दोस्रो इनिङ सुरु गर्दै नवनिर्वाचित प्रधानमन्त्री ओली

 

काठमाडौं, ८ फागुन ।

नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रूपमा नियुक्त नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली यही फागुन ३ गतेदेखि आफू दोस्रो पटक र समग्रमा मुलुकको ४१ औं प्रधानमन्त्री बन्नुभएको छ ।

समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेप्नुभएका आफ्नो अडानमा दृढ नेता मानिनुहुन्छ ।

नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओलीले २०७३ साउन २० मा राजीनामा दिनुभएको थियो । उहाँको यसअघिको कार्यकालमा उहाँबाट छिमेकी चीनको औपचारिक भ्रमण भई यातायात र पारवहनलगायत द्विपक्षीय महत्वपूर्ण सम्झौता सम्पन्न भएको थियो ।

नेकपा (माओवादी केन्द्र)ले समर्थन छाडेपछि सत्ताबाट बाहिरिनुभएका ओली अहिले माओवादी केन्द्रसँगको चुनावी तालमेल र त्यसपछि पार्टी एकता प्रक्रिया सँगसँगै केन्द्रकै समर्थनमा प्रधानमन्त्री हुनुभएको छ ।

नेता ओली पिता मोहनप्रसाद र आमा मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ (सन् १९५२।०२। २३) मा जन्मनुभएको हो । रणामती–६, झापामा बसाइँ सर्नुभएका उहाँ त्यहीँबाट सक्रिय राजनीतिमा होमिनुभएको हो । उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नंं ५ बाट निर्वाचित हुनुभएको हो ।

झापा विद्रोहदेखि पार्टी अध्यक्षसम्म

झापा विद्रोहकालीन नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आउनुभएको छ । यसअघि मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा निडर तथा खरो देखिनुभएको छ । उहाँ पछिल्लो समयमा पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै वाम तालमेल जुटाएर बहुमत हासिल गराउन सफल हुनुभएको हो ।

विसं २०७१ असार १९–२५ गते सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा माधवकुमार नेपालसँगको प्रतिष्पर्धामा अध्यक्ष हुनुभएका उहाँ २०७० माघ २१ मा भएको पार्टी संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी नेता निर्वाचित हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित उहाँ विसं २०४८ र २०५१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने २०५१ मङ्सिर १४ गते गठित नेपालको पहिलो कम्युनिष्ट सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो ।

विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नं २ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टी संसदीय दलको उपनेता हुनुभएका ओली २०६३ जेठमा गठित नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत बन्नुभयो । विसं २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ७ बाट उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं २०२७ को झापा विद्रोहमा पार्टीभित्र हतियारबद्ध संघर्ष वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने बहसमा उहाँले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे पनि पार्टीको निर्णय मानी सशस्त्र संघर्षमा होमिनुभएको थियो । अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो, त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । नेता ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त र त्यसको कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०२५ देखि तत्कालीन कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्य्राक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गर्नुभएका उहाँले २०२६ सालमा संगठित सदस्यता पाउनुभयो भने माक्र्सवादी अध्ययन दलमा संगठित हुनुभयो । विसं २०२६ मै तत्कालीन कम्युनिष्ट पार्टीकोे उपसचिवको जिम्मेवारीमा पुग्नुभएका उहाँ २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बन्नुभयो ।

विसं २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुग्नुभयो । विसं २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नुभएका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य रही पार्टीको प्रभावशाली नेता रहँदै आउनुभएको थियो ।

बन्दी जीवन

विसं २०२८ वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिष्ट पार्टी अलग भएपछि २०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा ओली अघि सर्नुभयो । पञ्चायतविरोधी आन्दोलन र प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उहाँ पटक पटक कारागार पर्नुभयो । पहिलो पटक उहाँ २०२७ फागुन १६ गते झापाबाट गिरफ्तारीमा पर्नुभयो र त्यसबीचमा १० पटकभन्दा बढी गिरफ्तार हुनुभयो । उहाँको २०३० असोज २३ गतेदेखि लामो कारागार जीवन प्रारम्भ भयो । रौतहट गौर जेल, गौर थाना हुँदै वीरगञ्ज थाना र २०३० मङ्सिर ८ गते उहाँलाई भद्रगोल जेल काठमाडौँमा चलान गरियो । पछि केन्द्रीय कारागार, नख्खु कारागारमा बस्दै गर्दा २०३६ जेठमा कारागारमुक्त हुनुभयो । पछि फेरि २०३७ मा गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल कारागारबाट रिहा हुनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ माघ १९ को कदमपछि उहाँले नजरबन्द पनि भोग्नुभयो ।

राजनीतिक आन्दोलन र कारागार जीवनका कारण औपचारिक अध्ययनमा पछाडि देखिए पनि ओलीको स्वाध्ययनले राजनीतिक जीवनलाई कमजोर बनाएको छैन । औपचारिक शैक्षिक योग्यतामा सामान्य अध्ययन गर्नुभएका ओली राजनीति शास्त्रमा मानार्थ विद्यावारिधि प्राप्त हुनुहुन्छ ।

हाल अनन्तलिङ्गेश्वर–२, बालकोट भक्तपुरमा बस्दै आउनुभएका उहाँ मदन भण्डारी मेमोरियल फाउण्डेसनका संरक्षक हुनुहुन्छ । उहाँले विश्वको डेढ दर्जनभन्दा बढी मुलुकको भ्रमण गर्नुभएको छ ।  – प्रकाश सिलवाल/रासस

मंगलबार, फागुन ८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*