थिइन् ।अध्ययन समाप्त गरेपछि, विपी कोइराला र गणेशमानसमेत अन्य नेताहरूसहित सन् १९७६ मा उनी पनि भारतको स्व–निर्वासन छाडेर ‘राष्ट्रिय मेलमिलाप नीति’ अन्तर्गत नेपाल फर्किइन् र पार्टीको सिद्धान्तअनुसार वैधानिक राजतन्त्र र संसदीय लोकतन्त्रको पक्षमा विचार प्रवाह गर्न थालिन् । उनले यो सिद्धान्त आजीवन अँगालिन् । खासमा उनलाई विपी कोइरालाका विचार सबैभन्दा असल लाग्थे, विपी नै सबैभन्दा सम्मानित र व्यक्तित्वशाली लाग्थे । त्यसैले पनि, उनलाई चिन्नेजान्नेहरू भन्छन्, उनले राजनीतिमा विपीबाहेक प्रायः अरु कसैलाई पनि आवश्यक सम्मान र आदर कहिल्यै दिइनन् ।

राजनीतिमा व्यस्त रहेकैले उनले विवाह नै गरिनन्, बरु कांग्रेस पार्टीलाई नै उनले आप्mनो परिवार ठानिन् । उनको अविवाहित जीवन पद्धतिबारे अनेक टीका–टिप्पणी र व्यंग्यहरू उठ्दै रहे, तर तिनलाई उनले जवाफ नदिइकन मौन तुल्याइदिइन् । सन् १९९० अर्थात् वि.सं. २०४६ मा गणेशमान सिंहको चाक्सीबारी निवासमा नेपाली कांग्रेसको पार्टी सम्मेलन हुनु, त्यसमा वाम मोर्चा बनाएर नेपाली कम्युनिस्ट पार्टीहरू मिसिन आउनु र चन्द्रशेखरसमेतका भारतीय नेताहरू आएर भाषण गर्नु अनि पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोनको शंखघोष हुने वातावरण सिर्जना गर्नमा शैलजाको विशेष योगदान रहेको मानिन्छ । किनभने, त्यही जनआन्दोलनको रापमा पग्लेर ३० वर्ष लामो निर्दलीय पञ्चायती शासन इतिहासको कठघरामा पुरिन पुगेको थियो ।
तर, यही सफल आन्दोलनसँगै उनको राजनीतिक यात्रामा पनि एक किसिमको विश्राम आउन थालेको संकेत मिल्दै गयो । राजनीतिमा उनका एकमात्र आदर्श विपी कोइरालाको उहिल्यै सन् १९८२ मा मृत्यु भइसकेको थियो र अब पार्टीभित्र नयाँ किसिमले गुटबन्दी र वैचारिक पलायन हाबी हुन थालेको थियो । सन् १९९१ मा शैलजा कृषि, वन तथा भू–संरक्षण मन्त्री नियुक्त भइन् तर पार्टी र मन्त्रालयभित्र पन्पिँदै गएको भ्रष्टाचारका विरुद्ध आवाज उठाएकाले उनलाई सात महिना नबित्दै मन्त्री पदबाट राजिनामा दिन लगाइयो । पुनः १९९४ मा मोरङ–७ बाट चुनाव जितेर उनी जलस्रोत मन्त्री नियुक्त भइन् र चार वर्षपछि १९९८ मा उनी नेपालकै प्रथम महिला उपप्रधानमन्त्री भइन् । यही अवधिमा सन् १९९६ मा उनी पार्टीको उपसभापति पनि निर्वाचित भएकी थिइन् ।

