तपाईं जहाँ भए पनि ५ मिनेटभित्र राष्ट्रपति कार्यालय आउनुपर्यो भन्नुभयो : लालबाबु पण्डित

काठमाडौं, ७ फागुन ।

सत्तामा पुग्नुअघि निष्कलंकको परिचय बनाएकाहरू अपवादबाहेक सत्ताबाट बाहिरिँदा बदनाम हुने गरेका छन् । तर, लालबाबु पण्डित यस्ता भाग्यमानी पात्र हुन्, जसको सत्तारोहणपछि मात्र उनको निष्कलंक छवि सबैले पढ्न पाए । र, सरकारबाट बाहिरिएपछि उनीप्रतिको सामाजिक प्रतिष्ठा झनै बढेर गयो । मन्त्री पण्डित आफूभित्रको त्यही इमानदारिताको बलमा प्रतिनिधिसमा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भए । फलस्वरूप उनले वाम गठबन्धनको सरकार निर्माणसँगै सिंहदरबार प्रवेश गर्ने अवसर पाएका छन् । जनसंख्या तथा वातावरणमन्त्री पण्डितसँग पुष्प ढुंगानाले गरेको कुराकानीको सम्पादित अंशः

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभयो । भावी योजना तथा कार्यक्रम के–कस्ता छन् ?
अहिले प्रधानमन्त्रीज्यूले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । चाँडै मन्त्रालय समायोजन हुँदै छ । मन्त्रिपरिषद्ले पूर्णता पनि पाएको छैन । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि कस्तो जिम्मेवारी पाउँछु भन्ने निश्चित हुन्छ । तर, काम कुनै पनि ठूलो–सानो हँदैन । राम्रो काम गर्दा ठूलो देखिन्छ, नराम्रो काम गर्दा सानो । त्यसकारण अहिले नेपालमा मात्र होइन, संसारमा जनसंख्या र वातावरणको असन्तुलन छ । त्यो मानव जीवनसँग थुप्रै खालका प्रभाव देखिएका छन् । हरेक देशको सरकार चिन्तित छ । त्यसकारण नेपालले पनि वातावरण र जनसंख्यालाई सन्तुलनमा राख्नुपर्ने छ । अहिलेसम्म वातावरण जसरी बिगारिएको छ, त्यसलाई सन्तुलनमा ल्याउनुपर्ने चुनौती छ । अहिलेका वातावरणसम्बन्धी यस्ता समस्या र चुनौती सामना गर्दै समाधान गर्नु मेरो जिम्मेवारी हुन्छ । यस्तै आगामी दिनमा वातावरणलाई प्रदूषण हुन नदिई राष्ट्र निर्माणमा प्राकृतिक स्रोत साधनको प्रयोग गरेर मुलुकलाई समृद्ध, जनतालाई सुखी र सम्पन्न बनाउनु छ ।

तपाईंले उत्साहका साथ आफ्नो मन्त्रालयबाट सम्पादन गर्ने कामको फेहरिस्त सुनाउनुभयो । तर, मन्त्रालयको बजेट, स्रोत–साधन र जनशक्तिको क्षमता हेर्दा सम्भव छ र ?
अहिलेकै स्थितिमा हेर्दा यही मन्त्रालयमा बसेर उल्लेखनीय काम गर्न कठिन छ । तर, मैले भविष्यमा मन्त्रालयलाई यस्तो स्थितिमा रहन दिनेछैन । हामीस“ग भएका स्रोत–साधन र हाम्रो जनशक्तिले भ्याएसम्मका सबै काम उत्कृष्ट तरिकाले गरिनेछ । भएको जनशक्तिलाई पूरै परिचालन गर्नेछु र भएका स्रोत–साधनलाई सदुपयोग गर्नेछु । र, वातावरणलाई मानवमैत्री बनाउनुका साथै सन्तुलनमा राखेर काम गर्नेछु ।

चिकित्सकहरूले पटक–पटक काठमाडौंको हावा सास फेर्नयोग्य छैन भनेर चेतावनी दिइरहेका छन् । अब प्रदूषण हटाउने जिम्मेवारी तपाईंको काँधमा आइपुगेको छ, त्यो कसरी गर्नुहुन्छ ?
यो यथार्थलाई मैले गम्भीरताका साथ लिएको छु । राजधानीको हावा सास फेर्न पनि उपयुक्त छैन भन्दा यो जति दुर्भाग्यपूर्ण केही पनि हँदैन । अब मैले यहाँको स्थिति राम्रोसँग बुझ्छु । सबैसँग ब्रिफिङ लिन्छु । कर्मचारी र विज्ञहरूसँ बसेर प्रदूषण नियन्त्रणका उपायको खोजी गर्छु । र, एउटा निर्णय लिएर कठोरतापूर्वक प्रदूषण नियन्त्रणको काम थाल्नेछु । मन्त्रालयका सबै स्रोत–साधन, जनशक्ति र राजधानीका स्थानीय तहसँग समन्वय गरेर प्रदूषण नियन्त्रण गर्नेछु । मेरो इच्छा केही वर्षभित्रै काठमाडांैमा माक्स नलगाई हिँड्ने वातावरण बनाउनु हो । र, यस्तै वातावरण देशभरि बनाउनु छ । त्यसका लागि कस्ता निर्णय र योजना आवश्यक पर्ने हो, त्यो बुझ्न बाँकी छ । अहिले नै यो विधिबाट प्रदूषण नियन्त्रण गर्छु भन्ने स्थिति छैन । तर, प्रदूषण नियन्त्रण गरेरै छाड्छु ।

