निर्वाचनमा देखिएका ‘रमाइला र अनौठा घटना​’

काठमाडौं, १५ असार । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं. १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले ‘स्वतन्त्र’ हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए ।

आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो ।

रमाइला र अनौठा घटना
-आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा जम्मा दुई मत खसेको छ ।
-दाङ जिल्लाको एक मतदान केन्द्रमा बिहान साढे नौ बजेतिर मोटरसाइकलमा आएका व्यक्तिले सोही मतदान केन्द्रलाई लक्ष्य गरी सुतली बम प्रहार गरेका थिए । उक्त बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले जोखिम मोल्दै हातले सुरक्षित ठाउँमा मिल्काइदिए । उनको यो जोखिम र बहादुरी कार्यले त्यहाँ कुनै दुर्घटना हुन पाएन ।

-११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । बैतडी जिल्लाको सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गर्नुभएको हो ।
-अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ बर्षीय मीना बोहोरा र शुभा हामले बच्चा जन्माउनुभएको हो ।

election_9pqqvzWovG

बझाङमा स्थगित
बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख मा मतदान स्थगन भएको छ । निर्वाचन आयोगका अनुसार वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगन भएको हो।

त्यस्तै, रुपन्देहीको कोटीभीमाई गाउँपालिका-१ मा असार १६ गते मतदान हुने भएको छ । माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरले मल्लाहको शनिबार निधन भएपछि मतदान पर सारिएको आयोगले जनाएको छ ।
तिङलामा शून्य मतदान
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् ।

     असार १५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*