झर्रोवादी लेखक ताना शर्मालाई सम्झेर…

काठमाडौं ।  ताना शर्मा नामबाट बढी परिचित डा. तारानाथ  शर्माको ८७ वर्षको उमेरमा गत फागुन ३ गते निधन भयो । इलाममा जन्मेका  उनको कर्मथलो भने काठमाडौं थियो । उनी मधुमेह रोग र बिर्सने समस्याबाट पीडित थिए । साहित्य-लेखनमा रमाउने शर्मा अस्वस्थताका कारण पछिल्लो डेढ वर्षयता भने  लेखनमा सक्रिय थिएनन् ।

शर्माको जन्म विसं १९९१ असार ९ गते निर्जला एकादशीका दिन भएको थियो । पिता प्रजापति उपाध्याय र माता देवकीको जेठो छोराका रूपमा इलाम सूर्योदय नगरपालिका–९ बरबोटेमा जन्मेका  उनको पठनपाठन संस्कृत शिक्षाबाट सुरु भएको थियो ।

अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनी  मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित थिए । उनको कृति ‘बेलाइततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो भने ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाउन सफल भएका थिए । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए।

डा शर्माले निबन्धबाट लेखन यात्रा सुरु गरेका थिए । उनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध छपाएका थिए । उनले अध्ययनकै सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकालेका थिए। ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका उनका प्रकाशितमध्येको अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्र्रह हो ।

उनको थर भने भण्डारी हो । उनी भारत बसेकै बेला भण्डारी थर लेख्न छोडेर शर्मा लेख्न थालेका थिए । तारानाथ शर्माले कविता पनि लेखेका छन्  । उनका कविता भने थोरै मात्र छन् । बनारसमा पढ्दै गर्दा २०१३ सालमा उनले बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाललगायतसँग मिलेर झर्रोवादी अभियान थालेका थिए ।

सो अभियान अहिले नेपाली साहित्यका क्षेत्रमा चर्चित पनि छ । नौलो पाइलो नामक पत्रिका प्रकाशन सुरु गरेका शर्माले झर्रोवादबारे विभिन्न पत्रिकामा लेखसमेत लेखेका थिए ।

उनको अभियानलाई नेपाली भाषा र साहित्य लेखन क्षेत्रका धेरैले साथ दिएका थिए । उनले एकताका शर्माको सट्टा सर्मा लेख्ने गर्दथे जुन झर्रोवादमा नै पर्ने उनको तर्क थियो । बनारसमा पढ्दा उनलाई आफ्नो थर ‘भण्डारी’ भारतीय जस्तो लागेर शर्मा लेख्न थालेको उनी बताउँथे । थर फेरेर घर पुग्दा बुबाले गुनासो गरेका थिए । एउटा पुस्तकमा ‘इदं पुस्तकम् प्रजापति शर्मणः’ लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा बुबाको चित्त बुझाएको पनि उनी बताउँथे  ।

तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छपाउँथे । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध सङ्ग्रह हो । रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको त्यो पुस्तक चर्चित पनि छ । दोस्रो कृतिका रूपमा २०२१ सालमा ‘घोत्ल्याइहरु’ भन्ने समालोचना सङ्ग्रह निस्किएको थियो । उनको सम्पादनमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह, २०२० सालमा र गुरूप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्र्रह, २०२१ सालमा प्रकाशन भएको थियो ।

भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिएका थिए । त्यसअघिसम्म नेपाली साहित्य लेखनमा नियात्रा शब्द प्रयोगमा थिएन । बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको ‘मेनाइ साँघुको मेला’ शीर्षक लेख पढेपछि ‘तिमीले नियात्रा लेखेछौ’ भनेका थिए । पछि, त्यही लेखसहितको ‘बेलाइततिर बरालिँदा’ निबन्ध सङ्ग्र्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिएका थिए ।

यसैगरी ‘ताना शर्मा : सरल साहित्यकार, निर्मम समालोचक’  शीर्षकमा अनलाइनखबर डटकमका लागि ताना शर्मासम्बन्धी आफ्नो लेखमा सुदर्शन अर्याल लेख्दछन्–

‘मेरो जिन्दगी गण्डकीको पानी जस्तै हो, कहिले तल त कहिले माथि ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि पोखरामा विद्यार्थीहरुको माझ भएको एउटा कार्यक्रममा एक सहभागीले तारानाथ (ताना) शर्मालाई सोधे, ‘तपाईंले आफ्नो जिन्दगीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?’

