नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

बागलुङ, ९ चैत ।

बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। पाँच सय ६७ मिटर लामो उक्त पुल निर्माणका लागि शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन्।

करिब डेढ दशक अघिदेखि निर्माणका लागि चर्चामा रहँदै आएको पुलले अबको दुई वर्षमा मूर्त रुप पाउनेछ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरि निर्माण थालिएको झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ। पुल करिब साढे २५ मिटर झोलुङ्गो हुने स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए।

तीन सय ६५ मिटर भन्दा लामो पुलको लठा तान्ने मेसिन नेपालमा नभएका कारण पुलको काम पहिले नै सुरु हुन नसकेको श्रेष्ठको भनाई छ। ‘यो पुल हामीसंग भएको प्रविधि भन्दा लामो भएका कारण बन्न सकेको थिएन, अहिले चीनबाट लामो लठा तान्न सक्ने मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ,’ उनले भने। यो पुलको लाइफलाइन ५० वर्षको हुने छ। पुल निर्माणका लागि आवश्यक लठा र बुलडोजर विभागले उपलब्ध गराउने छ। लठा बाहेक १० करोड ५६ लाख स्टीमेट भएकोमा निर्माण कम्पनी थानी/विएलटि/हिमशिखर जेभीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

निर्माणका क्रममा बीचमा कतै अवरोध नभएमा २०७७ असार मसान्तसम्म सम्पन्न गरिने निर्माण कम्पनी हिमशिखर कन्ट्रक्सनका नरहरि खड्काले जानकारी दिए। ‘हामीले दुई वर्षमा पूरा गर्ने ठेक्का सम्झौता गरेका छौं,’ उनले भने, ‘बिना अवरोध सरासर काम गर्न पायौं भने ७७ को असार मसान्त भित्र सकिन्छ।’ बागलुङ बजारबाट पाङ पुग्न पैदल मार्ग मार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिनेछ। कालीगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोर माथि पुल बन्ने भएकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

दक्षिण एसियाकै लामो भनेर दाबी गरिएको उक्त पुलको शिलान्यास गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भौतिक पूर्वाधारको निर्माणलाई आर्थिक समृद्धिसंग जोड्न आग्रह गरे। ‘हामीले आज करौडौं खर्च गरेर आज नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्ने क्रममा अगाडी बढेका छौं,’ उनले भने, ‘हामीले निर्माण गरेको भौतिक संरचनाले हामीलाई आफ्नो आर्थिक विकासका लागि सघाउनुपर्छ। हामीले त्यो अनुसार यो संरचनालाई प्रयोग गर्न सकेनौं भने ठूलो भौतिक पूर्वाधारले मात्र हामीलाई केही दिँदैन।’

उनले पुललाई बागलुङ पर्वत वारपारका लागि मात्रै नभई आफ्नो जीवन स्तर सधार्न उपयोग गर्न आग्रह गरे। ‘पाङबाट बागलुङ आउनेले समान लैजाने मात्रै होईन, त्यहाँबाट यहाँ ल्याएर व्यापार गर्ने बारेमा सोचेनौं भने हामी अगाडी जान सक्दैनौं,’ उनले भने, ‘हामीले यहाँ पुल बनाएपछि हेर्न आउने विभीन्न ठाउँका पर्यटकलाई यहाँ भुलाउने वाताबरणको सिर्जना हामीले गर्नुपर्छ। हेर्न आउनेलाई खाजा खानका लागि काँडेतिरै जाउ भन्न्ने अवस्था रहिरह्यो भने यहाँको विकास सम्भव छैन। हामीले यहाँ आएकाले फालेको रित्ता बोतल र प्लाष्टिक टिप्नका लागि पुल बनाउन लागेका होइनौं।’ आफूलाई सम्पन्न बनाउनका लागि आफैले मेहनत गर्नुपर्ने बताए।

‘बाटो चिल्लो मात्रै बनेर हुँदैन, अर्कैको गाडीले धुलो उडाएर जान्छ, पुल बनाए पनि फोहोर मात्रै टिप्नुपर्छ। हामीले हाम्रो सम्भावनाको उजागर गरेर त्यसलाई बाहिर लगेर विक्री गर्न सक्यौं भने मात्रै हाम्रो विकास सम्भव छ,’ उनले भने। भौतिक संरचनाहरु शोखका लागि होइन समृद्धिका लागि हुनुपर्ने उनको भनाई छ।

