पुस्तक–चर्चा / जयदेव गौतम
धेरैपछि, भनौं धेरैधेरै वर्षपछि, सोभियत साहित्य पढ्ने अवसर जुर्यो । नोबेल साहित्य पुरस्कार विजेता सोभियत साहित्यकार अलेक्जान्डर सोल्झेनित्सिनको रचना– इभान डेनिसोभिचको जीवनमा एक दिन । पुस्तक अंग्रेजीमा थियो र आकारमा पनि सानो । संयोग के भने ‘गुलाग आर्किपेलागो’ जस्तो कालजयी कृतिका सर्जक सोल्झेनित्सिनको यो रचना अर्थात् ‘वान डे इन द लाइफ अफ इभान डेनिसोभिच’ उनले सिर्जना गरेका करिब दुई दर्जन कृतिमध्ये पहिलो रचना र पहिलो उपन्यास पनि रहेछ ।
संयोगवश, भर्खरै बितेको गत सन् २०१८ डिसेम्बर ११ तारिखमा सोल्झेनित्सिनको १००औँ जन्मजयन्ती पनि परेको थियो ।
उहिलेउहिले, आजभन्दा करिब तीस वर्ष पहिलेसम्म, सोभियत संघ नटुक्रिदाँसम्म सोभियत वा रुसी साहित्य पढ्नेहरूलाई धेरै सजिलो थियो । चैत्र २०४६ सालसम्म नेपालमा पनि पञ्चायत शासन कायम थियो । यस्तोमा नेपाली वा हिन्दीमा आधिकारिक अनुवाद गरिएका सोभियत÷रुसी पुस्तकहरू काठमाडौं र देशका धेरैजसो पुस्तक पसलहरूमा निकै सस्तो दाममा उपलब्ध हुने गर्दथे । राजधानीको पुतलीसडकमा सञ्चालित म्युचुअल पुस्तक पसलमा त केवल उही सोभियत साहित्य मात्र किनबेच हुने गथ्र्यो ।
अलेक्जान्डर सोल्झेनित्सिन
तिनताका धेरै किताब किनियो, बुझे पनि नबुझे पनि सयौं पढियो– खासगरी सोभियत, चिनियाँ र भारतीय सिर्जनाहरू नेपाली वा हिन्दी भाषामा । यही क्रममा सोभियत भूमिमा जन्मेका टोल्सटोय, दोस्तोएभस्की, शोलोखोभ, पुश्किन, गोर्की, आइतमातभ, अस्त्रोभस्की, गोगोल, तुर्गनेभ, लेर्मोन्तोभ र यस्तै यस्तै अनेक रचनाकारहरूका सिर्जनासित परिचित हुने अवसर मिलेको थियो । तर त्यतिबेला, मैले विचार नगरेको प्रसङ्ग के थियो भने सोभियत पुस्तकका ती चाङहरूमा कतै पनि सोल्झेनित्सिनको नामनिशान हुँदैन थियो । पछि बुझेँ– सायद उनी कम्युनिस्ट शासनविरोधी भएकाले त्यहाँ उनको साहित्यले समुचित स्थान नपाएको होला । सायद यहीं कारण हुनुपर्छ, देश–विदेशका अनेक साहित्यकारको बखान गरेर नथाक्ने अनेकानेक नेपाली साहित्यकारहरू पनि सोल्झेनित्सिनको प्रसङ्गमा केही लेखेको बोलेको पाइँदैन ।
रुसमा बोल्शेभिक क्रान्ति भएको एक वर्षपछि सन् १९१८ मा जन्मेका सोल्झेनित्सिन रोस्तोभ युनिभर्सिटीमा पढेपछि दोस्रो विश्वयुद्धमा सोभियत सेनामा सामेल भई लडेका हुन्छन् । उनी सेनाको क्याप्टन पदसम्म पुग्छन् र बहादुरीका दुईवटा तक्मा समेत पाउँछन् । सन् १९४५ मा उनी जर्मनद्वारा पक्राउ पर्छन् र पछि सोभियत सत्ता एवम् स्टालिनका विरुद्ध जर्मनहरूलाई साथ दिएको