नेपाल र कोरोना प्रभावको आर्थिक सतर्कता

विचार
छिमेकी चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बारे नेपाल अब जनस्वास्थ्यका दृष्टिले मात्रै नभई आर्थिक रूपमा समेत सतर्क रहनुपर्ने भएको छ । नेपालको वैदेशिक व्यापार, पर्यटन, विदेशी लगानी र प्राविधिक परनिर्भरता भारतपछि चीनसँग भएकाले यहाँको अर्थतन्त्रमा पनि चौतर्फी असर पर्नेछ ।

अर्थतन्त्रसँग अन्तरसम्बन्धित दर्जनभन्दा बढी क्षेत्रमा कोभिड–१९ को प्रत्यक्ष असर देखिइसकेकाले बेलैमा थप क्षति कम गर्ने विकल्पको पहिचान जरुरी छ । हालसम्म सार्वजनिक विवरणअनुसार आयात–निर्यात, पर्यटन आगमन, सम्भाव्य विदेशी लगानी र लगानी भइसकेका क्षेत्र, विकास निर्माणका आयोजना, रोजगारीका लागि विदेशिने श्रमशक्ति र रेमिट्यान्समा असर देखा परिसकेको छ ।

कोभिड–१९ संक्रमणलगत्तै पहिलो असर वैदेशिक व्यापारमा देखिएको छ । थोरै भए पनि नेपाली सामान चीन निर्यात गरी विदेशी मुद्रा आर्जनको ढोका पनि यसले बन्द गरिदिएको छ । वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको सामान चीनबाट आयात हुने भएकाले नेपाली बजारमा उसको हिस्सा १६ प्रतिशत छ । ती सामग्री आयात हुने प्रमुख नाका रसुवागढी माघ १६ देखि बन्द छ । चीनतर्फ हवाई सम्पर्क पातलो भएकाले त्रिभुवन विमानस्थलबाट हुने आयात–निर्यात पनि कम छ । कतिपय सामग्री भारत र अन्य मुलुक हुँदै नेपाल भित्रिने गरेकाले बजारमा अभावसमेत देखा परिसकेको छ । यसको एउटा उदाहरण चीनबाट भारत हुँदै नेपाल ल्याइने औषधिको कच्चा पदार्थ हो ।

चीनको हुबेई प्रान्तमा कोभिड–१९ संक्रमणपछि औषधिको कच्चा पदार्थ उत्पादन बन्द छ। अन्य कतिपय सामग्रीको अवस्था पनि यस्तै छ । त्यसकारण कोभिड–१९ को प्रमुख असर बजारमा अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्रीको अभावका रूपमा देखा परेको छ । कुनै सामग्री अभाव नभए पनि व्यापारीले मौज्दात राखी कालोबजारी गर्ने विगतको प्रवृत्ति हेर्दा यसको मार उपभोक्ताले खेप्नुपर्ने हुन्छ । यो पूर्ववत् आकलनलाई विचार गर्दै चीनबाट आयात हुने सामग्री पहिचान, तिनको विकल्प हेरी कालोबजारी हुनबाट रोक्नेदेखि आपूर्ति प्रणालीलाई सरकारले सन्तुलित नियन्त्रणमा राख्न जरुरी छ ।

दोस्रो असर पर्यटन क्षेत्रमा परेको छ, जो मुलुकको अर्थतन्त्रमा प्रमुख योगदान गर्ने क्षेत्र हो । नेपालमा भारतीयपछि सबभन्दा बढी पर्यटक चिनियाँ नै आउँछन् । गत वर्ष भित्रिएका करिब १२ लाख पर्यटकमध्ये चिनियाँमात्रै १ लाख ७० हजार थिए । कोभिड–१९ संक्रमणपछि चीनबाट मात्रै होइन, अन्य देशबाट समेत पर्यटक आगमन घटेपछि काठमाडौंको ठमेल, पोखरा, चितवनको सौराहा लगायतका पर्यटकीय गन्तव्य सुनसान छन् । होटल बुकिङ नै नहुने, बुकिङ भइसकेका समेत रद्द हुने क्रम बढेको छ । व्यवसाय सुस्ताएपछि पोखराका व्यवसायीले भारतको उत्तरपूर्वी सहरमा पश्चिम बंगालको सिलिगुडी र कोलकातामा गएर पर्यटक ल्याउन प्रवर्द्धनात्मक काम गरे । कोभिड–१९ संक्रमण नदेखिएका मुलुकमा सरकारी स्तरबाटै यस्ता प्रवर्द्धनात्मक तथा पर्यटक तान्ने काम गर्न सकिन्छ । नभए यो पर्यटन वर्ष २०२० असफल हुने मात्रै होइन, सरकारले निर्धारण गरेको महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्यलाई समेतअसर पार्नेछ ।