‘हामी हिँड्नका लागि सजिलो हुन्छ भनेर मात्रै पुल निर्माण गर्ने होइन,’ उनी भन्छन्, ‘यो पुल बन्दा यो बाटो बन्द यति जनालाई रोजगारी सिर्जना गर्छौं भन्ने तरिकाले अब प्रस्तावहरु आउनुपर्छ।’ बहुदल आएपछि राजनीतिक रुपमा निकै पछि परेका कारण धौलागिरिको विकासले तिब्रता नपाएको उनले बताए। सबैको साझा प्रयासबाट देशको ध्यान खिच्नेगरी पुल निर्माण सुरु भएको उनको भनाई छ।

अहिलेको सरकारले पाँच वर्षमा जनताले अनुभूति गर्नेगरी विकास गर्ने उल्लेख गरे। ‘विगतका सरकारहरु सय मिटरको दौडमा थिए, अहिलेको सरकार म्याराथन दौडमा छ,’ उनले भने, ‘अहिलेको सरकारले पाँच वर्षमा परिणाम दिने हो। अहिले नै आत्तिहाल्ने अवस्था छैन।’ उनले सबैलाई उद्यमी बन्न प्रेरित गर्न सके मात्र देशको समृद्धि हुने बताए। ‘नेपालमा पानीका लागि युरोपबाट बोतल आउँछ भन्ने कुरा निकै चिन्ता जनक छ,’ उनले भने, ‘अब नागरिकहरु उद्यमशीलतामा जानुपर्छ। सरकारले सहयोग गर्ने हो, आफ्नो आर्थिक विकासका लागि जनताले आफ्नो क्षेत्रबाट उद्यमी बन्ने माध्यम अपनाउनुपर्छ।’

कालिगण्डकी बहुउद्देश्यीय परियोजनाको अध्ययन सुरु भएकाले त्यसको निर्माणसंगै धौलागिरिको कायाकल्प हुने उनको तर्क छ। कार्यक्रममा गण्डकी प्रदेश संसदका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री विकास लम्सालले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।

कार्यक्रममा संघीय सांसदहरु देबेन्द्र पौडेल, डा. सूर्य पाठक, पदम गिरी, प्रदेश सांसद ईन्द्रलाल सापकोटा, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले यहाँको विकासका लागि बजेट विनियोजनका पहल गर्ने प्रतिवद्धता जनाए। संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले अबको दुई वर्षभित्र झोलुङ्गे पुल निर्माणका लागि बजेटको कुनै कमि हुन नदिने बताए। पुलको निर्माण भएपछि बागलुङको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाको विश्वास छ।- संगम घर्तीमगर/नागरिकन्युज

…………………..

यसैगरी नयाँ पत्रिका दैनिकमा जिल्ला बयुरोको रिपोर्टका रूपमा शनिबार चैत ९ मै प्रकाशित सामग्रीमा पुलहरूसम्बन्ी विस्तृत विवरण दिइएको छ । यसअनुसार,

भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार देशभर २२०८ पक्की पुल छन् । थप १२५० पक्की पुल निर्माणाधीन छन् । त्यस्तै, देशभर ७०४८ झोलुंगे पुल छन् । १३८ झोलुंगे पुल निर्माणाधीन छन् । सञ्चालनमा रहेका केही पक्की र झोलुंगे पुल सहज यात्राका लागि मात्रै प्रयोगमा छैनन्, आकर्षक पर्यटकीय गन्तव्य पनि बनेका छन् । एउटै पिलरमा अडिएको कर्णाली पुल होस् वा कञ्चनपुरको महाकाली नदीमाथि बनेको झोलुंगे पुल, पर्वत–बाग्लुङ जोड्ने देशकै उचाइमा बनेको कुस्मा–बलेवा झोलुंगे पुलदेखि म्याग्दी रघुगंगाको लामो झोलुंगे पुलसम्मले पर्यटक लोभ्याएका छन् । जिल्ला ब्युरोले तयार गरेको रिपोर्ट :

म्याग्दीमा देशकै लामो झोलुंगे पुल

म्याग्दीको रघुगंगा गाउँपालिका–१ का वेग र बाँदुक गाउँ जोड्ने यो पुल नेपालकै लामो झोलुंगे पुल हो । दुवैतर्फ अग्ला पहाडमा जोडेर बनाइएको पुल ३६५.८० मिटर लामो छ भने उचाइ १४८ मिटर छ । बाँदुक र वेग गाउँ वारपार गर्न ३ घन्टा समय लाग्थ्यो । तर, पुल बनेपछि यात्रा ३० मिनेटमा छोटिएको छ ।

