टेस्टमा अस्ट्रेलियालाई हराउँदै बंगलादेशले रच्यो इतिहास

राजधानी ढाकास्थित शेर–ए–बांग्ला स्टेडियममा भइरहेको पहिलो टेस्ट म्याचमा अस्ट्रेलियालाई २० रनले पराजित गर्दै बंगलादेशले इतिहास रचेको छ । बुधबारको यो जितसँगै दुई टेस्ट म्याचको सिरिजमा अब बंगलादेश १–० ले अगाडि भएको छ ।

बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई पहिलोपटक हराएको हो भने समग्रमा बंगलादेशको यो चौथो टेस्ट जित पनि हो । यसअघि बंगलादेशले टेस्ट क्रिकेटमा जिम्बाब्वे, वेस्ट इन्डिज र इंग्ल्यान्डलाई हराउन सकेको थियो ।

सन् २००० मा टेस्ट खेल्ने राष्ट्रको दर्जा पाएपछि बंगलादेश र अस्ट्रेलियाबीच चालु म्याचभन्दा पहिलेसम्म चारवटा टेस्ट म्याच भएका थिए । ती सबै टेस्टमा बंगलादेश पराजित भएको थियो ।

यसपटकको जित बंगलादेशका लागि किन पनि विशेष छ भने टेस्ट राष्ट्रको दर्जा पाएको १७ वर्षपछि पहिलोपटक अस्ट्रेलियाविरुद्ध टेस्ट विजय प्राप्त भएको हो ।

यस टेस्टका नायक बने बंगलादेशका अलराउन्डर शकिब अल–हसन । उनले म्याचमा १० विकेट लिए भने बंगलादेशको पहिलो इनिङमा सर्वाधिक धेरै रन (८४) पनि बनाए ।

म्याचको पाँचौं दिन बुधबार अत्यन्त रोमांचक रह्यो ।

ओपनर डेभिड वार्नरले शतक बनाए पनि शकिबले पाँच विकेट लिएर पाहुना टोलीलाई ब्याकफुटमा पठाइदिएका थिए । लंच लगत्तै उनले ग्लेन म्याक्सवेललाई आउट गर्ने बित्तिकै अस्ट्रेलिया कठिन स्थितिमा पुगिसकेको थियो ।

त्यसपछि नथान लियोन र प्याट कमिन्सले केही साझेदारी गर्ने प्रयास गरेका थिए तर त्यो जोडी राम्ररी नजम्दै १२ रन बनाएका लियोन मेहदी हसनको बलमा क्याच आउट भए । जोश ह्याजलउड खातै नखोली ताइजुल इस्लामको बलमा आउट भए । त्यससँगै बंगलादेशले ठुलो जित हासिल गर्यो ।

बंगलादेशले पहिलो इनिङमा शकिबको ८४ र तमिम इकबालको ७१ रन सहयोगमा २६० रन बनाएको थियो । अस्ट्रेलियाको तर्फबाट कुमिन्स, लियोन र एस्टन एगरले ३–३ तथा म्याक्सवेलले १ विकेट लिएका थिए ।

अस्ट्रेलियाले खराब सुरुआत गर्यो । उसका ओपनर वार्नर ८ रन बनाई आउट भए । म्याट रेनसा र पिटर ह्यान्डसकमले केही रन बनाए पनि अन्य खेलाडी नचल्दा अस्ट्रेलिया आफ्नो पहिलो इनिङमा २१७ रनमा अलआउट हुन पुग्यो । बंगलादेशका लागि शकिबले ५ विकेट लिए ।

दोस्रो इनिङमा बंगलादेशले २२१ रन मात्र बनाउन सक्यो । त्यसपछि डेभिड वार्नरले शतक बनाए पनि अस्ट्रेलिया दोस्रो इनिङमा २४४ रनमा अलआउट भयो र यससँगै अस्ट्रेलियाले २० रनले पराजित गर्दै बंगलादेशले ऐतिहासिक जित दर्ज गर्यो । (एजेन्सी)

     बुधबार, भदौ १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*