नयाँ सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

सापकोटाको लामो यात्रा- शिक्षकदेखि सभामुखसम्म

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक आन्दोलनको अनुभव छ । १० वर्षे जनयुद्धमा नेतृत्वको वरिपरि रहेर खेलेको भुमिका अनि ०६२–०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको र शान्ति प्रक्रियापछि दुईपटक मन्त्री बनेको अनुभव पनि सापकोटासँग छ ।

सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए । उनले १५ वर्षसम्म शिक्षण गरे । ७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्यापक भएर काम गरे ।

सापकोटाको औपचारिक अध्ययन समाजशास्त्रमा स्नातकोत्तरसम्म हो । शिक्षण पेशामा रहँदा नै उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । ०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका सापकोटा ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य भए । ०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष, हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए । विभिन्न आन्दोलनका क्रममा उनी दुई वर्ष जेल परेका थिए ।

सापकोटा ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने । तर, पराजित भए । शिक्षकबाट राजीनामा दिएपछि सापकोटा पूर्णकालीन राजनीतिमा लागे । ०४९ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । शान्ति प्रक्रियापछि ०६४ र ०७० को संविधान सभा निर्वाचनमा सभासद निर्वाचित उनी ०७४ को निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित बहालवाला सांसद हुन् ।

सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र हुन् । ०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दादेखि सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् । माओवादीले जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्ये सापकोटा एक हुन् । १० बर्षे सशस्त्र जनयुद्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा उनी प्रचण्डलाई छोडेर कतै लागेनन् ।

यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रको प्रवक्ताको भूमिकासमेत निर्वाह गरे । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री भए । ०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री थिए । उनले अहिलेसम्म दुईपटक मन्त्री हुने अवसर पाएका छन् ।

प्रचण्डले ०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा सापकोटालाई पनि पठाएका थिए । तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी पनि थिए । तीन सदस्यीय टोलीका एक महरा यसअघि सभामुख थिए ।

सभामुख महरा बलात्कार प्रयासको आरोपमा जेल गएपछि सापकोटाले सभामुख बन्ने अवसर पाएका हुन् ।

“तटस्थ भएर संसदको गरिमा कायम राख्छु”

सभामुख निर्वाचित भएपछि पत्रकारसँग स‌ंक्षिप्त प्रतिक्रिया दिँदै अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताए ।

आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिएका थिए । जवाफमा उनले तटस्थ भएर संसदको गरिमा कायम राख्ने प्रतिवद्धता जनाएका हुन् ।

‘लोकतन्त्रको मूल्यमान्यता, आदर्शलाई कायम गर्ने गरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित, भूमिका ‘निर्वाह गर्नका लागि म सँधैभरी दत्तचित्त भएर रहन्छु । इमानदारितापूर्वक लाग्छु’ सापकोटाले भने ।

सभामुखमा अर्को उम्मेदवार नउठाएकामा प्रमुख विपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टीलगायतलाई पनि धन्यवाद दिए ।

‘नेपाल कम्युनिस्ट पार्टीले सभामुखका लागि अगाडि बढायो । त्यसैगरी नेपाली कांग्रेस, राजपा, समाजवादी लगायत सबै पार्टीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । किनभने यसले निकै राम्रो संदेश गएको छ’ उनले भने ।

नवनिर्वाचित सभामुख  सापकोटाको शपथ ग्रहण सोमबार बिहान ११ हुने भएको छ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउने भएकी हुन्। उनी आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ याेगीले जानकारी दिए। शपथ ग्रहणपछि भोलि नै उनले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने छन्।

आइतबार, माघ १२, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*