गत वर्ष ३ करोड ३२ लाख लागतमा निर्माण सम्पन्न भएको पुल अहिले पर्यटकको चहलपहल केन्द्रसमेत बनेको छ । ‘शनिबार त भिडभाड निकै हुन्छ, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधि घुम्न र पिकनिकका लागि आउँछन्,’ वडाध्यक्ष बिलबहादुर फगामी भन्छन्, ‘बेनी–जोमसोम हुँदै मुस्ताङ जाने विदेशी पर्यटक पनि यहाँ आउने गर्छन् ।’ वेगखोलादेखि करिब २० मिनेटको सवारी यात्रामा पुलसम्म पुग्न सकिन्छ ।

पर्यटक आवागमन बढेपछि वेगतर्फ पुलनजिकै खाना र खाजाका होटेल पनि खुलिसकेका छन् । पुलदेखि वेगको देउराली जोड्न गाउँपालिका र वडा कार्यालयले स्तरीय पदमार्ग निर्माण गरेका छन् । पुल परिसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा आकर्षक बगैँचा निर्माण प्रक्रिया सुरु गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अग्लो पुललाई पर्यटनसँग जोड्न भुरुङ, तातोपानी, दोवा, बाँदुक, वेग हुँदै धौलागिरि आइसफल पदमार्गले समेटिएको पर्यटकीय रुइसे पुग्ने पदमार्गसमेत परिकल्पना गरिएको छ ।

पर्वतमा देशकै अग्लो झोलुंगे पुल
पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने यो झोलुंगे पुल देशकै अग्लो पुल हो । १ सय ६६ मिटर अग्लो पुलले पर्वतको चिनारी मात्रै फैलाएको छैन, यहाँ आइपुग्ने पर्यटकलाई मोहित पार्ने गरेको छ । कालीगण्डकी नदीमाथि स्थानीयलाई सहज आवतजावतका लागि पुल बनेको हो । देशकै अग्लो पुलका रूपमा चर्चा पाएपछि पर्यटक पनि तानेको छ । २ फागुन ०७१ बाट सञ्चालनमा आएको पुल ३४७ मिटर लामो छ ।

मुस्ताङको धार्मिकस्थल मुक्तिनाथसम्म पर्वतबाटै जाने भएकाले कतिपय पर्यटक अग्लो पुलसम्म आउने गरेको पुल निर्माण समितिका अध्यक्ष मीनप्रसाद श्रेष्ठ बताउँछन् । ‘चैत–वैशाख र विभिन्न चाडपर्वमा त पुलमा लाग्ने भिड व्यवस्थापन गर्न प्रहरीकै सहयोग लिनुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी घुमेर फर्किएका नवलपरासीका विशाल खतिवडाको परिवार शुक्रबार अग्लो झोलुंगे पुलमा रमाइरहेको थियो । ‘तस्बिरमा देखेको थिएँ, आज साँच्चिकै यात्रा गर्ने अवसर पाएँ,’ विशालले भने ।

पोखराबाट ६० किलोमिटर दूरीमा रहेको यो पुल पुग्न करिब २ घन्टा लाग्छ । कुस्माबजारबाट पुलसम्म पुग्ने सडक पनि कालोपत्रे छ । पुलको साथैमा स्थानीय व्यवसायीले बनाएको भ्युटावरले पर्यटकको यात्रालाई अझै उत्कृष्ट बनाउँछ । भ्युटावरबाट मोदी खोलाको १३५ मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुंगे पुलसमेत देखिन्छ । पुलनजिक होटेल तथा रिसोर्ट पनि सञ्चालनमा छन् ।

कैलालीमा एक पिलरमा अडिएको कर्णाली पुल
कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको यो पुल देशकै एक मात्र यस्तो पक्की पुल हो, जुन एउटै पिलरमा अडेको छ । कैलाली र बर्दिया जोड्ने यो पुलको बीचमा ठूलो खम्बा छ । खम्बामा स्टिलका लठ्ठा जोडेर पुल अड्याइएको छ । पुलको सौन्दर्य नै यही हो ।

