पत्रकार सहनशीला बनिन् असनको मन्दिरकी पुजारी

काठमाडौं । सहनशीला शर्मा झाले बिहीबार सामाजिक सञ्जालमा एउटा पत्र सार्वजनिक गरिन्। पत्र गुठी संस्थानले असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा सहनशीलालाई नियुक्त गरिएको बारे थियो।

उनले आफूलाई गुठी संस्थानले पुजारी नियुक्त गरेको जानकारी दिँदै लेखेकी थिइन्, सायद यसरी नियुक्ति पाएर पुजारी भएको पहिलो महिला म नै पो हुँ कि?’

त्यसपछि उनको पोस्टमा बधाइको ओइरो आयो। नयाँ कामको थालनी भन्नेहरू टन्नै भए। यी सबै प्रतिक्रियापछि उनलाई लाग्यो- यो कुरा त पहिल्यैदेखि सामान्य हुनुपर्थ्यो।

‘महिला पुजारीहरू यसरी आधिकारिक रूपमा बाहिर आउनुभएको छैन। मन्दिरमा धेरै काम त उहाँहरूले नै गर्नुहुन्छ,’ करिब दुई दशक पत्रकारिता क्षेत्रमा बिताएकी ४८ वर्षीया सहनशीलाले सेतोपाटीसँग भनिन्।

गुठीले उनलाई एक वर्ष परीक्षणकालमा रहनेगरी बढीमा पाँच वर्षका नियुक्त गरेको हो। पुजारीका रूपमा उनले गर्ने नित्य तथा पर्वपूजावापत खर्च पाउने पनि गुठीले जनाएको छ।

सहनशीलाले अब असनमा अन्नपूर्ण नारायण गुठीअन्तर्गतका वार्षिक पूजाहरू गर्नुपर्छ। मन्दिरमै बसेर दैनिक पूजा भने गर्ने होइन।

असनमा जहाँ लाइनै पसलहरू छन्, त्यसलाई थाना भनिन्छ। त्यहाँभित्र भजन मण्डलीमा विभिन्न भगवानका मूर्तिहरू छन्। पुजारी सहनशीलाले कृष्णाष्टमीका दिन त्यहाँका कृष्ण भगवानलाई घरमा ल्याएर, सिँगारपटार गरेर पूजाका लागि तयार गर्नुपर्छ। पूजाक्रममा पूजारीले लगाउने जस्तो लुगा लाउन अनिवार्य छैन।

यो पूजा विशेषगरी रातमा हुन्छ। यसमा कृष्ण भगवानलाई विशेष चढाइने घ्यू, चाकु लगायत सबै सामान लिएर जानुपर्छ। सहनशीलाको परिवारले पूजा गरेपछि बल्ल अरू स्थानीयले पूजा ल्याउँछन्।

‘पूजापछि भजन हुन्छ। मेरो बुवा हुत्तराज शर्मा झा पहिले यहाँका पुजारी हुनुहुन्थ्यो। उहाँ संगीतकार पनि भएकाले पूजापछि सबैलाई टीका लगाइदिएर भजन सुरू गर्नुहुन्थ्यो,’ सहनशीलाले भनिन्, ‘उहाँ बितेपछि अहिले भजन भइरहेको छैन। त्यहाँका कति परम्परा बन्द भइसके।’

त्यसपछि पुजारीका रूपमा सहनशीलाले गर्नुपर्ने अर्को मुख्य पूजा कुमारीको हो। दसैं एकादशीका दिन असनकै पाँच कुमारी केटीलाई कुमारी बनाएर यो पूजा गरिन्छ। असन अन्नपूर्ण मन्दिरमा पनि यो बेला पूजा गर्नुपर्छ।

यी पूजा पुर्खौंदेखि उनको परिवारले धान्दै आएको छ। नेवार समुदाय बहुल असनमा ‘शर्मा झा’ थर भएका उनको परिवार कहाँबाट कसरी आए र कसरी पुजारी भए, यसबारे आफूलाई थाहा नभएको सहनशीला बताउँछिन्।

‘मैले सुनेअनुसार राणाकालमा मेरा बुवाको पनि हजुरबुवा तान्त्रिक हुनुहुन्थ्यो रे,’ उनले भनिन्, ‘हामी यहाँका रैथाने होइनौं। तर हाम्रो असनमा घर भएकाले नेवार समुदायसँगै घुलमिल छौं। यहाँका भाषा–संस्कृतिहरू बुझ्छौं।’

