दुर्गा घिमिरे : राजनीतिदेखि सामाजिक अभियन्तासम्म

‘हिजो देशमा मौन संस्कृति थियो तर अचेल महिलाहरूले आफ्नो मौन व्रत तोड्न थालेका छन् । स्थानीय र गाउँले स्तरमै पनि पुरानो संस्कृतिलाई चुनौती दिँदै उनीहरूले आवाज उठाउन थालेका छन् । आफ्ना सरोकारका विषयमा पनि उनीहरूको चेतनास्तर बढ्दै गएको छ । तापनि, घरेलु हिंसा र महिला बेचबिखन जस्ता कुरा हाम्रो समाजमा गहिरो जरा गाडेर बसेका छन् । यी कुरा एकाधजना वा एकाध हस्तक्षेपकारी कार्यक्रमले उन्मूलन हुँदैनन् । यसका लागि महिला एवं पुरुष सबैबाट बृहत् प्रभाव पार्ने किसिमका प्रयासहरू अगाडि बढाइनु जरुरी छ ।’ करिब अढाइ दशक लामो अनुभव यसरी बोल्दछ । राजनीति र समाजसेवाका अन्तर–कुन्तर बुझ्दै जीवनको लामो समय बिताइसकेकी दुर्गा घिमिरेकोे अनुभव हो यो ।
राजनीतिक विद्यार्थी संगठनमा अत्यन्त सक्रिय रहेर जीवनको पछिल्लो चरणमा समाजसेवा खासगरी मानव ओसारपसार (ह्युमन ट्राफिकिङ) विरुद्ध मुलुककै अगुवा व्यक्तित्वका रूपमा स्थापित हुन सफल महिला हुन् दुर्गा घिमिरे । मे सन् १९४८ मा सुनसरीको धरानमा जन्मेकी दुर्गा नेपाल विद्यार्थी संघकी संस्थापक सदस्य हुन्, एबिसी नेपाल नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्, नेसनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङमा संस्थापक सदस्य हुन् र सेन्टर फर एसिया प्यासिफिक विमेन इन पोलिटिक्स संस्थाकी अध्यक्ष समेत हुन् । कुनै बेला राजनीतिमा सक्रिय भएर निकै चर्चा र प्रसिद्धी कमाएकी उनमा पछिल्लो कालखण्डमा मानौं राजनीतिप्रति नै वितृष्णाबढेझैं भएकी छन् । उनलाई लाग्छ, ‘नेपाली राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति अत्यन्त गहिरो छ । अब त राजनीति शक्ति, पैसा र प्रभाव (मसल्स, मनी एन्ड म्यानिपुलेसन) को खेल भइसकेको छ । त्यसैले गर्दा राजनीति गर्नेहरूको चर्चा शक्तिमा रहँदासम्म मात्र हुन्छ, शक्तिबाट हटेको केही समयमै उनीहरूको आलोचना हुन थाल्दछ र उनीहरू बिर्सिइन्छन् । तर, समाजसेवामा लाग्नेहरू सदाबहार हुन्छन् र मानिसहरूले समाजसेवी अनि उनीहरूका कामलाई माया गर्छन् ।’

