दोस्रो बिहे गरेका मनोजराजलाई अन्जु पन्तको सुझाव

काठमाडौं, २ मंसिर ।

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक ।

प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी । तिम्रो आँखामा ‘बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो ।

अहिले सिंगल छिन् अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन् । उनी कार्यक्रमका लागि जहाँ जान्छिन् । सपरिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ । चारजनाका लागि टिकट काट्न लगाउँछु ।’

वैवाहिक जीवनमा सम्बन्ध विच्छेद गरेपछि उनलाई धेरै प्रस्ताव आए विवाह गर्नुपर्छ भनेर । पुनः विवाह गर्न मन छैन । एकपटक वैवाहिक जीवन भोगिसकेकी अन्जुलाई अहिले पनि लाग्छ, ‘विवाह जीवनका लागि एउटा काँडा हो । जब एउटा काँडा झिकिसकेको छ भने अर्को काँडा किन रोप्ने रु’ उल्टै प्रश्न गरिन् उनले ।

जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकोमा मनोजराजलाई धन्यवाद पनि दिन्छिन् । मनोजले उनलाई यातना मात्रै दिएनन् । कहिलेकाहीँ माया पनि गरे । फरक यत्ति हो, माया थोरै गरे, यातना धेरै दिए ।दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले सुझाव दिँदै भनिन्, ‘तपाईको घरमा आमा, दिदी र श्रीमती हुनुहुन्छ, उहाँहरूलाई शीतल छहारी दिनुस् ।’

रोगले आक्रमण
जति बेला उनी चर्चाको शिखरमा थिइन् । जटिल रोगले आक्रमण गर्यो । पिनासबाट सुरु भएको उनको समस्या घाँटीमा पुग्यो । भन्छिन्, ‘मेरो आवाज सर्पको जस्तो हुन थाल्यो, शरीरको हरेक नसा दुख्थ्यो । सुताउने उठाउने काम अरूले नै गरिदिनुपर्थ्यो ।’ उपचारका लागि होमियोप्याथी, एलोप्याथी, आयुर्वेद सबै उपचार गरिन् । थेरापीदेखि इन्डोस्कोपीसम्म गर्दा नभएपछि झाँक्रीको समेत शरणमा पुग्नु परेको बताउँछिन् ।

‘दुई जना ब्वाइफ्रेन्ड…’
अन्जुको एकपटक खुट्टा भाँचिएको थियो । उनी प्लास्टर गरेर घरमै बसेकी थिइन् । केही सञ्चारमाध्यमले समाचार लेखे, ‘अन्जुका दुई जना ब्वाइफ्रेन्ड छन्, मोजमस्तीमा रमाउँदै छिन् ।’ समाचार पढेर उनी रोइन् । उनका दाजुले बहिनीको आँखामा आँसु देख्न सकेनन् । झुटो समाचार लेख्ने पत्रिकाको अफिसमा फोन गरे । फेरि अर्को समाचार आयो, ‘अन्जु पन्तका दाइले पत्रकारलाई धम्क्याए ।’ ‘अन्जुलाई केटा नभई हुन्न, रक्सी नखाएसम्म अन्जु निदाउदिनन् ‘’ भन्ने समाचारसमेत छापिए ।

सपना
जीवन एउटा अमूल्य उपहार हो भन्ने कुरा पटकपटक दोहो¥याउँछिन् । हिजो वैवाहिक जीवनमा हुँदा केही सपना पनि बुनेकी थिइन् । जब सिंगल लाइफ जिउन सुरु गरिन् । सपना बुन्ने काम थाती राखिन् । भन्छिन्, ‘मलाई रंगीन जीवनको कुनै मोह छैन ।’

किनकि उनलाई जीवन एउटा लोला जस्तै लाग्छ । कहाँ कति बेला प्याट्ट फुट्ने हो कुनै ठेगान छैन । ‘किन बुन्नु सपना किन बनाउने योजना रु किन देखाउने दम्भ रु’ उनले प्रश्न गरिन् । मान्छेहरूले घमण्ड देखाएको देख्दा अचम्म लाग्छ उनलाई । ‘एक सेकेन्डपछि के हुन्छ, कसैलाई थाहा छैन तैपनि मान्छेले दम्भ देखाउन छाड्दैन,’ उनले भनिन् । – राजधानी दैनिकबाट

शनिबार, मंसिर २, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*