तपाईंलाई थाहा छ, महाकवि देवकोटाबारे यी दश तथ्य ?

सन्दर्भ– महाकवि जयन्ती

नेपाली साहित्याकाशमा महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तो उज्जवल नक्षत्र अर्को छैन । उनलाई दिइएको ‘महाकवि’ को उपाधिले नै नेपाली कविता फाँटमा रहेको उनको महत्तम उपस्थितिलाई उद्बोधन गर्दछ । त्वरित क्षमताका ‘जन्मजात’ कवि हुनुका साथै देवकोटा गद्य विधामा पनि उत्तिकै फलामे योगदान पुर्याउने व्यक्तित्व हुन् । उनका कृतिहरू संख्यामा जति धेरै छन्, अर्थवत्तामा पनि उत्तिकै उत्कृष्ट छन् र उनका यी कृतिहरूले नेपाली भाषामा मानवतावादी भाव अभिव्यक्त गरिरहेका हुन्छन् । उनको नाम, यश र गौरवपूर्ण लिगेसी नेपालभित्र मात्र सीमित छैन, मुलुकभन्दा धेरै टाढा रसियामा समेत उनका कृतिहरू अझै पढिन्छन् र पाठकहरू आनन्दित हुन्छन् ।

व्यक्तिगत रूपमा देवकोटा एक पहेली जस्ता थिए, मानौं उनको एक किसिमको रहस्यमयी व्यक्तित्व थियो । हामीले पढेका र सुनेका छौं, कसरी देवकोटाले एकपटक आफूले लगाएको कोट नै फुकालेर कुनै एकजना भिखारीलाई दिएका थिए । हामीले यो पनि सुनेका छौं, उनी कसरी चुरोटका खोलहरूमा कविता लेखिरहन्थे । देवकोटाले केवल नौ दिनमै आठ सय पृष्ठ लामो ‘शाकुन्तल’ जस्तो महाकाव्य लेखिसिद्ध्याएको प्रसंगबारे पनि हामीले पढेकै छौं । यी बाहेक हामी पाठकहरू समक्ष उनै महाकविका सम्बन्धमा थप दसवटा तथ्य राख्ने प्रयास गरिरहेका छौं–

१. देवकोटा केही लेखिरहेको बेला कस्तो विधि एकाग्र हुन पुग्थे भने थाहा नपाइकन आफ्नै कविताका पानाहरू चुरोटमा बेरिरहेका अथवा सिंगान पुछिरहेका हुन्थे ।

२. जुवाका पनि अम्मली मानिएका देवकोटा हार्मोनियम बजाउन रुचाउँथे । हार्मोनियम बजाएरै उनी सिंगो रात बिताइदिन सक्थे ।

३. देवकोटा गरिब थिएनन् बरु केटौले पाराका अव्यवहारिक थिए । जतिजति बेला उनीसित पैसा हुन्थ्यो, उनी त्यसलाई कसरी खर्च गरिहाल्ने भनेर सोच्न थाल्थे । एक दिन उनीसित प्रसस्तै रकम हुन्थ्यो तर भोलिपल्ट उनी भोकै सुत्नुपर्ने अवस्थामा हुन्थे । उनको यस्तो बहुलठ्ठीपूर्ण व्यवहारको एउटा प्रमुख कारण उनकी पत्नी मनदेवी थिइन् जो अत्यन्तै धार्मिक प्रकृतिकी थिइन् र धार्मिक कार्यहरू भन्दै अनियन्त्रित रकम स्वाहा पार्ने गर्थिन् । मानवतावादी सोच र स्वभावका महाकविलाई यो पटक्कै चित्त बुझ्दैन थियो, त्यसकारण उनी आफ्नो कमाइको थोरै रकम मात्र घर लिएर जान्थे ।

४. सन् १९५३ मा रोमानिया भ्रमणमा गएको बेला महाकविले कम्बल, डसना र तकिया घरबाटै लिएर गएका थिए र हरेक समय आफूसँगै राखेका थिए । स्वभाविक तवरले मानिसहरू उनलाई अनौठो मानेर हेर्थे र उनले आफ्नो ओछ्यान बोकेर हिँडेको देखेर छक्क पर्थे ।

५. उनी त्यतिबेला १६ वर्ष पुगेका थिए जतिबेला उनको विवाह मनदेवी चालिसेसित भएको थियो ।

६. जतिबेला महाकविले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्ने कविता लेखे, धेरैले उनलाई बहुलाएको आरोप लगाए । तर संयोगवश विक्रमाब्ध २०१६ भदौ २९ गते महाकविको मृत्यु भयो, त्यसै दिन सोभियत संघको लुना–९ नामक यान चन्द्रमामा अवतरण गरेको थियो । मानिस पहिलोपटक चन्द्रमामा पुगेको थियो ।

७. पढाइमा अत्यन्त मेधावी महाकविलाई दरबार हाइस्कुलमा पढ्दै गर्दा कक्षा आठबाट एकैचोटि कक्षा दशमा बढुवा गरिएको थियो ।

laxmiprasaddevkota

८. भारतको राँचीमा उनको तथाकथित ‘पागलपन’ को उपचार भइरहँदा डाक्टर ओवेन बर्कले–हिलले भनेका थिए, ‘देवकोटा जस्तो प्रतिभा नेपालमा जन्मनु भौगोलिक भूल हो । उनी पागल छैनन्, बरु उनलाई पागल भन्ने र भन्न लगाउने तिमीहरू नै पागल हौ ।’

९. देवकोटालाई मदन पुरस्कार दिइएन । वास्तवमा, मदन पुरस्कारको स्थापना गर्ने रानी जगदम्बाले उनी र उनका कृतिहरूबारे थाहा पाएको भए महाकविलाई त्यो पुरस्कार दिने मात्र नभई संरक्षकत्व नै प्रदान गर्ने  थिइन् । महाकविलाई रानी जगदम्बाको निकट जान नदिन अथाह षडयन्त्रहरू भएका थिए ।

१०. देवकोटाले कहिल्यै कुनै योजना बनाएर त्यस अनुकूल काम गरेनन्, न त उनले कुनै महत्वपूर्ण निर्णय नै आफैँले गरे । बालसुलभ स्वभाव पाएका देवकोटाले आजीवन त्यही बालसुल निर्दोष चरित्रले दिनसक्ने परिणति भोगिरहे ।

(अनिल खतिवडाले अंग्रेजीमा लेखेको प्रस्तुत सामग्रीको नेपाली अनुवाद जयदेव गौतमले गरेका हुन् ।

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्रि भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । 
भारतका महापण्डित राहुल साँकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भने नाट्य सम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । सं.)

   बिहीबार, कात्तिक २, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*