नेबिसंघको राजनीति गर्दा उनी धेरैपटक पक्राउ परिन् । पहिलोपटक सन् १९७० मा पक्राउ पर्दा उनी त्रिवि विद्यार्थी युनियनमा कोषाध्यक्ष थिइन् । उनको गिरफ्तारीको खबरले उनकी आमालाई हृदयाघात भएको थियो । सन् १९७२ मा मोरङ जिल्लाको नेविसंघको अध्यक्ष रहेको बेला उनी तेस्रोपटक जेल परिन् र लगातार तेह्र महिना जेलसजाय काटिन् । त्यसबेला सद्दे र पागल महिला सबैलाई एकै ठाउँ राखिन्थ्यो । त्यही समयका अनुभवहरूलाई समेटेर उनले सन् १९९४ मा चर्चित पुस्तक लेखिन्– जेलको सम्झना, जुन पुस्तकले उत्तम शान्ति पुरस्कार प्राप्त ग¥यो । तिनताका कम्युनिस्ट नेतृ सहाना प्रधान र कांग्रेस नेता शैलजा आचार्यपछि राजनीतिक बन्दी बन्नेमा उनी तेस्रो महिला बन्न पुगेकी थिइन् ।
त्यो समय यस्तो थियो जतिबेला राजनीतिमा लागेका, त्यसमा पनि जेल परेका महिलाले विवाह गर्न पाउने वा सक्ने अवस्था ज्यादै कम हुन्थ्यो । परिवारले यसबारे भन्दा दुर्गाले भनेकी थिइन्, ‘तपाईंहरूका सात बहिनी छोरी छन् । त्यसकारण एउटी छोरीलाई देशका लागि बलिदान गरिएछ भन्ने सोचेर चित्त बुझाउनुहोस् ।’
घर र गृहजिल्ला छाडेर राजधानी काठमाडौं आए पनि पञ्चायतविरोधी नेपाली कांग्रेस पृष्ठभूमिले गर्दा दुर्गाले सन् १९७० मै अर्थशास्त्र विषयमा स्नातकोत्तर गरिसकेको भए पनि जागिर पाइनन् । आजित भएर उनले स्वतन्त्र ढंगले काम गर्ने र कानुन पढ्ने मनस्थिति बनाइन् । यही बेला सन् १९७३ मा उनले त्रिविको प्रमुख नीति अनुसन्धान–प्राज्ञ निकाय आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा काम गर्ने अवसर पाइन्, जहाँ उनले चार वर्षसम्म काम गरिन् । यसैताका उनको साहित्यकार जगदीश घिमिरेसित प्रेम बस्यो र उनीहरूले सन् १९७४ मा विवाह गरे । सन् १९८२ देखि १९८४ सम्म उनी बेलायती राजधानी लन्डन बसिन् जहाँ उनका पति जगदीश इन्टरनेसनल प्यारेन्टहुड प्रोग्राम नामक संस्थाका सहायक क्षेत्रीय निर्देशकका रूपमा कार्यरत थिए । लन्डन बसाईंका क्रममा दुर्गाले बिबिसी नेपाली सेवामा राजनीतिक टिप्पणीकारको रूपमा काम गर्ने अवसरसमेत पाइन् ।
सन् १९७७ देखि नै उनको सामाजिक जीवन सुरु भइसकेको थियो । उनी त्यसताका समाज कल्याण परिषद्अन्तर्गत सामाजिक सेवा समन्वय समितिमा कार्यरत थिइन् । सन् १९७९ मा एक दिन प्रहरी भारतमा लगेर बेचिएर पछि उद्धार गरिएका केही युवती लिएर उनको कार्यालयमा आइपुग्यो तर त्यो बेला मानव ओसारपसार तथा वेचविखनविरुद्धमा र उद्धार गरिएका महिला क्षेत्रमा काम गर्ने गैससहरू कुनै पनि थिएनन् । यसै क्रममा उनले उनले आफ्नै पिताबाट बेचिएकी एक किशोरी फेला पारिन् जसलाई उनले तुलसी मेहर महिला आश्रममा पुनर्वास दिलाइन् । पछि उनले यस्ता धेरै मुद्दा देखिन् र त्यसबाट प्रभावित भएर आफूलाई ओसारपसार तथा बेचिविखनको शिकार भएका महिलाको हित हुने काममा लगाउने अठोट गरिन् । त्यसकै फलस्वरुप उनले सन् १९८७ (विसं २०४४) मा एबिसी नेपाल नामक संस्था स्थापना गरिन् ।
राजनीतिक अवरोधले गर्दा सुरुमा उद्योग विभागमा दर्ता गरेर काम सुरु गरेकी दुर्गाले पञ्चायती शासनको अवसानपछि सन् १९९० मा आएर मात्र निकै प्रयासपछि जिप्रकामा गैससका रूपमा यो संस्था दर्ता गर्न सकेकी थिइन् । यो समग्र अवधिमा उनले खासगरी बेचबिखनमा परेका महिला, उत्पीडित महिला, उद्धार गरिएका महिला र अपहेलित महिलाहरूको ठूलो संख्याका लागि गरेका कामहरूको लामो अध्याय छ । राजनीतिप्रति उनको रुचि र जागरुकता छ तर राजनीतिमा विद्यमान वर्तमान प्रवृत्तिहरूलाई हेर्दा उनलाई बेलाबेलामा उदेक पनि लाग्दछ । विद्यार्थी राजनीतिबाट सामाजिक क्षेत्रमा प्रवेश गरेकी दुर्गा अहिले सामाजिक क्षेत्रको एउटा स्थापित र राष्ट्रिय नेता बन्न पुगेकी छन् । उनलाई अहिले राजनीति छाडेर समाजसेवामा लाग्ने आफनो पूर्व निर्णयप्रति कुनै गुनासो छैन ।

Published on 2016/09/07

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*