नेकपा निम्ति जिल्ला हाँक्ने तीन महिला पाइलट

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले २ जना पाइलट छन्, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) । गत बर्ष जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा ठूलो जहाज  भएकाले २ जना पाइलट चाहिएको अभिव्यक्ति दिएका थिए।

नेकपाले पार्टी एकतालाई पूर्णता दिने क्रममा सोमबार ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवहरुको नाम घोषणा गर्यो। जसमा ३ जना मात्रै महिला अध्यक्ष छन्। जिल्ला हाँक्ने जिम्मेवारी पाउनेमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्।

मुनु सिग्देल, मकवानपुर

मकवानपुरको नेतृत्व पाएकी सिग्देल प्रदेश सांसद समेत हुन् । उनले तत्कालिन एमालेको तर्फबाट नेकपाको जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन्। पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा संलग्न सिग्देलकी श्रीमान बिरोध खतिवडा प्रतिनिधि सभाका सांसद हुन् ।

०४६ को आन्दोलनताका तत्कालिन मालेको विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्ष भएर आन्दोलनमा होमिएकी थिइन्। त्यसै क्रममा एक जना प्रहरीको मृत्यु भएपछि उनी प्रक्राउ परेकी थिइन्।  आजिवन कारावासको सजायँ पाएकी उनी आन्दोलन सफल भएपछि जेलबाट रिहा भएकी थिइन्। उनी मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन् ।

रुकु चौलागाई, काभ्रे

चौलागाईले तत्कालिन माओवादी केन्द्रको तर्फबाट नेतृत्वको अवसर पाएकी हुन् । जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा सक्रिय रुकु तत्कालिन माओवादी केन्द्र काभ्रेको जिल्ला संयोजक थिइन् ।

तत्कालिन माओवादीको पूर्वी कमाण्डका ईञ्चार्ज यानप्रसाद गौतम (आलोक) को साली रुकु पार्टीको कारबाहीमा समेत परेकी थिइन्। आलोकको निर्देशनमा माओवादी कार्यकर्ता रमेश ढुङ्गेलको हत्या भएको खुलेपछि आलोकसंगै उनलाई पनि कारबाही गरिएको थियो।  तर, आलोकको ०५९ बैशाखमा रोल्पामा सैन्य कार्वाहीमा मारिए । त्यसपछि रुकुले राजनीतिबाट बिश्राम लिएकी थिइन्। काठमाडौँमा तरकारी पसल समेत गरेकी उनी माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि पार्टी राजनीतिमा फर्केकी थिइन् ।

माओवादी विभाजन हुँदा उनी  मोहन बैद्य किरण समूहमा लागेकी थिइन् । तर, पछि फेरि गृहमन्त्री रामबहादुर थापा (बादल) सँगै माओवादीमा फर्केकी थिइन् ।

मधु अधिकारी, लमजुङ

अधिकारी पूर्व माओवादी केन्द्रको जिल्ला संयोजक हुन्।  पहिलो संविधान सभा निर्वाचनमा लमजुङ–२ बाट  उम्मेदवार बनेकी उनी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पराजित भएकी थिइन् । उनी दोस्रो निर्वाचनमा समानुपातिक सूचीमा पनि परिन् तर उनलाई भाग्यले साथ् दिएन  । गण्डकी प्रदेशको प्रदेश सभा सदस्य  समेत रहेकी अधिकारीले जनयुद्धमा श्रीमान् आशलाल गुरुङलाई गुमाएकी थिइन् । (केन्द्रबिन्दु)

शुक्रबार, वैशाख १३, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*