वर्षौंदेखि उनको परिवारले निर्वाह गर्दै आएको यो जिम्मेवारी सहनशीलाका बुवा बितेपछि उनका भाइ प्रमोद शर्मा झाको नाममा थियो। भाइ बेलायत बसोबास गर्ने भएकाले यसको जिम्मेवारी सहनशीलाले नै अप्रत्यक्ष रूपमा निर्वाह गरिरहेकी थिइन्। एक मात्र भाइ र चार दिदीबहिनीको उनको परिवारलाई यो परम्परा कसरी निरन्तरता दिने भन्ने दुबिधा थियो।

घरमा सल्लाह पनि भयो– खानदानी पूजा त बाहिर पठाउनुभएन। हामीले परम्परा छाड्न पनि मिल्दैन।

भाइ प्रमोदसँग पनि कुराकानी भएपछि सहनशीलाले ‘आफ्ना भाइको साटो पुजारीमा आफ्नो नियुक्ति होस्’ भनेर गुठी संस्थानमा निवेदन दिइन्।

‘गुठीले सुरूमा त महिलालाई नियुक्ति गर्ने परम्परा छैन भन्यो,’ उनले त्यसमा तर्क गरिन्, ‘मन्दिरहरूमा सबै पूजा त महिलाले नै गरिरहनुभएको हुन्छ। आधिकारिक नियुक्ति नदिनुमा कुनै तुक छैन।’

त्यति भनेपछि गुठी संस्थानले उनलाई प्रक्रिया अगाडि बढाउन भन्यो।

यो करिब ९ महिनाअघिको कुरा हो। उनले वडाबाट चिठी ल्याउनेदेखि सबै कागजी काम पूरा गरिन्। यसपछि गुठीले उनको निवेदन स्विकार्दै नामसारी गरिदियो र सहनशीला यहाँकी पुजारी बनेकी हुन्। पाँच वर्षपछि अब यो पूजाको जिम्मेवारी उनकै परिवारका अन्य सदस्यलाई हस्तान्तरण हुँदै जानेछ।

आफूले थाहा पाएसम्म पहिलोपटक यसरी महिलालाई पुजारी नियुक्ति दिइएकोमा उनी खुसी छिन्। भन्छिन्, ‘कमसेकम परिवारमा छोरालाई नै जानुपर्छ भन्ने परम्परा तोडियो।’

सानैदेखि परिवारमा छोरी भएर यस्तो गर्न हुने र नहुने लगायत बन्देज उनलाई मन पर्थेन। कतिपय कुरामा महिला भएकै कारण अलग्गिनु पर्दा तर्क पनि गर्थिन्। पछि यस्तै स्वभावले उनलाई पत्रकारितातर्फ आकर्षित गर्‍यो।

दुई दशक विभिन्न पत्रपत्रिकामा काम गरेपछि अहिले उनले आफ्नै मिडिया हाउस खोलेकी छन्। यहाँ उनी पत्रकारिताको तालिम दिन्छिन्। पत्रकारिताले लैंगिक समानता एवं परिवर्तनका कुरा बोल्न झनै प्रेरित गरेको उनको अनुभव छ।

बिहीबार महिला पुजारी नियुक्ति पाउनु त्यसैको उदाहरण भएको उनलाई लाग्छ। तर कतिपय मान्छे अझै धेरै संकुचित भएको उनले महसुस गरिन्। महिला पुजारी हुँदाको जानकारी सामाजिक सञ्जालमा राखेपछि कतिले नकारात्मक प्रतिक्रिया पनि दिएका छन्, ‘यस्तो आधुनिक मान्छेले कसरी परम्परा जोगाउला?’

मान्छेको लवाइखवाइका आधारमा कामको वर्गीकरण हुनुलाई उनी साँघुरो सोच मान्छिन्। आफूले यी टिप्पणी सामान्य तरिकाले लिएको बताउँदै भनिन्, ‘मान्छेको व्यक्तिगत र व्यावसायिक जीवन अलग हुन्छ भनेर हाम्रो समाजले अझै सोच्दैन। राम्रो नराम्रो जस्तो प्रतिक्रिया आए पनि म को हुँ र मैले के गर्नुपर्छ भन्ने मलाई थाहा छ। यस्ता कुरामा म अल्झिन्नँ।’

वर्षौंदेखि मन्दिरका मुख्य काममा महिलाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ। तर उनीहरूले आधिकारिक पहिचान वा नियुक्ति विरलै पाउँथे।

यस्तोमा सहनशीलालाई आफूले एक कदम अगाडिको बाटो खोलेझैं लागेको छ। उनले भनिन्, ‘महिला पुजारी धेरै भए पनि उहाँहरू छायामै हुनुहुन्थ्यो। उहाँहरूका लागि मैले बाटो मात्र खोलिदिएकी हुँ।’ (-सबिना श्रेष्ठ//साभार : सेतोपाटी)

शनिबार, माघ १७, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*