चुरेको फेदीमा कर्णाली नदी बग्दै गरेको रमणीय स्थल र नदीमाथिको आकर्षक पुलले चिसापानी पुग्ने जोकोहीलाई रोकिन बाध्य पार्छ । बिहानपख पुग्ने पर्यटकले चिसापानीमा अनवरत चल्ने हावाको झोक्काको स्पर्श लिन पाउँछन् । चिसापानीको माछा खाएपछि पर्यटक अझ मोहित हुन्छन् । कर्णाली नदीमा ¥याफ्टिङको सुविधा पनि छ, तर नियमित हुन सकेको छैन । विश्व बैंकको सहयोगमा जापानी कावासाकी कम्पनीले ०५० मा पुल निर्माण सम्पन्न गरेको हो । ५ सय मिटर लामो र ११.२ मिटर चौडा पुलमा गाडी गुड्ने र पैदलयात्री हिँड्ने छुट्टाछुट्टै लेन छ ।

बर्दियामा देशकै लामो पक्की पुल

अत्यधिक धान फल्ने बर्दियाको राजापुरलाई अन्नभण्डारका रूपमा चिनिन्छ । यही क्षेत्र जोड्न कोठियाघाटस्थित कर्णाली (गेरुवा) नदीमाथि ८ असोज ०७१ मा पक्की पुल तयार भयो । १०१५ मिटरको यो देशकै लामो पक्की पुल हो । पुलले राजापुर क्षेत्रका नागरिकको जीवनयापन त सहज बनाएकै छ, बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकको मन पनि तानेको छ । पुल हेर्न आउनेको संख्या बढ्दै गएको मधुवन नगरपालिका–३ कोठियाघाटका विष्णु लामिछाने बताउँछन् । त्यसैले पुलआसपासमा होटेल व्यवसाय पनि फस्टाउन थालेको छ । पुल क्षेत्रमा असोजदेखि फागुनसम्म वनभोज खान आउनेको भिडसमेत लाग्छ ।

स्वदेशकै लगानी र प्राविधिकबाट प्रिस्ट्रेस बक्स ग्रिडर प्रविधिमा बनेको पुलमा २० पिलर छन् । एक अर्ब लागतमा निर्माण भएको पुल तोकिएको अवधिभन्दा १० महिनाअघि नै सकिएको थियो ।

कञ्चनपुरमा झोलुंगैझोलुंगाको पुल

कञ्चनपुरको महाकाली नदीमाथिको दोधारा–चाँदनी झोलुंगे पुल एसियाकै लामोमध्येको एक हो । महाकालीपारि दोधारा–चाँदनीका जनतालाई जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्न पुल बनाइएको हो । तर, पुल निर्माणले नेपाली नागरिकलाई आफ्नै भूमिमा आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता मात्रै हटेको छैन, जिल्लाकै पर्यटकीय केन्द्र बनेको छ ।

मल्टि सस्पेन्सन पुल भएकाले यो निकै आकर्षक छ । आँखाले भेटुन्जेलसम्म देखिने १४९६ मिटर लामो पुलमा बसेर महाकाली नदीको बगाइमा धेरै पर्यटक रामाउँछन् । सूर्योदय र सूर्यस्थका वेला पुल क्षेत्रमा मनमोहक दृश्य देखिन्छन् । छेवैमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमेर फर्किएका पर्यटक पुलमा रमाउँछन् । ८ ठूला र ३ साना पिलर रहेको पुल ०५७ मा निर्माण सुरु भई ०६१ मा ९ करोड ८५ लाख लागतमा सम्पन्न भएको हो । महेन्द्रनगरदेखि ८ किमि दूरीमा रहेको पुलसम्म पुग्न सवारीसाधन उपलब्ध हुने भएकाले पर्यटकलाई झन् सजिलो भएको छ । पुलछेवैमा होटेल सञ्चालन गरेको दिलबहादुर सिंहले भने, ‘पुल बनेपछि देश–विदेशका पर्यटक आएका छन् । दैनिक पाँच सयजति पर्यटक आउँछन् ।’

उद्घाटन नै नभएको पुलबाट स्थानीयलाई फाइदा
पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने नारायणी पुल बनेपछि स्थानीयलाई आर्थिक फाइदा भएको छ । धार्मिक पर्यटकीय क्षेत्र देवघाट जोड्ने एक मात्र पक्की पुल दुई वर्षअघि १५ करोड ८१ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।