अनेकौं कृतिको समालोचना गरेर खारिएका शर्माले माथि उल्लेख गरिएको उत्तर दिएका थिए ।

तीन दशकअघि भनेजस्तै उनको जीवन कहिल्यै सरल रेखामा बगेन । देशमा भएका पछिल्ला राजनीतिक परिवर्तनहरुमा उनी असन्तुष्टि जनाउँदै गण्डकीको पानीझैं आरोह–अवरोहमा बहिरहे । साहित्य र समालोचनाको यात्रामा भने सधैं उध्र्वगामी रहेका ताना शर्मा  मंगलबार बिहान संसारबाट बिदा भएका छन् ।

प्रजातन्त्र प्राप्तिपछि नेपाली साहित्य लेखनमा ठूलो उभार आयो । साहित्य रचनाको संकुचन हटेर स्वच्छन्द लेखनमा साहित्यकारहरु रमाउँदै थिए ।

लेखनाथ पौड्याल र सोमनाथ सिग्द्यालले छाडेको विरासत टेकेर क्लिष्ट संस्कृत शब्दको प्रयोग गरी साहित्य लेख्ने चलन बढ्दै थियो । जसले साहित्यलाई आम मानिसको पहुँचबाट टाढा लैजाँदै थियो । भाषाविज्ञानमा चासो राख्ने व्यक्ति भएकाले शर्माले त्यसलाई चिर्ने प्रयास गरे । सँगसँगै अंग्रेजी र हिन्दी भाषाले नेपाली भाषाको मौलिक पक्षमा पारिरहेको संकटबारे पनि उनी चिन्तित थिए ।

त्यही क्लिष्ट संस्कृत भाषा र अन्य भाषाको प्रभावबाट नेपाली भाषालाई जोगाउनको लागि बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालको संलग्नतामा वि.सं. २०१३ मा बनारसबाट सुरु भएको थियो ‘झर्राेवादी आन्दोलन’ ।

नेपाली भाषामा झर्राेवादी आन्दोलनको सुरुवातबारे पनि छुट्टै किस्सा छ । वि.सं. २०११÷१२ तिर अध्ययनका लागि बनारस पुगेका ताना शर्माको अभिमानी व्यक्तित्वका बारेमा उनका साथीहरु परिचित थिए । ‘साहित्यिक रुपमा उनी जति सरल थिए, उति नै व्यावहारिक रुपमा कडा पनि थिए ।

कतिपय साहित्यकारहरु भन्छन् ‘यहाँ मजत्तिको जान्ने अरु को छ र ?’ भन्ने सोच उनमा थियो । त्यस्तै, स्वभावका अर्का थिए बालकृष्ण पोखरेल । बनारसमा पढ्न बसेका पोखरेलसँग शर्माको प्राज्ञिक विवाद गराएर मनोरञ्जन लिने उद्देश्यले उनकै साथीहरुले दुवैको भेट गराए । तर पोखरेलले त उल्टै शर्माको लेखनीको प्रशंसा गरिदिए ।

उनीहरुको त्यही भेटबाट नेपाली भाषाको अस्तित्व रक्षाको लागि ‘झर्राेवादी आन्दोलन’को सुरुवात भएको कुरा शर्माले जीवनकालमा अन्तर्वार्ताको क्रममा बताएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय झर्राेवादी आन्दोलनको सुरुवातबारे यी र यस्ता अनेकौं कथन शर्मा आफैंले बताउने गरेको सुनाउँछन् ।

‘उहाँसँग जोडिएका झर्राेवादी लेखनसम्बन्धी किस्साहरु प्रशस्तै छन् । त्यसमध्ये पोखरेलसँगको भेटको प्रसंग पनि सुन्ने गरिन्छ ।’

झर्राेवादी आन्दोलनको मुख्य उद्देश्य भनेको नै नचाहिँदा क्लिष्ट शब्दावलीहरुलाई हटाएर सरल र सरस नेपाली भाषाको प्रयोग गर्नु थियो । तत्सम र आगन्तुक भाषाबाट आएका क्लिष्ट शब्दावलीलाई सरलीकरण गर्नु थियो । त्यसैको लागि २०१३ मा बनारसमा ‘नौलो पाइला’ पत्रिकाको प्रकाशन आरम्भ गरेर झर्राेवादको वकालत गर्न लागिएको थियो ।

समालोचक कृष्णहरि बराल ताना शर्मा लगायतले सुरु गरेको झर्राेवाद आफैंमा नेपाली भाषा संरक्षणको लागि गरिएको नयाँ क्रान्ति भएको बताउँछन् ।

उनी अझै पनि नेपाली भाषामा झर्राेवादको आवश्यकता रहेको भन्दै यसलाई सार्थकता दिनुपर्नेमा जोड दिन्छन् । साहित्यक एवं समालोचनात्मक दृष्टिले उत्कृष्ट तर अभिमानी साहित्यकार शर्माको निधनले साहित्य एवं समालोचनाको एउटा अध्यायले बिट मारेको बराल बताउँछन् ।

