नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो ।

थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए।

थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

२३ मंसिर २०२५ मा भक्तपुरको कटुञ्जेमा जन्मिएका थापा पूर्वडीआईजी शम्भु थापाका छोरा हुन् । उनी संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।

प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेदेखि थापाले अधिकांश बढुवामा आफूलाई पहिलो नम्बर वरियताको अधिकृतका रुपमा उभ्याउँदै आएका थिए ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।

पूर्वडीआईजीका छोरा

आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशका दाजु कर्मचारी सञ्जय कोषमा कार्यरत छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेका हुन् ।

प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।

तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन् ।

राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् ।

सरकारले ६ कात्तिक २०७५ मा थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पियो । जहाँ उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सत्तारुढ दलका अन्य नेतासँग सुमधुर सम्बन्ध बनाउने अवसर थियो । तर, थापाले त्यतातिर ध्यान दिएनन् ।

गृह मन्त्रालयका अधिकारीहरु त्यसवेला थापाले राम्रो अवसर गुमाएको बताउँछन् । तर, राजनीतिक दलका नेतासँगै खासै अनौपचारिक सम्बन्ध नराख्ने थापाको यही स्वाभावलाई मन पराउने पनि थुप्रै छन् ।

उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् ।

प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि उनी बोस्निया, इस्ट टिमोर र डार्फर (सुडान) गएका छन् ।

निवर्तमान आईजीपी ज्ञवालीजस्तै थापा पनि संगठनमा रहँदा त्यति धेरै चर्चामा आएका अधिकृत होइनन् । थापाको नेतृत्व अहिलेसम्म विवादमा पनि परेको छैन ।

झापामा रहँदा थापाले १५ करोड रुपैयाँ पर्ने जग्गा हडप्न भएको अपहरणमा संलग्न एउटा हाई–प्रोफाइल गिरोहको पटाक्षेप गरेका थिए । जसमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) का स्वकीय सचिव राजु आचार्य (अग्नि) समेत संलग्न थिए ।

चुनौतिका चाङ

IGP Sailesh-Thapa

नवनियुक्त आईजीपी थापासामु चुनौतिका चाङ छन् ।

विगतमा एकजना महानिरीक्षकमा नियुक्त भएलगत्तै प्रतिष्पर्धीसँग पानी बाराबारको स्थिति हुने गरेको थियो । तर, यसपालि थापा र प्रतिस्पर्धी हरिबहादुर पालले दुवैजना एकअर्कामा आरोप प्रत्यारोप नगरी अघि बढ्ने पूर्वघोषणा गरेका थिए।

सरकारले दुईमध्ये जसलाई आईजीपी बनाए पनि स्वीकार गर्ने दुवैले बताएकाले विगतमा जस्तो दुई ब्याचीबीच तिक्ततापूर्ण सम्बन्ध नहुने अपेक्षा गरिएको छ । कार्यकालभरि यो सम्बन्धलाई कायमै राख्न सके थापाको नेतृत्व उदाहरणीय बन्ने छ ।

अहिले प्रहरी कर्मचारीमा संगठनप्रति विश्वास देखिँदैन । प्रहरी निरीक्षकभन्दा तल्लो तहका अधिकृत पनि सरुवा, बढुवाका शक्ति केन्द्र धाउने गरेका छन् ।

हालका आईजीपी ठाकुर ज्ञवालीकै अनुभव हेर्ने हो भने उनलाई एक तालिम केन्द्रमा सरुवा हुन शक्ति केन्द्रका ५ जना व्यक्तिबाट सिफारिस आए । तर, ज्ञवालीलाई नै भेटेर कसैले पनि त्यहाँ जाने इच्छा व्यक्त गरेनन् ।

यो ज्ञवालीले संगठनको आन्तरिक सम्बोधनमा उल्लेख गरेको उदाहरण हो । त्यसैले नवनियुक्त महानिरीक्षक थापाको सबैभन्दा ठूलो चुनौति संगठनप्रति गुमेको कर्मचारीको विश्वासलाई फर्काउनु हुनेछ ।

