जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

अछाम, २० मंसिर ।

अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एकरदुई सन्तानका आमा बनिसकेका छन् ।

जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे ९विवाह० गर्न वर्षौं कुर्नुपर्छ । तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ ।’

केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ ।

‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने ।

पुरुष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा । ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुेपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन् ।

शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ । उमेरको कुनै वास्ता हुन्न ।’

सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा ।

उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ । तर, पुरुषहरू त्यसो गर्न मान्दैनन् । जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ । – राजधानीबाट

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*