जीवन र संघर्ष

प्रखर समालोचक हुँदाहुँदै गर्दा पनि जीवनको उत्तरार्धमा शर्मा आफू सकेसम्म विवादमा नपर्न पाए हुन्थ्यो भन्ने विचार राख्थे । ९ असार १९०१ मा इलामको बरबोटे भन्ने ठाउँमा जन्मिएका शर्माको पुरानो नाम तारानाथ उपाध्याय भण्डारी हो । उनले भाषाविज्ञान विषयमा विद्यावारिधि गरेका हुन् ।

समालोचक बराल भन्छन् ‘उहाँ भाषा विज्ञानको प्राध्यापक, उहाँमा साहित्य र समालोचनाको मात्रै नभएर कुशल अध्यापनको कला पनि थियो । उनी नेपालीमा जति दखल राख्ने अंग्रेजीमा पनि उति नै राम्रो जानकारी थियो । उहाँले एकैपटक दुवै विषयमा अध्यापन गराउनुहुन्थ्यो । उहाँको निधनले मैले एउटा कुशल गुरु गुमाएँ ।’

शर्माले दार्जिलिङबाट प्रवेशिकासम्म शिक्षा हासिल गरे । उनी पारसमाणि प्रधान, धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली जस्ता धुरन्धर भाषाशास्त्री एवं साहित्यकारको छत्रछायामा रहेर साहित्य सिर्जनामा अघि बढे ।

उनको प्रतिभाबाट प्रभावित भई पारसमणि प्रधानले ‘भारती’ पत्रिकामा उनका कृतिहरु प्रकाशित गराउँथे । त्यहीँबाट उनले नेपाली साहित्यमा अझ अघि बढ्ने हौसला पाए । पछि उच्च शिक्षाको लागि उनी बनारस गए ।

उनी पञ्चायती शासन व्यवस्थाको सुरुवातमा पञ्चायतको खुन्खार विरोधी थिए । पञ्चायतकालमा मविवि शाहको ‘उसैको लागि’ भन्ने कविता समालोचना गरेका थिए । सो क्रममा उनले हिन्दी गीतको नक्कल गरेको भनेर समालोचना गरेबापत जेल सजाय पनि भोगे । तर उनले सोही समयमा २ वटा कृतिको रचना गरे ।

उनको लेखन यात्रा २००८ सालमा वस्तुपरक निबन्धबाट सुरु भएको हो । २०१८ सालमा नमस्ते निबन्ध संग्रह प्रकाशित भयो । २०२३ मा मेरो कथा र २०२५ मा जमर्काहरु प्रकाशित भयो । २०२६ सालमै ‘पश्चिमका महान् साहित्यिकारहरु’ नामक जीवनीसंग्रह प्रकाशित भयो ।

ताना शर्माकै लागि जन्मिएको ‘निःयात्रा’ विधा

२०२३ सालताका सर्माका कृतिहरु नेपाल र त्यसमा पनि ग्रामीण भेगतिरका विषयवस्तुमा आधारित हुन्थे । उनको कृतिमा उनले विषयवस्तुलाई यति मूर्त रुपले प्रस्तुत गर्छन् कि पाठक स्वयं सोही ठाउँको भ्रमणमा घुमिरहेको आभास दिलाउने क्षमता उनमा भेटिन्छ ।

उनी पञ्चायतको सुरुवाततिर कट्टर प्रगतिवादी लेखक भएर निस्किए । उनी पञ्चायती सत्ताको चर्का आलोचक थिए । उनले सुनकोसी किनारामा बस्ने जनताको दुःख समेटेर २०२३ सालमा ‘ओझेल पर्दा’ को रचना गरे ।

सोही वर्ष कास्कीको भौगोलिक संरचना एवं तिब्बती बर्मन गुरुङ जातिको बारेमा ‘मेरो कथा’ प्रकाशित गरे । त्यतिबेलासम्म यात्रा संस्मरणको रुपमा कृति प्रकाशित हुन्थे ।

२०२६ सालमा उनको कृति बेलाइततिर बरालिँदा प्रकाशित भयो । त्यसभित्र समेटिएको ‘मेनाई साँघुको यात्रा’लाई उनले यति मिहीन ढंगले प्रस्तुत गरे कि त्यसलाई यात्रा संस्मरण भन्ने शब्दले कृतिको न्याय नगर्ने भन्दै छुट्टै विधाको जन्म दिइयो, त्यो थियो ‘नियात्रा’ । सोही कृतिले २०२६ सालको मदन पुरस्कार पनि जित्न सफल भयो ।

