नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

टिमुरमा अनुसन्धान गर्ने नेपाली वैज्ञानिक

काठमाडौं ।  नेपालीहरूले आम रूपले अचारमा प्रयोग गर्ने टिमुरमा अनुसन्धान गर्दै आएका एक जना नेपाली वैज्ञानिकले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभलपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको अत्ताहुर रहमान पुरस्कार त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक डा अच्युत अधिकारीले पाएका हुन् ।

अधिकारीले विशेष गरी आयुर्वेदमा प्रयोग भएका जटिबुटीहरुबाट औषधिजन्य रसायन निकाल्ने अनुसन्धान गर्दै आइरहेका छन्। उनले नेपाली टिमुरमा विगत ६ वर्षदेखि अनुसन्धान गर्दै आएका छन्। टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धि र झाडापखलामामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायन बनाउन सकिने उनले पत्ता लगाएका हुन्।

अधिकारी भन्छन्, ‘नेपाली टिमुरको औषधीय गुणहरु हुन्छ भनेर आयुर्वेदमा उल्लेख छ। मैले गरेको अनुसन्धान टिमुरमा कुन रसायन हुन्छ जसले रोगहरु निको पार्न मद्दत गर्छ भन्ने हो। ’ उनको अनुसन्धानले नेपाली टिमुरमा धेरै ‘टम्बुलिन’ पाइन्छ भन्ने प्रमाणित गरेको छ। उनको अनुसन्धानको निष्कर्शलाई आधार मानेर फ्रान्सको एउटा विश्वविद्यालयमा सुँगुरको मुटुको रक्ताचाप सम्बन्धिको अनुसन्धान गरेको थियो। यस्तै, पाकिस्तानमा मधुमेह रोग सम्बन्धी पनि अध्ययन भइरहेको अनुसन्धानकर्ता अधिकारीले बताए।

अहिले उनले टिमुरमा हुने कुन तत्वका कारण लेक लाग्नबाट जोगिने भन्ने बारे अनुसन्धान गरिरहेका छन्। उनले भने,‘टिमुरले लेक लाग्नबाट जोगाउँछ। अहिले अन्य वैज्ञानिकहरुसँग मिलेर टिमुरमा त्यस्तो कुन रसायन हुन्छ जसका कारण लेक लाग्नबाट जेगिन्छ भन्नेबारे अनुसन्धान गर्दैछु।’

अधिकारीले अहिले अदुवाबाट तेल निकाल्ने प्रविधिमा अनुसन्धान गरिरहेका छन्। विश्वको ठूलो अदुवा निर्यातकर्ता मुलुक नेपाल भए पनि नेपाली अदुवाले बजार भाउ नपाइरहेको बेला अदुवाबाट तेल निकालेर अन्य मुलुकहरुमा निर्यात गर्न सकिने उनले बताए। उनले भने, ‘नेपालमा उत्पादन भएको अदुवा भारतमा मात्रै निकासी हुन्छ। भारतमा अदुवा नबिकेर त्यतिकै कुहिन्छ। अब अदुवाबाट तेल निकाल्न सकिन्छ। सय किलो अदुवाबाट ३ किलो तेल आउँछ। ३ किलो अदुवाको तेलको मूल्य सय किलो अदुवाकोभन्दा धेरै मूल्य हुन्छ। नेपाली अदुवालाई विश्वमा प्रवर्द्धन गर्न सकिन्छ।’ हाल उनले विभिन्न जिल्लाको अदुवाको तेल र केमिकल प्रोफाइलिङ गरिरहेका छन्।

अधिकारीलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट) ले यस वर्षको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेको थियो। (कान्तिपुर दैनिकबाट साभार)

बुधबार, पुस ९, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*