कोभिड–१९ को तेस्रो असर विदेशी लगानी र त्यस्ता लगानी स्वीकृत भइसकेका आयोजना एवं विकास निर्माणका क्षेत्रमा परेको छ । विदेशी लगानी अनुमति दिने निकायहरू उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्ड कार्यालयले जनाएअनुसार चिनियाँ लगानीकर्ताले स्वीकृत लिन ठिक्क पारिएका धेरै फाइल अड्किएरका छन् । लगानी स्वीकृत भइसकेको ह्वासिन सिमेन्ट उद्योगदेखि अन्य स–साना आयोजनाको निर्माण र उत्पादन अवधि धकेलिएको छ । लगानी सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार लगानी गर्न माग गरिएका कागजपत्रसमेत चिनियाँ लगानीकर्ताले पठाउन सकेका छैनन् । चीनले नेपालमा विदेशी लगानीका रूपमा भारतलाई समेत उछिनिसकेको पृष्ठभूमिमा अधिक पुँजी परिचालन आवश्यक रहेको नेपाललाई थप असर पर्नेछ ।

सरकार र अन्य दातृ निकायको बजेटमा निर्माणाधीन विकासका कामको अवस्था पनि त्यस्तै छ । नेपालका ठूला तथा विकास पूर्वाधारमा संलग्न चिनियाँ कामदार नफर्किएको, उपकरणहरू आयात गर्न नसकिएकाले जलविद्युत् आयोजनादेखि सडक निर्माणसम्मका काम रोकिएका छन् । द्रुततर गतिमा काम भई निर्माण सम्पन्न हुने संघारमा पुगेको भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अवधि पछि धकेलिने भएको छ । चीनबाट आयोजनाका लागि उपकरण र प्राविधिक जनशक्ति आउन नसकेपछि करिब एक महिनायता काम अघि बढ्न सकेको छैन ।

चौथो असर भने कामको खोजीमा विदेशिने श्रमिकहरू र त्यसबाट प्राप्त हुने रेमिट्यान्समा देखा पर्नेछ । कोभिड–१९ हालसम्म ३७ देशमा फैलिसकेको र त्यसमध्ये नेपालीको प्रमुख श्रम गन्तव्य देश रहेका कारण सिधा असर विप्रेषणमुखी नेपाली अर्थतन्त्रमा पर्नेछ । दक्षिण कोरियामा कोभिड–१९ संक्रमण निकै फैलिइसकेका कारण नेपाली श्रमिकलाई त्यता पठाउन रोकिएको छ । त्यहाँ रहेका ४२ हजारभन्दा बढी नेपालीमाझ सन्त्रास फैलिएकाले केहीले स्वदेश फर्कने चाहना राख्न थालिसकेका छन् । खाडी मुलुक र मलेसियाबाहेक नेपालीका लागि कोरिया महत्त्वपूर्ण श्रम गन्तव्य रहेको र कुल विप्रेषणको दुई प्रतिशत हिस्सा यो देशको रकमले ओगटेको हुनाले त्यहाँका सबै फर्किएर बेरोजगारी बढाउनुका साथै रेमिट्यान्स आप्रवाहमा गिरावट आउनेछ ।

अर्थतन्त्रका प्रमुख क्षेत्र यी मात्रै हैन, अनौपचारिक रूपमा अन्यत्र पनि असर पर्नेछ । आजको विश्वव्यापीकरणमा एक मुलुकले सबै क्षेत्रमा आफ्नै सामर्थ्यमा मात्रै निर्भर रहन्छु भन्न त सक्दैन, तर यी समस्या समाधानको दीर्घकालीन विकल्प भनेको आन्तरिक उत्पादन बढाउनु, रोजगारीका क्षेत्रहरू सिर्जना गर्नु र विदेशी परनिर्भरता कम गर्दै लैजानु नै हो । तत्कालीन समस्या समाधानका लागि सरकारले बजारमा उपस्थिति जनाउनेदेखि कोभिड–१९ संक्रमणको वास्तविक वस्तुस्थितिको प्रभावको जानकारी र पूर्वतयारीका कार्यक्रम आवश्यक छ । (कान्तिपुर दैनिकबाट साभार)

शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*