नेपाल आइडलका चारजनाले बेलायतमा कन्सर्ट गर्ने

बायाँबाट क्रमशः प्रताप दास, प्रमिला राई, बुद्ध लामा र निशान भट्टराई

काठमाडौं, ११ असोज ।

नेपाल आइडलका कलाकारहरूले आगामी कार्तिक १७ गते देखि बेलायतका विभिन्न सहरमा सांगीतिक प्रस्तुतति (कन्सर्ट) गर्ने भएका छन् ।

पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा, नेपाल आइडलका पहिलो उप–विजेता निशान भट्टराई, आइडलमा तेस्रो स्थान प्राप्त गर्न सफल प्रताप दास र टप टेनभित्र परेकी प्रमिला राईले बेलायतका विभिन्न चार शरहमा प्रस्तुति दिने भएका छन् ।

संसार ग्रुपको १० औं वार्षिकोत्सवका अवसरमा हुन लागेको यो कार्यक्रम आगामी नोभेम्बर ३ देखि १२ तारिखसम्म चल्ने छ ।

स्मरणीय छ, कतारमा गत असोज ५ गते साँझ सम्पन्न नेपाल आइडलको ग्राण्ड फिनालेवाट बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका थिए ।

एसएमएस र एप भोटिङको आधारमा ग्राण्ड फिनालेमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामाबीच अन्तिम भोटिङ प्रतिस्पर्धा भएको थियो । नेपालका विभिन्न सहरमा ६ महिनाअघिदेखि अडिसन भएर नेपाल आइडल सुरु भएको थियो । त्यसबाट विभिन्न चरण पार गराउदैं टप १८ मा नयाँ प्रतिभाका गायक–गायिकाहरूलाई प्रस्तुत गरिएको थियो । संगीतकार न्ह्यू बज्राचार्य, कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले प्रारम्भिक चरण देखि गायक–गायिकाहरूको छनोट गर्दै ल्याएका थिए ।

एसएमएस भोटिङ चरणमा नेपाल आइडलको प्रतिस्पर्धा चलेपछि निर्णायकहरु भन्दा दर्शकको भोटिङले महत्वपूर्ण भूमिका खेलेको थियो ।

नेपाल आइडलको ग्राण्ड फिनालेमा टप टेनमा पुगेका सबै प्रतिष्पर्धी र स्थापित केही नेपाली कलाकारले प्रस्तुति दिएका थिए । नेपालबट गएका कलाकार र प्रतियोगीलाई दोहाको कर्निसमा रहेको पाँचतारे बेष्ट होटलमा उच्च सुरक्षाका साथ राखिएको थियो ।

क्यानडामा रहेको ईभेन्ट म्यानेजमेन्टले ब्यवस्थापन हेरेको यो कार्यक्रम एपिवान टेलिभिजनले नेपाली समय अनुसार ५ गते शुक्रवार साँझ पौने ९ बजे देखि प्रत्यक्ष प्रसारण गरेको थियोे । नेपाल आइडलको उपाधि जित्नेलाई २० लाख रुपैंया नगद पुरस्कार, महिन्द्राको केयुभी र १५ लाख बराबरको भिडियो र एल्बमको कन्ट्रयाक पाउने घोषणा यसअघि नै गरिएको थियो । यसैगरी दोस्रो हुनेले १५ लाख रुपैंया र तेस्रो हुनेले १० लाख रुपैंया पाएका थिए ।

यस्तो पो आत्मियता !

कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ। ईर्ष्या अनि डाह हुन्छ। तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख साटासाट गर्छन्। सँगै हाँस्न अनि रमाउन चाहन्छन्। कतारबाट नेपाल फर्केका उनीहरू अहिले पनि एकअर्कासँग छुट्टिन चाहिरहेका छैनन्।

उनीहरूको आत्मीयता देख्दा लाग्छ, प्रतियोगिताको जितहार हुन बाँकी नै छ। अर्थात्, विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप भएको अनुभूति उनीहरूमा खासै देखिँदैन।नेपाल आइडलको फाइनलपछि पहिलोपटक अन्नपूर्ण पोस्ट्सँग कुराकानी गर्दै तीनैजनाले आआफ्नो अनुभूति साटेका छन्। ‘लगभग चार महिना सँगै बस्यौं। हामीबीच हरेक कुरा सेयर हुन्थ्यो’, नेपाल आइडल विजेता बुद्ध लामा भन्छन्, ‘अहिले पनि हाम्रो आत्मीयता उस्तै छ। हामी प्रतिस्पर्धी हौं भन्ने कहिल्यै लागेन।’

nepal ideal first 3

लगभग पाँच महिनाअघि नेपाल आइडलको अडिसन हुँदा तीनैजना सामान्य व्यक्ति थिए। परिवार, आफन्त अनि छरछिमेकमा सीमित उनीहरूको परिचय अहिले सात समुद्र पारिसम्म फैलिएको छ। नेपाल आइडलको फाइनलमा पुगेपछि उनीहरूको शान र मानको आकलन नौ करोड ३१ लाख ८३ हजार तीन सय ३५ भोट, फाइनलका लागि कतारमा ओइरिएका हजारौं दर्शक अनि उनीहरूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हजारौंको भीडबाट सजिलै गर्न सकिन्छ।

नेपालमा पहिलोपटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चचाइज सेरिज आइडलको नेपाली संस्करणले नेपाली टेलिभिजनमा क्रान्ति ल्याएको बताउनेहरूको कमी छैन। यति भव्य प्रतियोगिताको फाइनलमा पुगेका तीन युवाबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो। प्रतियोगिताका फस्ट रनरअप निशान भट्टराईको अनुभूति पनि त्यस्तै छ।

‘प्रतिस्पर्धा भनेपछि हामीमात्रै होइन, अडिसनमा सहभागी हुनेहरूको समेत चाहना जित नै हुन्छ’, निशानले भने, ‘तर हामी कसरी राम्रो प्रस्तुति दिने भनेर एकअर्कामा सल्लाह गथ्र्यौं। कोही बाहिरिँदा नमीठो लाग्थ्यो। फाइनलपछि पनि हामीबीचको आत्मीयता उस्तै छ।’ नेपाल आइडलजस्तो प्रतिष्ठित प्रतियोगितामा फस्ट रनरअप हुनु गौरवको विषय भएको निशानको भनाइ छ। ‘मैले जुन पोजिसन हासिल गरेँ, त्यसमा खुसी र सन्तुष्ट छु।’

नेपाल आइडल विजेता बुद्धलाई भाइ भनेर सम्बोधन गर्छन् सेकेन्ड रनरअप प्रताप दास। बुद्ध पनि मायाले प्रताप दाइ भन्छन्। बुद्ध र निशानबीचको मित्रता देख्दा लाग्छ, उनीहरू प्रतिस्पर्धी नभई सहोदर दाजुभाइ हुन्। ‘प्रतियोगिता सकियो तर हाम्रो यात्रा जारी छ’, प्रतापले भने, ‘यतिका समय सँगै बसेर बिताएका क्षणहरू स्मरणीय छन्। हामी अब अलग हुनु परे पनि एकअर्कालाई जरुर मिस गर्छौं।’ (अन्नपूर्ण पोस्टको सहयोगमा)

     बुधबार, असोज ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*