नियात्राकार प्रतीक ढकाल भन्छन् ‘मेनाई साँघुको यात्रा’ सार्वजनिक भएपछि बालकृष्ण पोखरेलले ताना शर्मालाई बोलाएर भनेका थिए ‘यो यात्रा संस्मरणभन्दा निकै माथि छ, यो कृतिले आफू सँगसँगै घुम्न गएको आभाष दिलाउँछ ।’ त्यही कृतिलाई न्याय दिन ‘निःयात्रा विधाको सिर्जना गरिएको थियो ।’

उनी एक कुशल शिक्षक, सरल साहित्य रचना गर्ने साहित्यकार र निर्मम एवं कठोर समालोचना गर्ने समालोचकको रुपमा चिन्छन् । उनी स्थानीयलाई सहज हुने शैलीको भाषालाई बढी प्रयोग गर्छन् । अन्य भाषाबाट आएका शब्दलाई नेपालीकरण गर्न खोज्छन् । साथै, त्यसको सरल शब्दको खोजी गर्छन् ।

अमेरिका यात्रामा भेटेका कुरालाई उनले ‘पाताल प्रवास’ मा समेटे । सोही पुस्तकमा लगभग एक दशक लामो प्रवास बसाइको अनुभव समेटिएको छ । अंग्रेजी भाषामा राम्रोसँग लेख्ने क्षमता भएका उनको भाषिक कुशलता उनले अनुवाद गरेको कृतिमा भेटिन्छ ।

लोपोन्मुख कृति जोगाउने स्रष्टा

२०२१ सालमा गुरुप्रसाद मैनालीको छोटा कथाहरुको संग्रह प्रकाशित हुनुपूर्वसम्म मैनालीका धेरै कथाहरु अस्तव्यस्त थिए ।

त्यसलाई संग्रह गरेर शर्माले सम्पादन गरी नासो कथा संग्रह सार्वजनिक गरे । लोपोन्मुख कला र कृतिलाई जोगाउन हरप्रयास गर्ने गर्थे । उनले गोपालप्रसाद रिमालको कविता संग्रह ‘आमाको सपना’लाई पनि उनले सम्पादन गरेर पुनर्जीवन दिए ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्याय नेपाली निबन्धको संकलन र सम्पादनमा बढी चासो दिने सर्मा कसको कृति सार्वजनिक भएको छैन भनेर खोज्दै हिँड्ने स्वभावको रहेको बताउँछन् ।

‘उहाँले प्रशस्त प्राज्ञिक चेत भएर पनि संरक्षण हुन नसकेका पुराना स्रस्टाको कृतिलाई सम्पादन गरेर पुनर्जीवन दिनुभएको छ’ उनी भन्छन्, ‘उहाँको योगदान लेखन र संकलनमा दुवैमा अभूतपूर्व छ ।’

झर्राेवादलाई अन्तिमसम्म बोक्ने स्रस्टा

झर्राेवादी आन्दोलनका अग्रणी सर्मा पाणिनीका भने निकै ठूला प्रशंसक रहेको बराल बताउँछन् । उनी भन्छन् ‘उहाँ पाणिनीका निकै ठूला समर्थक हुनुहुन्थ्यो । कसैले अलिक धेरै जानकारी भएजस्तो गर्‍यो भने पाणिनी बन्यौ कि के हो ? भन्ने प्रतिक्रिया आउँथ्यो ।’

तर पाणिनीका प्रशंसक शर्माले नै अन्तिमसम्म झर्राेवादी आन्दोलनलाई भने समर्थन गरिरहे ।

सर्मासँगै कोशराज रेग्मी, चुडामणि रेग्मी, गणेश भण्डारी, बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल आदिले झर्रोवादी आन्दोलनलाई उचाइमा पुर्‍याउन ठूलो योगदान गरेका छन् । तर बिस्तारै आन्दोलनलाई धेरैले छाड्दै गए । तर शर्माले सबैले छाड्दासम्म पनि यसलाई पूर्ण रुपमा त्यागेनन् ।

शर्माले जीवनको उत्तरार्धमा संस्कृत भाषा, राष्ट्र राष्ट्रियता र वैदिक वाङ्मयको भने वकालत गर्न थाले । सुरुमा प्रगतिवादी साहित्यकारको रुपमा चिनिएका उनी २०४७ सालको परिवर्तनपछि भने नेपाली कांग्रेसमा प्रवेश गरे । २०४७ कै परिवर्तनपछि उनी राइजिङ नेपालको सम्पादक पनि बनेका थिए ।

मंगलबार, १० फागुन २०७८ मा प्रकाशित गरेका

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*