सरुवा–बढुवामा अहिले राजनीतिक दलका नेताको तीब्र हस्तक्षेप देखिन्छ । यसलाई मुक्त गर्न थापाले सक्लान् कि नसक्लान् भन्ने पनि चासोको विषय हुनेछ । र, यसको सुरुवात केही समयमै हुने एआईजी बढुवाबाट हुनेछ ।

रिक्त रहेको एआईजीको दुई पदका लागि थापाकै ब्याची प्रद्युम्न कार्की, निरज शाहीलगायत प्रतिस्पर्धामा छन् । वैकल्पिक टोलीका विश्वराज पोखरेल, सहकुल थापाहरु पनि अहिल्यै एआईजीमा बढुवा भएर २९ औं महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् ।

महामारीका बीचमा नेतृत्व सम्हालेका थापालाई फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति पनि छ । कोरोना (कोभिड–१९) का बीच लकडाउन खुकुलो भएसँगै अपराधको स्वरुप र विम्व परिवर्तन हुने थापाकै ब्याजी एआईजी हरिबहादुर पाल नेतृत्वको अपराध अनुसन्धान विभागको निष्कर्ष छ ।

यो अवधिमा चोरी, डकैती, हत्या, घरेलु तथा महिला तथा बालबालिकासम्बन्धी हिंसा, आर्थिक अपराध लगायत हुनसक्ने विभागको रिपोर्ट छ । तीसँगै अहिले प्रविधि जोडिएका अपराध पनि बढी रहेको अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

प्रहरीमा नेतृत्व परिवर्तन हुँदै पिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने चलन छ । गृहमन्त्री फेरिँदैपिच्छे पनि नयाँ कार्ययोजना आउने गरेका छन् । त्यसैले थापाले कस्तो रणनीति, प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने पनि महत्वपूर्ण हुने ठकुरी बताउँछन् ।

अहिले नेपाली प्रहरीलाई संघीय संरचनामा लैजाने प्रक्रिया सुरु भएको छ । यो अवस्थामा थापासामू समायोजन प्रक्रियालाई अघि बढाउने चुनौति पनि छ । ‘संगठन संक्रमणकालीन अवस्थामा रहेका वेला संघीय संरचनामा सही ढंगले लैजानु पर्ने उहाँको चनौति हो’, अवकाश प्राप्त डीआईजी पिताम्बर अधिकारी भन्छन् ।

अहिले अपराध अनुसन्धानमा संलग्न अधिकृतहरु संगठनकै एम्बुसमा पर्ने गरेका छन् । साढे ३३ किलो सुनकाण्डदेखि निर्मला हत्या प्रकरणसम्ममा अनुसन्धान अधिकृत नै आरोपित बनाइएका छन् । यो स्थितिमा प्रहरीको गिरेको मनोबल उकास्नुपर्ने चुनौति पनि थापासामू छ ।

विगतमा आरोपित बनेका केही अधिकृतलाई अदालतले ‘क्लीन चिट’ दिइसकेको छ भने कतिपयमाथिको आरोप तथ्यहिन साबित भइसकेको छ । त्यसैले निलम्बन र कारबाही फुकुवाको थप प्रक्रिया कसरी अघि बढ्छ भन्ने पनि चासोका साथ हेरिनेछ ।

प्रहरीले गर्नुपर्ने अपराध अनुसन्धानका जिम्मेवारी सरकारले निजामती सेवाका व्यक्तिलाई नेतृत्व दिएर छानविन समिति बनाउने प्रवृत्ति देखिएका छन् । जसले अनुसन्धान थप गिजोलिएका उदाहरणहरु छन् । थापाले यो अवस्थाबाट संगठनलाई कसरी टाढा राख्न सक्लान् भन्ने पनि हेर्न लायक हुनेछ ।

प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यसका लागि सरकारले प्रहरी अधिकृतहरुसँग छलफल र परामर्श पनि गर्ने गरेको छैन । ज्ञवालीका पालामा डीआईजीको दरबन्दी कटौति गर्न खोज्दा गृह सचिव महेश्वर न्यौपानेसँग भनाभन नै पर्‍यो । थापाले अब संगठन कसरी हाक्लान् भन्ने चाहिँ भविश्यले नै बताउला ।(अनलाइनखबरबाट)

(बुधबार, असार २४, २०७७ मा प्रकाशित)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*