दशैँ उमंगका साथ मनाइयो, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं, १४ असोज ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् ।

बडादशैँको दशौँ दिन आज राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा आज टीकापछि चहलपहल बढेको छ ।

आज दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे । दुई-तीन दिनदेखि उपत्यका सुनसान भए पनि आज बेलुकादेखि काठमाडौं उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र ओलीद्वारा टीका ग्रहण
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजयादशमीको टीका ग्रहण गरे ।

त्यसपछि नेता ओलीले बेलुका ५ बजे मात्र आफ्ना पिताको हातबाट टीका ग्रहण गरे । उनले आफ्नी श्रीमती राधिका शाक्यलाई टीका लगाएसँगै आफन्तजन, पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिएको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका हुन् ।

त्यसैगरी, विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गरेको स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिएका छन् ।

त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाइदिएका हुन् । रासस

      शनिबार, असोज १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*