यो पुलले देवघाटसम्म सहज यातायात पहुँच त बढाएको छ नै, पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । पुल बनेपछि गण्डकी प्रदेशको राजधानी पोखरा र सदरमुकाम दमौली जान सजिलो भएको छ । १७६.५ मिटरको आकर्षक पुल अवलोकन गर्न दैनिक दर्जनौँ मानिस आउने स्थानीय पञ्चबहादुर आलेले बताए । पुलमा यात्रुले फोटो खिचाउँछन् । चलचित्र छायांकन पनि बढेको छ । पुलवरपर होटेल खुल्न थालेका छन् । यद्यपि, पुलको अहिलेसम्म औपचारिक उद्घाटन नै गरिएको छैन ।

चतरा पुल : कोसी ब्यारेजको विकल्प

केही वर्षअघिसम्म उदयपुर–सुनसरी वारिपारि गर्न बाँसको नाउमा जोखिम मोलेर सप्तकोसी तर्नुपथ्र्यो । उदयपुरको रामपुरबाट धरान २२ किमि टाढा छ । तर, किनमेल र उपचारका लागि त्यहाँ पुग्न फत्तेपुर, कञ्चनपुर, इटहरी हुँदै १४० किमि यात्रा गर्नुपथ्र्यो । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरा पुल बनेपछि यातायातमा मात्र होइन, स्थानीयलाई अर्थोपार्जनमा पनि सहयोग पुगेको छ ।

३ अगस्त २०१५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट धरानलगायत पूर्व क्षेत्रमा जाने छोटो र वैकल्पिक बाटो पनि खुलेको छ । मदन भण्डारी पूर्व–पश्चिम राजमार्गमा बनेको यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । २००८ मा सप्तकोसीको बाढीले ब्यारेजमा असर गरेपछि त्यसको विकल्पमा यो पुल बनाइएको थियो । ७६ करोड ११ लाख लागतमा बनेको पुलमा एडिबीले ६० प्रतिशत अनुदान दिएको थियो । कालिका कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको पुल सन् २०११ मा बनाउन सुरु गरिएको थियो । २६१.३ मिटर लामो र ८ मिटर चौडा पुल बनाउन पाँच वर्ष लागेको थियो । कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकै स्तरीय प्रविधिअनुसार पुल बनाएको बताए ।

पुलको पिलर राख्न पानीमुनि २० मिटर खनिएको छ । त्यसका लागि कम्पनीले क्यानडाबाट २० करोड लागतमा डबल रोटरी मेसिन ल्याएको थियो । तर, चतरा पुलपछि त्यसको कुनै प्रयोग नभएको गुरुङले जानकारी दिए ।

धरान, विराटनगर, इटहरीजस्ता सहरबाट दैनिक ५०–६० जनासम्म पुल हेर्नकै लागि मात्र आउने स्थानीय शरद कोइरालाले जानकारी दिए । पूर्व–पश्चिम हिँड्नेहरू पनि १५–२० मिनेटसम्म सवारी रोकेर फोटो खिच्ने गर्छन् ।

पुलले आर्थिक चहलपहल बढाएको छ । बिघाको एक लाख पर्ने जग्गा अहिले रोपनीकै ५ लाखसम्म पर्न थालेको छ । पूर्वी पहाडी जिल्लाका कृषिउपजको प्रमुख बजार धरानसहित इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न सहरमा समेत उत्पादन पुर्‍याउन सहज भएको छ ।

भोटेकोसी बन्जी पुल
सिन्धुपाल्चोकको भोटेकोसीमा रहेको १६० मिटर अग्लो पुल बन्जीजम्पका लागि प्रख्यात छ । यो पुल अन्य पुलको तुलनामा चार गुणा बढी सुरक्षित हुने गरी डिजाइन र निर्माण गरिएको छ । सन् १९९९ निर्माण भएको १६६ मिटर लामो पुलले साढे ४ टन तौल धान्न सक्छ । यो पुलबाट वार्षिक ८ हजार बन्जी गर्छन् ।

सबैभन्दा लामो झोलुंगे पुल शिलान्यास
बाग्लुङको बांगेचौर र पर्वतको अदुवाबारी पाङ जोड्न ‘सिंगल स्पान’को सबैभन्दा लामो झोलुंगो पुल बन्दै छ । ५६७ मिटर लामो पुल निर्माण गर्न लागिएको हो । शुक्रबार मात्रै यो पुल शिलान्यास भएको छ । १२ करोडमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

शनिबार, चैत ९, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*