टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली

काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। यससँगै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।

सन्दीपले सोमबार आयरल्यान्डविरूद्धको खेलमा ५० विकेट पूरा गरेका हुन्।

ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्।

सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका सन्दीपले २९ खेलमा ५० विकेट पूरा गरे। टी-२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ४ विकेट लिँदा २० रन दिनु हो।

उनले समग्र टी-२० मा भने ११८ खेलमा १५५ विकेट लिइसकेका छन्। उनी नेपालका लागि टी-२० मा सय विकेट पूरा गर्ने पहिलो खेलाडी हुन्।

सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्। सन्दीपपछि दोस्रो स्थानमा रहेका करण केसीले ३३ खेलबाट ४४ विकेट लिएका छन्।

सन्दीप नेपालका लागि एकदिवसीय खेलमा पनि सर्वाधिक विकेट लिने बलर हुन्। सन्दीपले अहिलेसम्म १६ एकदिवसीय खेलमा ४१ विकेट लिइसकेका छन्। दोस्रो स्थानमा रहेका करण केसीले १४ खेलमा २१ विकेट लिएका छन्।

आयरल्यान्डसँग नेपाल पराजित

चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाललाई आयरल्यान्डले पराजित गरेको छ। सिरिजमा दोस्रो पराजय भोगेको नेपाललाई आयरल्यान्डले सोमबार १६ रनले पराजित गरेको हो।

नेपाललाई हराएसँगै आयरल्यान्डले टी-२० सिरिज जितेको छ।

यसअघि नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालमाथि युएईले २५ रनको जित हात पारेको थियो।

आयरल्यान्डले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १५ रन र आसिफ शेख २३ रनमा आउट भए। लोकेश बम ६ रन, ज्ञानेन्द्र मल्ल ५ रन र शरद भेषवाकर १ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

यस्तै कुशल मल्ल ९ रन, कमलसिंह ऐरी १३ रन र सन्दीप लामिछाने १ रनमा आउट भए।

त्यसअघि ओमान क्रिकेट एकेडेमीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा १२७ रनमा अलआउट भयो।

आयरल्यान्डका ओपनरद्वय पाउल स्टर्लिङ २ रन र एन्डी बालबर्नी १९ रनमा आउट भए। स्टर्लिङलाई कमलसिंह ऐरी र एन्डीलाई अभिनास बोहराले बोल्ड गरेका थिए।

यस्तै गारेथ डेलेनीलाई ९ रनमा जितेन्द्र मुखियाले आउट गरे। कर्टिस काम्फरलाई २० रन र सेन गेटकेटलाई १४ रनमा दीपेन्द्रसिंह ऐरीले आउट गरे। सिमी सिंहलाई पनि दीपेन्द्रले १ रनमा र लोर्कन टकरलाई १५ रनमा पेभिलियनको बाटो देखाए।

दीपेन्द्रले चार विकेट लिँदा २१ रन मात्र दिए। यो उनको टी-२० मा व्यक्तिगत उच्च प्रदर्शन हो।

आयरल्यान्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन जोडे। उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले आउट गरे।

नेपालका लागि दीपेन्द्रले चार विकेट लिँदा अभिनास बोहराले दुई विकेट लिए। सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक एक विकेट लिए।

अब नेपालले शुक्रबारदेखि ओमानमै हुने टी-२० विश्वकप छनोट खेल्नेछ। विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम ओमानसँग खेल्नेछ।

सोमबार, फागुन २, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*