आरोपमा सोभियत सेनाद्वारा गिरफ्तारीमा पर्छन् । उनलाई तत्काल आठ वर्षसम्मका लागि श्रम शिविर साइबेरिया पठाइन्छ । सन् १९५३ मा स्टालिनको मृत्यु भएपश्चात् उनी रिहा हुन्छन् र सेन्ट्रल एसियामा रहन विवश तुल्याइन्छन् जहाँ उनी प्रधानमन्त्री निकिता ख्रुश्चेभले सन् १९५६ मा स्टालिनको पहिलोपटक गम्भीर आलोचना गर्दै भाषण नगर्दासम्म बस्न विवश हुन्छन् । अर्को वर्ष १९५७ मा सोल्झलेनित्सिन राइजिन भन्ने ठाउँमा फर्किन्छन्, एकजना रसायन शास्त्री विद्यार्थीसित विवाह गर्दछन् र त्यहीँको स्थानीय विद्यालयमा गणित शिक्षक भएर बस्छन् ।
फुर्सदको समयमा उनी लेख्न थाल्छन् । सन् १९६२ मा उनको पहिलो पुस्तक÷उपन्यास ‘वान डे इन द लाइफ अफ इभान डेनिसोभिच’ प्रकाशित हुन्छ । सन् १९७० मा उनले नोबेल साहित्य पुरस्कार पाउँछन् । त्यसको चार वर्षपछि सोभियत संघले उनको नागरिकता खोसिदिन्छ र उनी डिपोर्ट गरिन्छन् । सन् १९८४ मा उनी अमेरिकाको भर्मन्टमा बसोबास गर्न पुग्छन् । अन्ततः दस वर्षपछि, अर्थात् सोभियत संघ विघटित भइसकेपछि सन् १९८४ मा, उनी रुस फर्किन्छन् । त्यतिबेला आठ करोड सदस्य रहेको सुदृढ कम्युनिस्ट पार्टी, दुई करोड अत्यन्त सबल योङ्ग कम्युनिस्ट लिग सदस्य रहेको र पाँच लाख चतुर केजिबी गुप्तचर रहेको सोभियत संघ कसरी गल्र्यामगुर्लुम ढल्यो, सबैलाई आश्चर्यको विषय बन्यो ।
सोल्झेनित्सिनलाई लाग्थ्यो– कम्युनिज्मभन्दा खराब यो दुनियामा अरू केही पनि छैन तर दशक लामो आप्रवासनबाट रुस फर्केपछि उनलाई स्वयम् रुस नै पनि पूर्णतः फेरिएको प्रतीत भयो । उनलाई फेरि एकपटक, आफ्नै देशभित्र पनि, प्रवासिएको अनुभूति हुन थाल्यो । रुसी लेखक येभगेनी येभतुसेन्कोका शब्दमा, “टेलिभिजन कार्यक्रमहरू, पप संस्कृति, क्यासिनो कल्चर, नग्न नृत्य हुने स्ट्रिप शोहरू अनि सस्ता जासुसी एवम् छाडा यौन–साहित्यको सर्वत्र जगजगी थियो । अमेरिकन, मेक्सिकन र टर्किश सिनेमा सोप ओपेराहरूको चलनले क्रमशः रुसलाई निल्दै थियो र सोल्झेनित्सिनका सम्भावित दुई–तीन पुस्तासम्मकै युवा पाठकहरूलाई टाढा, झन्झन् टाढा, लग्दै गइरहेको थियो ।”
“सन् १९९० मा पुरानो सत्तालाई विस्थापित गरेर स्थापित भएको नयाँ सत्ता अपरिचित थियो तर झन् बढ्ता खतरनाक थियो । सोल्झेनित्सिन रुसको यो नयाँ ‘माफिया पुँजीवाद’ देखेर विरक्त भए ।”
“खासमा सोल्झेनित्सिन कुनै राजनीतिक उपदेशक वा प्रखर विचारक थिएनन्, भएनन् तर उनी एकजना महान रुसी लेखक÷साहित्यकार भने निश्चय पनि हुन् । आफ्ना सिर्जनाका लागि नियतिले उनलाई जुन अमरत्व प्रदान गरेको छ, त्यसलाई जुन कुनै नयाँ सत्ता आए पनि उनीबाट खोस्न सक्दैन ।”