विगतमा सामान्य प्रशासनमन्त्री भएर जे गर्न खोज्दै हुनुहुन्थ्यो, त्यसका आधारमा फेरि पनि सोही मन्त्रालयको जिम्मेवारी तपाईंले माग्नुभएन ? वा प्रधानमन्त्रीले नै त्यसमा चासो देखाउनुभएन ?
यसबारे कुनै चर्चा भएन । कुन मन्त्रालय पाउने भन्ने विषय अग्रिम जानकारी नै भएन । सीधै माइकबाट नाम, मन्त्रालयको नाम तोकेर शपथग्रहण गराइयो । त्यसकारण प्रधानमन्त्रीज्यूले, पार्टीले जिम्मेवारी दिएको स्थिति हो । जिम्मेवारी हेरफेर पनि हुन सक्छन् । त्यो प्रधानमन्त्रीको इच्छामा भर पर्ने कुरा हो । कामको आवश्यकता र परिस्थितिले त्यो ठाउँमा पुग्न सकिन्छ । मैले कुनै रुचि राखेर मन्त्री पाउने कुरा पनि भएन । मन्त्रिपरिषद् प्रणालीमा प्रधानमन्त्रीले जुन जिम्मेवारी दिनुहुन्छ, जे निर्देशन दिनुहुन्छ, त्यो मानेर जानुपर्ने हुन्छ । म प्रधानमन्त्रीले जे जिम्मेवारी दिनुभयो, त्यो अनुसार काम गर्छु ।

भनेपछि तपार्इंलाई सप्र्राइज रूपमा मन्त्री नियुक्त गरियो ?
हो । कुनै जानकारीविनै मन्त्रीको रूपमा शपथ खान बोलाइयो ।

मन्त्री हुँदै गरेको कुरा कतिवेला थाहा पाउनुभयो ?
४ बजे प्रधानमन्त्रीज्यूको शपथको समय तोकिएको थियो । ४ बजेसम्म म कुपन्डोलमा एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिइरहेको थिएँ । त्यहाँबाट कोठामा आउँदा करिब ४ः१५ बजेको थियो । पहिले कमरेड माधवकुमार नेपालले, लगत्तै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीका सचिवालयका साथीहरूले फोन गरेर तपाईं जहाँ भए पनि ५ मिनेटभित्र राष्ट्रपति कार्यालयभित्र आउनुप¥यो भन्नुभयो । त्यहाँ गएपछि पो सप्र्राइज भएँ ।

फोनमा तपाईं मन्त्री हुँदै हुनुहुन्छ भनिएको थिएन ?
कमरेड माधवकुमार नेपालले फोन गरेर तपाईं दौरा–सुरुवाल लगाएर तुरुन्तै आउनू भन्नुभयो । त्यति भनेपछि मन्त्री हुँदै छु भन्ने लाग्यो । मैले कुन मन्त्रालय दिन लागिएको हो भनेर सोधेँ । उहाँले अहिले मन्त्रालयको केही टुंगो लागेको छैन, मन्त्री भनेर मात्र शपथ लिने, त्यसपछि सरसल्लाह गरेर टुंगो लगाउँला भन्नुभएको थियो । त्यहाँ पुगेपछि मन्त्रालय नै तोकेर शपथका लागि बोलाइयो ।

तपाईंको इच्छा के हो ? अहिलेकै मन्त्रालयमा खुसी हो कि कुनै अमुक मन्त्रालयको जिम्मेवारी दिएको भए यस्तो गर्न सक्थेँ भन्ने लागेको छ ?
सधैँ इच्छाले खोजेको कुरा पाइँदैन । तर, पनि चाहना हुन सक्छ । अब त्यतातिर नजाऊँ । मलाई जे जिम्मेवारी दिइएको छ, त्यसैभित्र मैले भ्याएसम्म उत्कृष्ट काम गर्ने हो । दिएको जिम्मेवारीबाट भाग्न हुँदैन भन्ने मेरो बुझाइ हो । जति वेलासम्म मन्त्रालयको घोषणा भएको थिएन, त्यति वेलासम्म मलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइँदै छ भन्ने मात्र थाहा थियो । तर, मन्त्रालयको नाम तोकेर शपथका लागि बोलाएपछि यो मन्त्रालय दिएको भए हुन्थ्यो भन्ने कुरा नै भएन ।

पूर्ववर्ती सरकारले केही सैद्धान्तिक निर्णय गरेर गएको छ । ती निर्णय कार्यान्वयन गर्दा राज्यकोषमा कम्तीमा १ खर्ब ६ अर्बभन्दा बढी भार पर्छ । नयाँ सरकारले ती निर्णय कार्यान्वयन गर्छ कि खारेज ?
पूर्ववर्ती सरकारका अनुचित सबै निर्णय खारेज गरिन्छन् । तत्काल ती निर्णय होल्ड गर्ने भनेर निर्देशन दिइसकिएको छ । अघिल्लो सरकारले गरेका निर्णय कति कानुनसम्मत छन्, कति प्रक्रिया पुगेका छन्, ती निर्णय समयअनुसार अनुकूल छन् कि छैनन् भन्ने हेरेर निर्णय गरिन्छ । कार्यान्वयन गर्न मिल्ने कार्यान्वयन हुन्छन् । केही निर्णय संशोधन गरेर कार्यान्वयन गरिन्छ । संशोधन गरेर पनि कार्यान्वयन गर्न नसकिने निर्णय खारेज गरिन्छ । त्यस्ता गलत निर्णय कार्यान्वयन नगर्न मुख्यसचिवलाई निर्देशन दिइएको छ ।

भएका निर्णय कुन ठीक हुन्, कुन अनुचित हुन् भन्ने कसरी छुट्याउनुहुन्छ ?
कार्यदल बनाइसकिएको छैन । पछि अध्ययन हुन्छ ।

– नयाँ पत्रिका दैनिकबाट

सोमबार, फागुन ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*