धर्म र धर्मनिरपेक्षता

विचार/शरच्चन्द्र वस्ती

जसले राजनीतिमा धर्मको कुनै काम छैन भन्छन्, तिनलाई थाहा छैन — धर्म भनेको के हो ।
— महात्मा गान्धी

जसलाई धर्म भनेको के हो— थाहा छैन, तिनैले धर्मनिरपेक्षताको घोषणा गरेका गरेका छन् नेपालमा । धेरैलाई यो गाईजात्रा लागेको छ । चित्त दुखेका अरू चाहिं भन्छन्— यो जनताप्रतिको विश्वासघात हो । जनताले माग्दै नमागेको, जनआन्दोलनमा कुरै नउठेको संवेदनशील विषयमा रातारात यस्तो निर्णय लिने अधिकार अधर्मीहरूलाई कसले दियो ?

धर्मनिरपेक्षता भन्नासाथ यक्षप्रश्न खडा हुन्छ— के कुनै मानिस धर्मनिरपेक्ष हुन सक्छ ? अथवा, धर्मनिरपेक्ष भएर ऊ मानिस रहन सक्छ । अनि देश र राज्यव्यवस्था नि ?

धर्मनिरपेक्ष शब्दको अर्थ हो— धर्मसँग कुनै वास्ता नभएको । धर्म नमान्ने वा धर्म छाडेको । मान्छेले आफ्नो धर्म छाडेपछि के हुन्छ ? ऊ गैरजिम्मेदार हुन्छ, असामाजिक हुन्छ, गतिछाडा र असभ्य हुन्छ । पशु वा राक्षस बन्ने बाटोतिर लम्कन्छ । विवेक, न्याय, प्रेम, करुणा, क्षमा, सहिष्णुता, नैतिकता, परोपकार आदि मानिसका धर्म हुन् जसले उसलाई मानिस बनाएका छन् । पशुबाट पृथक् र सभ्य बनाएका छन् । यीसँग कुनै वास्ता नभएको प्राणी भलै दुई खुट्टा टेकेर उभिएको होस्, त्यसले कुन आधारमा आफूलाई मान्छे भनेर दाबी गर्ने ?

मुक्तिनाथ अधिकारीको हत्या मान्छेले आफ्नो धर्म छाडेको घटना थियो । त्यो र त्यस्ता तमाम हत्याबारे संवेदनशीलता एवं पछुतोको अभाव धर्मनिरपेक्षताको सटीक उदाहरण हो । जुन दिन हत्याराहरूले मुक्तिनाथसँगको व्यवहार आफ्नै आमा र बाबुसँग गर्न थाल्नेछन्, त्यो दिन तिनको धर्मनिरपेक्षता थप उँचाइतिर लागेको मान्नुपर्नेछ । सुन्दा पनि दिगमिग लाग्न सक्ला, तर जब उनीहरूको मासु पनि तिनले निस्संकोच खान थाल्नेछन्, त्यसवेला तिनको धर्मनिरपेक्षताले शिखर चुम्नेछ । मान्छेको धर्म छाडेपछि नै हिटलर हिटलर भयो, स्टालिन स्टालिन हुन सक्यो र इदी अमिन इदी अमिन बन्न पुग्यो । आफूलाई धर्मनिरपेक्षतावादी बताउने लाउकेहरू मनमनै त्यस्तै बन्ने बन्ने आकांक्षा पालेर बसेका होलान् भनेर मान्ने हो भने पनि, अरू समेत त्यस्तै हुन थाले भने तिनको के गति होला ? सबैले आफ्नो धर्म छाडेपछि त्यो ‘समाज’ होला कि ‘समज’ (पशुहरूको झुन्ड) बन्ला ?

Sharatchandra Wasti

——- शरच्चन्द्र वस्ती

सबै धर्मनिरपेक्षहरू कम्युनिस्ट हुनुपर्छ भन्ने छैन, तर सबै ‘इमान्दार’ कम्युनिस्टहरू धर्मनिरपेक्ष हुन् । तिनले आफूलाई धर्मनिरपेक्ष भनेको सुहाउँछ । किन भने, एक शब्दमा परिभाषित गर्नुपर्दा, कम्युनिज्म भनेकै ‘प्रतिसभ्यता’ हो । एन्टी–सिभिलाइजेशन । अर्थात् जे–जे कारणले, जुन–जुन विशेषताले मानिसलाई सभ्य भनिन्छ, ती–ती कुरालाई निषेध गर्ने राजनीतिक सम्प्रदाय । मानवीय गरिमा, स्वतन्त्रता र वैचारिक विविधतालाई अस्वीकार गर्ने पन्थ । त्यस्तो प्रणाली, जुन लागू गरिए–गराइएका मुलुक मानवीय अस्मिता एवं सभ्यताका मरुभूमि बन्न पुग्छन् र जहाँ गएर बस्न स्वयं कम्युनिस्टहरू पनि रहर गर्दैनन् । सत्य तीतो हुन्छ, तर यथार्थ के हो भने कम्युनिज्म, प्रतिसभ्यता र धर्मनिरपेक्षता तीनवटै शब्दको निहितार्थ एउटै हो । यी पर्यायवाची हुन् । एउटाको अर्थ बुझ्न अर्काको अनुहार हेरे पुग्छ ।