सन् २००८ अगस्तमा सोल्झेनित्सिनको मृत्यु भयो । उनको मृत्युसँगै उनीसँग गाँसिएका तमाम विवादहरू इतिहासका छलफलका विषय बन्न पुगे ।
सोल्झेनित्सिनको उपन्यास ‘वान डे इन द लाइफ अफ इभान डेनिसोभिच’ सोभियत साहित्यमा त्यस्तो पहिलो कृति हो जसले खुलेर स्टालिन वा ख्रुश्चेभकालीन कठोर श्रम शिविर (साइबेरिया) को कटु यथार्थ विश्व सामु प्रस्तुत गरेको छ । दोस्रो विश्वयुद्धको बेला एकजना इमानदार रुसी सैनिकमाथि देशद्रोहको आरोप लगाएर उसलाई दस वर्षका लागि साइबेरिया श्रम शिविरमा जीवन बिताउनुपर्ने कठोर सजायँ दिइन्छ । इभान डेनिसोभिच सुखोभ नाम गरेको सैनिकले साइबेरिया श्रम शिविरम बिताएका दस वर्षमध्येको फगत एक दिनको– बिहान उठ्नु परेदेखि राति सुत्न नपुग्दासम्मको– सविस्तार चित्रण उपन्यासले गरेको छ ।
कथाको मूल पात्र इभान डेनिसोभिच कुनै छलफलमा भाग लिँदैन, छलफलहरू भइरहेको ठाउँमा पुग्छ र सुनी मात्र बस्छ । उसको सोचाइ हुन्छ– बौद्धिक छलफलले बाँच्न र खान दिँदैन । त्यसैले ऊ आफू बाँचेको एक दिन के खाने र कसरी खाना बचाएर मिलेसम्म भोलिलाई पनि राख्न सकिन्छ भन्ने विचारमा बढी केन्द्रित रहन्छ ।
साइबेरियाजस्तो चिसो ठाउँमा —२४ देखि —४५ डिग्री तापक्रम हुँदा बिहान भालेको डाकसँगै उठेर र राति खाना खाइसकेपछि सुत्न जानु अगाडिसम्म दुवैपटक दुई वा तीनपटकसम्म गन्तीमा सामेल हुनुपर्ने, कुरैपिच्छे सरकारी गार्डका भद्दा गाली, लात, मुड्की र बन्दुकका कुन्दा खानुपर्ने बाध्यता, कुनै अधिकारी वा गार्डलाई नै पनि रिस उठ्यो भने तत्काल गार्ड कोठा वा चिसो सिमेन्टमा दस वा बीस दिनसम्म थुनिदिने जहाँबाट या त शव निस्कन्छ होइन भने कहिल्यै निको नहुने शारीरिक अशक्तता । धेरैजसो सन्दर्भमा शव मात्र बाहिर निस्कन्छन् ।
घरपरिवारले सम्झेर बन्दीहरूलाई पठाइदिएका खाने वा अन्य कुराहरू अक्सर उनीहरूका हातमा पर्दैनन्, गार्डहरूले खाइदिन्छन् । बोल्न पाइने कुरै भएन । खाना पनि अधिकारीहरूलाई एकदमै राम्रो, बन्दीहरूलाई पातलो र बाँच्न पुग्ने मात्र । धेरैजसो बन्दीहरू अरूले खाएर छाडेका भाँडामा बचेको हुन सक्ने जुठोपुरो चाट्नका लागि समेत तँछाडमछाड गरिरहेका हुन्छन् । उठ्दामा बात सुत्दामा लात उनीहरूको दैनिकी हुन्छ ।
