तपाईंहरूमाझ हामी पनि

पत्रकारिता र विविध आयामका लेखनलाई समेटेर जानकारीमूलक एवम् ज्ञानवद्र्धक सामग्री सबै पाठकहरूसित सेयर गर्ने उद्देश्यले हामीले नयाँ वर्ष विक्रम सम्वत् २०७४ वैशाख १ गतेको बिहानीमा यो नयाँ अनलाइन पत्रिकालाई सार्वजनिक गर्दैछौँ । यो सम्पूर्ण रूपले दैनिक समाचार पत्रिका होइन, र कुनै खास विषय–केन्द्रित जर्नल पनि होइन । तापनि हाम्रो प्रयास के हो भने यो अनलाइन पत्रिका हेर्ने पाठकले कम्तीमा मुलुक र संसारका समसामयिक घटना र प्रवृत्तिहरूबारे जानकारी प्राप्त गर्न सकून्, बग्रेल्ती देखिएका पत्रपत्रिका र अनलाइन मिडियाहरूको भिडमा एउटै क्लिकमा पनि प्रशस्त सामग्री उनीहरूले पाउन सकून् ।
यो बाहेक थप के हो भने यस अनलाइन पत्रिकाले महिला सशक्तीकरण र लैङ्गिक समानताका लागि योगदान गर्न सबैमा हुट्हुटी लगाइरहनेछ । पत्रकारिताको सर्वमान्य सिद्धान्तअनुसार हामी हाम्रो लक्ष्यअनुरूप यसमा प्रकाशित समाचार र अन्य सामग्रीहरूको विश्वसनीयताप्रति प्रतिबद्ध रहँदै पाठकको रूचि र स्वादअनुसारका सामग्री पस्किरहनेछौँ । यही विश्वासका साथ हामी यो अनलाइन पत्रिका तपाईं पाठकहरूसामु प्रस्तुत गर्दैछौँ । सल्लाह र सुझावको साधिकार सम्पूर्ण अपेक्षा छ ।
हामीलाई यस कार्यमा समस्त लेखक, पाठक, शुभचिन्तक, हितैषी एवम् विज्ञापनदाताहरूबाट समुचित सहयोग प्राप्त भइरहने विश्वास छ ।
मुलुकको राजनीति आफ्नो ठाउँमा छ । घोषित स्थानीय निकाय निर्वाचन प्रक्रिया यथा ढंगले अगाडि बढिरहेको छ । संविधान संशोधन र प्रादेशिक एवम् केन्द्रीय निर्वाचनको तयारी तमाम बाधाहरूबीच पनि अगाडि बढिरहेको छ । हाललाई स्थानीय निकायको त्यो निर्वाचनमा महिला नेतृत्व र सहभागिताले नयाँ कीर्तिमान कायम गर्ने हाम्रो विश्वास छ । अहिलेलाई हामी यति मात्र भन्न सक्छौँ– नयाँ वर्ष विसं २०७४ सबैका लागि सफल, लाभदायी एवम् शुभ रहोस् । मुलुकमा राजनीतिक स्थिरता, शान्ति र समृद्धि कायम हुन सकोस् ।

6 Comments on तपाईंहरूमाझ हामी पनि

  1. सर्बप्रथम सफलताको धेरै धेरै शुभकामना । नेपाली पत्रकारिताको छेत्रमा एउटा सफल र फरक आयाम दिन सफल होस् नेपाली अस्मिता । समेटिएका बिषयहरु राम्रो लाग्यो। महिलाहरुका सफलताका कुराहरु अझ बढी समेटियोस भन्ने सुझाबका साथ् ! अन्त्यमा, नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना !

  2. धेरै खुशी लाग्यो । बधाई तथा सफताको शुभकामना मन्जुजी ।

Leave a Reply to nepali asmita Cancel reply

Your email address will not be published.


*