सम्पूर्ण आधुनिक कानून र तिनको सिद्धान्तको आधार धर्म हो । लोकतान्त्रिक शासन व्यवस्थाका मान्यताहरूको मूल स्रोत पनि धर्ममै निहित छ । कानूनले, लोकतन्त्रले आफ्नो धर्म छाडेपछि अराजकता र अधिनायकवादका भूणहरू सलबलाउन थाल्छन् । नेता, पार्टी, सरकार, नागरिक समाजले आफ्नो धर्म छाड्दा के हुन्छ, त्यो देखिरहनुभएकै छ ।

मानव जातिसँग गर्व गर्न लायक र सारवान कुनै कुरा छ भने त्यो उसको धर्म नै हो । सम्प्रदाय धर्म होइन, न त कर्मकाण्ड नै धर्म हो । सम्प्रदायले संकीर्ण बनाउँछ, धर्मले उदार । सम्प्रदाय एउटा धर्मग्रन्थ, एउटा उपासना पद्धति, एउटा कर्मकाण्डको बन्दी हुन्छ । त्यो ‘ईश्वरसम्म पु¥याइदिने’ कुनै एजेन्टका आधारमा स्थापित तथा सञ्चालित हुन्छ । बहु विचारलाई स्वीकार गर्दैन, असहमतिको सम्मान गर्दैन, व्यक्तिलाई सर्वोच्च स्थान दिंदैन, अरूलाई सिध्याएर आफ्नो विस्तार गर्न लालायित हुन्छ । समग्रमा त्यो लोकतन्त्रको विपरीत ध्रुव हो । तर धर्मको बाटो बेग्लै छ । यसमा तपाईं ईश्वरसँग सोझै सम्पर्क गर्न सक्नुहुन्छ । यो लोकतन्त्रको पावरहाउस हो । अंग्रेजीको ‘रिलिजन’ भनेको सम्प्रदाय हो, धर्म होइन । ‘हिन्दू’ धर्म हो, सम्प्रदाय होइन । धर्मलाई अर्थ्याउन सक्ने शब्द अंग्रेजी भाषामा छैन ।

सम्प्रदाय निरपेक्ष हुनु बुद्धिमत्ता हुन सक्छ, धर्मनिरपेक्ष हुन खोज्नु आफ्नो खुट्टामा आफैं बन्चरो प्रहार गर्नु हो । नेपालको विडम्बना के भने, यहाँ धर्मनिरपेक्षताको घोषणा तिनको दबावबाट र तिनलाई रिझाउन भयो, जो स्वयम् सम्प्रदाय निरपेक्ष पनि छैनन् । न व्यक्तिगत, न सामाजिक न त राष्ट्रिय रूपमै । जो साम–दान–दण्ड–भेद कुनै पनि उपाय अपनाएर नेपालमा आफ्नो सम्प्रदाय (रिलिजन) को विस्तार गर्न चाहन्छन्, किन भने तिनका ‘धर्मगुरु’ को योजना र आदेश नै त्यस्तै छ । विडम्बनाको अर्को पाटो चाहिं धर्मनिरपेक्षताका नेपाली निमित्त नायकहरू स्वयम् हुन्, जो आफैं साम्प्रदायिक छन् । ती कहिले सिन्दूर र अक्षता चढाएर भैंसीको पाउमा ढोग्न, कहिले ग्रहशान्ति गराउन त कहिले तान्त्रिक क्रिया गर्न व्यस्त हुन्छन्, अनि राति राति बाबाहरूकहाँ पुगेर धर्मनिरपेक्षता घोषणा गरेकोमा माफी मागिरहेका हुन्छन् । आफ्नो धर्मबाट च्युत हुँदै गएपछि मानिस मात्र होइन, समाज र राज्यव्यवस्था समेत यस्तै पाखण्डी, गैरजिम्मेदार र बेकम्मा हुँदै जान्छ । तपाईं–हाम्रो र सिंगो मुलुकको अहिलेको पीडा ‘धर्मनिरपेक्षता’ को पीडा हो ।

धर्म नबुझेकाहरूले धर्मनिरपेक्षताको घोषणा गरे भनेर खुनखुन गर्नुको कुनै तुक छैन, किन भने धर्म बुझ्नेले यस्तो घोषणा कहिल्यै गर्दै गर्दैन । यो धर्मको मर्म नबुझेकाहरूले नै गर्ने कुरा हो । अनि, तिनले जनताप्रति विश्वासघात गरे भनेर पो किन चित्त दुखाउनु ? किन भने विश्वासघात पनि त ‘धर्मनिरपेक्षता’ कै एउटा पाटो हो । धर्म नछोड्नेले पो विश्वासघात गर्दैन !  (पहिलोपटक प्रकाशित  ‘यो साता’ २०६६ चैत ६–१२, शुक्रवार // यहाँ ,लेखक वस्तीको फेसबुकबाट साभार)

आइतबार, साउन १७, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*