उपन्यासको मूल पात्र इभान डेनिसोभिच कुनै विद्रोही हुँदैन, उसले श्रम शिविर र त्यसका अधिकारीहरू (गुलागहरू) मातहत नै आफ्नो जीवन बाँधिएको छ भन्ने बुझेको छ । आफूले चाहे पनि नचाहे पनि शिविरमै बाँच्नुपर्ने विवशता उसले आत्मसात् गरेको छ । उसको एक मात्र लक्ष्य बाँच्नु मात्र हो, सर्भाइभ गर्नु हो । उसको चासो अर्को पात्र सिजारबाट सिगरेट वा तम्बाकु पाइन्छ पाइँदैन भन्नेमा हुन्छ । उसले हिउँमा हेक्साब्लेड पाउँछ र पकेटमा लुकाउँछ, एउटा सियो पाउँछ र त्यसलाई मोजामा लुकाउँछ, एउटा चम्चा जुत्ताभित्र लुकाउँछ, रोटीको टुक्रा सिरकमा लुकाएर सिलाइदिन्छ, अरू कुनै बन्दीले चोरेर नखाइदेओस् भनेर । बाँच्न सघाउ पुग्ने हरेक साना मसिना कुरा उसले लुकाएर आफूसित राख्छ । मरुञ्जेल काम गरेर गुलागहरूकोे मौन प्रशंसा पनि बटुल्छ ।
कुनै मनोरञ्जन छैन । बन्दीहरू न त हिजोको सोच्छन्, न भोलिबारे । उनीहरूलाई केवल आजको चिन्ता छ— आज कुनै सजायँको भागीदार बन्नुपर्ने हो कि ? जिउँदै रहन पाइने हो कि होइन कि ? खाना कस्तो र कतिबेला पाइने हो ? अझ त्यहाँ त कस्तो पनि हुन्छ भने आठ–दस वर्षका लागि श्रम शिविरमा पठाइएको कुनै पनि बन्दीलाई त्यो सजायँ भुक्तानी हुन थालेको समयमा अर्को मौखिक आदेशमा फेरि उत्ति नै वर्ष सजाय थपिन पुग्छ । अर्थात् एकपटक त्यो श्रम शिविरमा प्रवेश गरेपछि त्यहाँबाट निस्कने सम्भावना प्रायः समाप्त भएको हुन्छ ।
श्रम शिविरमा रहेका बन्दीहरू जोसेफ स्टालिनलाई ‘जुँगा मुठे’ (ओल्ड व्हिस्कर्स) भनेर पुकार्छन्, गार्ड वा गुलाग नजिक नभएको बेला । एकपटक एउटा बन्दी सुत्ने बेलामा चिच्याइरहेको हुन्छ, “के तेरो भनाइको मतलब त्यो जुँगा मुठेले तँप्रति दयामाया देखाउँछ भन्ने हो ? किन ? उसले आफ्नै नजिकका र देशबासीमाथि त विश्वास गर्न सकेन भने तँ गधा त के होस् र ?”
शिविरमा बन्दीहरूलाई स्वतन्त्रताको एउटा अर्थ हुन्छ— घर, आफ्नो घर । कहिले र कसरी घर गएर सपरिवार बस्न पाइन्छ ? तर त्यही कुराको सम्भावना त्यहाँ हुँदैन ।
सारा संसारलाई शून्य मान्ने हो भने त्यही शून्यमा सुख–दुःख, अनुराग–विराग, दिन–रात, ब्रह्म र माया सबै लोप भएर गएका हुन्छन् । यो गूढता नबुझे पनि इभान डेनिसोभिच शिविरभित्रको जीवनमा रमाउन थालेको हुन्छ, त्यसैमा ऊ खुसी हुन्छ । निरन्तरको अमानवीयता र नृशंस यातनाहरूबीच पनि उसले आफ्नो बाँच्ने इच्छा मर्न दिँदैन । उपन्यासको मूल विशेषता यही हो ।
उपन्यासले रुसी इतिहासको एउटा अत्यन्त अँध्यारो पाटो समेटेको छ, साइबेरियाको श्रम शिविरको यथार्थ छर्लङ्ग पारिदिएको छ तर यसका साथै इभान डेनिसोभिचमार्फत मान्छेको जिजिविषा र हरहालतमा बाँच्ने प्रबल मानवीय चाहलाई पनि उत्तिकै सरलता र सबलतापूर्वक उजागर गरेको छ ।
आइतबार, भदौ २२, २०७६ मा प्रकाशित
Leave a Reply