विस्तारै पार्टी राजनीतिको धार उनका विरुद्ध जान थाल्यो र सन् १९९९ को चुनावमा मोरङबाट उठेर पनि पार्टी अन्तरघातले गर्दा उनले पराजय ब्यहोर्नु प¥यो । अर्को वर्ष पोखरामा भएको पार्टी महासम्मेलनले उनलाई केन्द्रीय कमिटी सदस्य निर्वाचित ग¥यो । उनले विपीका सिद्धान्त र आदर्शहरूलाई फेरि एकपटक पार्टीभित्र ब्यँुताउने प्रयास गरिन् तर पार्टीभित्र अनेक विचारले प्रवेश पाइसकेका थिए । यसले गर्दा आफूमा पार्टीलाई नेतृत्व गर्ने र अगाढि बढाउन सक्ने पूर्ण ल्याकत हुँदाहुँदै पनि उनी क्रमशः पाखा लगाइँदै गइन् । अनि पछि त यस्तो समय आयो जतिबेला उनलाई पार्टीभित्रकै एक स्थायी विपक्षजस्तो देख्न र व्यवहार गर्न थालियो ।

यसरी तन, मन र सारा जीवन दिएको पार्टीमा आफ्नो अकल्पनीय हबिगत देखेपछि शैलजाको मन चिरियो । उनी क्रमशः पार्टी राजनीतिबाट पृथक बस्न थालिन् । यही बेला रोगले पनि उनलाई च्याप्दै लग्यो । यसले गर्दा पार्टी र व्यक्तिबीच झन् दूरी बढ्दै जाने वातावरण बन्दै गयो । अब त उनी र उनको परिवारलाई पार्टी राजनीतिको च्याँखेदाउभन्दा बरु उपचार खर्च जुटाइदिए हुन्थ्यो भन्ने ध्याउन्ना हुन थालेको थियो । कहिले बैंकक कहिले काठमाडौं उनको उपचार भइरह्यो । रोगको खास निदान हुन सकेन बरु औषधिको अत्यधिक मात्रा दिइयो । भनियो– उनलाई बिर्सने रोग अल्जाइमर्स र न्युमोनिया भएको हो तर औषधि मानिसक रोगीलाई दिइने जसरी अत्यधिक परिमाणमा दिइयो । यति हुँदा पनि न पार्टी न सरकार कसैले पनि उनको उपचारमा खास चासो देखाएनन् र जीवनपर्यन्त लोकतान्त्रिक आस्थाको धरोहर बनेर बाँचेकी उनले लगभग गुमनाम मृत्यु वरण गर्नु प¥यो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकै बेला सन् २००९ जुन १२ मा उनले पछिल्लोपटक जीवनका निकै कष्टपूर्ण क्षणहरूबीच अन्तिमपल्ट साँस फेरेकी थिइन् । त्यतिबेला उनको उमेर ६५ वर्ष थियो ।

शैलजा आचार्यले व्यक्तिगत रूपमा महिला आन्दोलन, सशक्तीकरण आदि भनेर अलग्गै केही गरिनन् किनभने उनले सधैँ आफूलाई नेपाली कांग्रेसको केन्द्रमा राखेर हेरिरहिन् र समग्र पार्टी, देश अनि जनताका बारेका सोच्ने गर्दै रहिन् । तर, राजनीतिक आस्थाकै लागि उनले जेलमा बिताएका सात वर्ष, भारत–निर्वासनमा बिताएका नौ वर्ष र दुई वर्ष लामो भूमिगत राजनीतिक जीवन अनि उनले देखाएको साहस, पुरुषप्रधान समाजमा उनको अथक राजनीतिक यात्रा, सम्झौताहीन राजनीतिक दर्शन र आफ्नो आस्थाका सामु अन्य जुनै कुरा पनि तिल बराबर भन्ने उनको जीवन–सन्देशले आम महिलालाई सदैव प्रेरित गरिहने छ । अझ त्यसमा पनि आफूलाई राजनीतिको साँप–सिँढीमा उभ्याउन खोज्ने युवा महिलाहरूका लागि शैलजा आचार्यको जीवनकथाले ठूलो प्रेरणाको काम गर्नेछ, गरिरहनेछ ।

शैलजा आचार्यहरू सधैँ सधैँ जन्मिने गर्दैनन् ।

000

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*