नेपालमा पहिलोपटक बेलायतबाट महिला राजदूत

संवाददाता 

काठमाडौं । नेपालको सबैभन्दा पुरानो मित्र राष्ट्र बेलायतले पहिलोपटक नेपालमा महिला राजदूत पठाएको छ। नवनियुक्त बेलायती राजदूत निकोल क्याथरिन पोलिटले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदको प्रमाणपत्र बुझाएकी हुन्।

राजदूत पोलिटले बेलायतबाट पहिलो महिला राजदूतका रूपमा आउन पाएकोमा खुसी महसुस भएको धारणा नेपालीमै ट्विट गर्दै उल्लेख गरेकी छन। महिला राष्ट्रप्रमुख भएको मुलुकबाट महिला राजदूत भएर महिला राष्ट्र राष्ट्रप्रमुख भएकै मुलुकमा उनी दुईपक्षीय सम्बन्ध बलियो बनाउन आएकी छन्। फरक यत्ति छ, पोलिट संवैधानिक राजतन्त्र रहेको मुलुकबाट गणतान्त्रिक मुलुकमा राजदूतका रूपमा आएकी छन्। राजदूत रिचर्ड मोरिसले आफ्नो कार्यकाल सकेपछि उनी नेपाल आएकी हुन्। पोलिटसँगै बुधबार इराक, इस्टोनिया र लेबनानका गैरआवासीय राजदूतले पनि ओहोदाको प्रमाणपत्र बुझाए।

अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रशेखर अधिकारी लेख्छन्–  नेपालमा अहिले महिला राजदूतको संख्या बढ्दो छ। क्यारोल सी लेस नेपालका लागि पहिलो विदेशी महिला राजदूत हुन्। उनी सन् १९६६ मा अमेरिकी राजदूतका रूपमा नेपाल आएकी थिइन्। उनको विवाह नेपालमै भएको थियो। उनका पतिलाई नेपाल आउन अमेरिकाले विशेष विमानको व्यवस्था गरिदिएको थियो।

नेपाल-बेलायत सम्बन्ध दुई सय वर्षभन्दा पुरानो छ। बेलायतसँग नेपाल लड्यो र सम्बन्ध पनि राख्यो। बेलायती महारानीले नेपालको दुईपटक भ्रमण गरिन् भने त्यहाँका राजपरिवारका सदस्य पनि पटकपटक आए। तर बेलायतबाट नेपालमा अहिलेसम्म प्रधानमन्त्री स्तरको भ्रमण हुन सकेको छैन।

उदाउँदो शक्ति मुलुक चीनले सन् २०१६ मा पहिलो पटक नेपालमा महिला राजदूत पठायो। चीनबाट २० औं राजदूतका रूपमा यू होङ नेपाल आउँदा काठमाडौंमा विदेशी महिला राजदूतको संख्या आठ थियो। उनीपछि पनि चीनले नेपालमा महिला राजदूत होउ यान्छी पठाएको छ। राजदूत हाउको सक्रियता र यहाँ दिइएको महŒवले पनि बेलायतले महिला राजदूत पठाएको हुनसक्ने अनुमान अधिकारीहरूको छ। यसअघि अमेरिकाबाट पनि नेपालमा महिला राजदूत अलैना बी टेप्लिट्ज थिइन्। टेप्लिट्जलाई देखेर नै चीनले होङलाई नेपाल पठाएको आँकलन त्यतिबेला गरिएको थियो।

नेपालमा यतिबेला युरोपियन युनियन (ईयू), राष्ट्रसंघ आवासीय प्रतिनिधि, स्विजरल्यान्ड, श्रीलंका, बंगलादेश, इजिप्ट र ब्राजिलका राजदूत महिला छन्। थाइल्यान्डको चार्ज डी अफेर्यस पनि महिला नै छिन।

फिनल्यान्ड, डेनमार्क (हाल दूतावास बन्द), जर्मनी, थाइल्यान्ड र श्रीलंकाले यसअघि पनि महिला राजदूत पठाएका थिए। पूर्वपरराष्ट्र सचिव डा. मदन भट्टराई महिला राजदूतको संख्या बढिरहेकाले खुसी व्यक्त गरे। नेपालबाट विदेशमा राजदूत भएर जाने महिलाको संख्या भने खासै बढ्न सकेको छैन।

नेपालबाट अहिलेसम्म करिअरबाट तीन जना विन्देश्वरी शाह, भारत (२०४५-०४६), अम्बिका लुइँटेल फ्रान्स (२०७१-०७५) र पाकिस्तानमा सेवा लम्साल (हाल कार्यरत) नियुक्त भए। राजनीतिक नियुक्तिमा गएका महिला राजदूतद्वय मायाकुमारी शर्मा (कतार) र लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेर कार्यकाल नसक्दै फर्कनु प¥यो। गुणलक्ष्मी विश्वकर्माले बर्मामा कार्यकाल पूरा गरिन्। हाल ओमानमा शर्मिला पराजुली (कार्यकाल पुरागर्ने चरणमा), जापानमा प्रतिभा राणा (दुई वर्ष बाँकी), इजरायलमा अञ्जान शाक्य र स्पेनमा आङफुटी शेर्पा राजदूत छन्। राणा गएको दुई वर्ष पुग्यो। अञ्जान गएको एक वर्ष पुग्दै छ। आङफुटी गएको एक महिना मात्र भयो।

पछिल्लो समय परराष्ट्र सेवामा महिला प्रवेशी बढेकाले पनि महिला राजदूत बढ्ने विश्वास गरिएको छ। तर, अहिले परराष्ट्र सेवामा सहसचिव स्तर (सेवा लम्साल) बाहेक महिला कोही पनि छैनन्। (अन्नपूर्ण पोस्टबाट साभार)

बुधबार, १८ मंसिर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*