नेपाली खेलाडी ठकुरीद्वारा तेस्रो विश्व कीर्तिमान कायम

खेल संवाददाता
भर्जिनिया, २० डिसेम्बर।

नेपाली कराते खेलाडी उज्जवल शर्मा ठकुरीले तेस्रोपटक गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो दर्ता गरेका छन् । ठकुरीले तेस्रो विश्व रेकर्डका रूपमा अमेरिकी राज्य ओहायोको टोलेडो सहरमा आयोजित एक कार्यक्रममा ‘एउटै खुट्टाले तीन मिनेटमा २२६ पटक घुँडा प्रहार’ (The most full contact knee strikes -226- in three minutes by one leg) प्रहार गरेका हुन् ।

उनले यो रेकर्ड गत महिना नोभेम्बर ३ मा कायम गरेका हुन् । यो रेकर्ड कायम गर्दा उनले खुट्टामा एक किलोग्राम वजन बाँधेर घुँडा प्रहार गरेका थिए भने सोही क्रममा उनले त्यसअघि भारतका ग्रान्डमास्टर जयनाथ रेड्डीले कायम गरेको एक मिनेटमा ११६ पटक घुँडा प्रहार गरी कायम गरेको रेकर्ड पनि भंग गरेका थिए ।

स्मरणीय छ, यसअघि उज्जवल ठकुरीले अगिल्लो वर्ष सन् २०१७ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दुईवटा रेकर्ड दर्ता गराएका थिए । पहिलो रेकर्ड उनले सेप्टेम्बर २३ मा पुरुषतर्फको ‘भ्यान ड्याम लिफ्ट’मा ६३.४९ किलोग्राम (१३९.९७ पाउन्ड) तौल उठाएर कायम गरेका थिए । त्यो बेला उनले त्यसअघि अमेरिकी रेस्लर रब भ्यान ड्यामले कायम गरेको १०० पाउन्ड वजनको रेकर्ड भंग गरेका थिए ।

 

Ujjwal thakuri 1

 

भ्यान ड्याम लिफ्ट भनेको खुट्टा फट्याएर (करातेको भाषामा फाङ गरेर) दाँतले वजन उठाउने हो । वजन थप्नका लागि केही बढी वजनको ज्याकेट पनि लगाउन सकिन्छ ।

दोस्रो विश्व रेकर्डका रूपमा ठकुरीले आफ्नो यही रेकर्डमा सुधार गर्दै नोभेम्बर ४ मा ओहायोको टोलेडो सहरमा आयोजित कार्यक्रममा त्यसलाई ६४.६३ किलोग्राम (१४२.४८ पाउन्ड) पु¥याएका थिए ।

काठमाडौंको शंखमूलनिवासी ४३ वर्षीय उज्जवल ठकुरीले केन्द्रीय सितोरियो प्रशिक्षण केन्द्र त्रिपुरेश्वरबाट ब्ल्याकबेल्ट हासिल गरेका हुन् । पछि सन् २००२ देखि अमेरिका बस्न थालेपछि उनले २००८ देखि अमेरिकन मेरिन डोजोमा गोजु कराते सिक्न थाले र त्यहीँबाट नोभेम्बर २०१८ मा ब्ल्याकबेल्ट छैटौं डान प्राप्त गर्न सफल भए । आफूले फाङ गरेर ‘तेन्सो काता’ प्रदर्शन गरेकोलाई उनी नेपाली खेलाडीको विशिष्ट मौलिकपन भएको दावी गर्छन् ।

अमेरिकामा गोजु गुरु ग्रान्डमास्टर गेरी क्लच (९डान) र वरिष्ठ नेपाली तेक्वानदो गुरु कृष्ण बलालबाट अत्यधिक प्रभावित रहेको बताउने उज्जवल हाल श्रीमती प्रियंका नेपाल र छोरी एलिजाबेथ ठकुरीसहित भर्जिनियाको स्प्रिङफिल्डमा बसोबास गर्छन् ।

अमेरिकामा मार्सल आटर््स खेलेरै उज्जवलले केही स्वर्ण र रजत पदक, गोल्ड कप, स्पेसल डेमो वल्र्ड च्याम्पियनसिप बेल्ट, लिजेन्ड अवार्ड, इगल अवार्डसमेत अनेक पुरस्कार प्राप्त गरिसकेका छन् ।

तीनपटक गिनिज बुकमा नाम आइसकेपछि उत्साहित देखिएका ठकुरी गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दर्जनभन्दा बढी रेकर्ड दर्ता गराएर नेपाल र नेपालीको नाम उच्च पार्ने चाहना रहेको बताउँछन् । यस क्रममा उनी टाउकोमाथि सामान राखेर किक हानेर झर्ने गर्दै जाने रेकर्ड भंग गर्ने लक्ष्यसाथ प्रशिक्षणमा लागेका छन् । यसैगरी पाँच किलो वजन गोलीगाँठामा बोकेर घुँडा प्रहार (नी स्ट्राइक) गर्ने रेकर्ड कायम गर्ने पनि सोचाइमा उनी छन् ।

तर हाललाई भने उनी तेस्रो रेकर्ड दर्ता गरेको केही महिना नबित्दै चाँडै नै चौथो विश्व रेकर्ड कायम गर्ने तयारीमा जुटेको बताउँछन् ।

बिहीबार ५ पुस २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*