नेपालमा थप १४ जना कोरोना संक्रमित, संक्रमित संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।

संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनमा आमाछोरा संक्रमित

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । उनीहरु राप्ती नगरपालिका–८ का आमाछोरा हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि नभएको  अनलाइनखबरले जनाएको छ ।

बहराइनमा एकैदिन २७ नेपाली संक्रमित

यसैबीच  कान्तिपुर दैनिकले जनाएअनुसार, बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन।

त्यस्तै शुक्रबार यूएईमा ६ र कुवेतमा थप एक नेपाली संक्रमित भएको पुष्टि भएको छ।

शुक्रबार, ५ वैशाख २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*