संवाददाता ।
काठमाडौं, २० पुस ।
हरेक परिवर्तन व्यक्तिबाट सुरु भएर समाजमा फैलिन्छ । राम्रो अथवा सकारात्मक परिवर्तनको बाहक बन्न थोरै साहसले पुग्दैन । यस्तो साहस देखाएकी छन् भक्तपुर गठ्ठाघर नमुनाबस्तीनिवासी सबीना उप्रेतीले । एक छोरी र एक छोरासमेत दुई सन्तानकी आमा पचास वर्षीय सबीना अहिले दिवङ्गत आमाको किरिया बसेकी छन् ।
सबीनाकी ९० वर्षीय आमा विष्णुकुमारी केसीको गत पुस १३ गते निधन भएको थियो । दिवंगत आमाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको थियो ।
पछिल्लो करिब डेढ वर्षदेखि सिकिस्त थला परेकी स्व. विष्णुकुमारीको जन्म दोलखाको फुर्केसल्ला गाउँमा र पछि विवाह पनि दोलखाकै घ्याङ् सुकाठोकरमा भएको थियो । पतिसहित विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आएकी स्व. विष्णुकुमारीका चार छोरी सन्तान छन् ।
स्व. विष्णुकुमारी केसी
सैनिक अस्पतालमा कार्यरत रही नौ वर्षपहिले नर्स सेवाबाट निवृत्त सबिनाले अहोरात्र बिरामी आमालाई आवश्यकताअनुसार अस्पताल लैजाने–ल्याउने, औषधि र खानपानको व्यवस्थापन गर्ने समेत सम्पूर्ण सेवा गर्दै आएकी हुन् ।
सबिनाले आमा र बुबाका लागि जे जति गरिन् र गरिरहेकी छन्, त्यो आफैँमा उदाहरणीय र प्रशंसनीय छ । आमाको निधनपछि पनि जुन कर्म उनले गरिरहेकी छन्, यसले समाजमा छोरीप्रतिको भेदभाव र छोराप्रतिको अत्यधिक चाहना तथा मोहलाई कम गर्न योगदान गर्ने निश्चित छ ।
तर यसमा सबीनाका पति शङ्कर उप्रेतीले उनका हरेक कार्यमा दिइरहेको सहयोग पनि उत्तिकै उल्लेखनीय छ । स्थापित परम्पराविपरीत आफू जीवित हुँदाहँुदै पनि दिवंगत सासुको अन्तिम संस्कार र काजकिरीया गर्न शङ्करले सबिनालाई यतिबेला पूर्ण साथ दिइरहेका छन् ।
यो घटना चर्चा–परिचर्चाको विषय र समाजका लागि एउटा गतिलो उदाहरण बनेको छ ।
यसै सन्दर्भमा स्व. विष्णुकुमारीकी कानुन–स्नातक नातिनी बन्दना उप्रेतीले आप्mनो फेसबुक वालमा एक अत्यन्त भावपूर्ण एवम् संवेदनशील स्टाटस पोस्ट गरिन्– ‘यही महिनाको १३ गते मेरी हजुरआमा ९० वर्षको उमेरमा स्वर्गवास हुनुभयो । उहाँले मलाई धेरै कुरा सिकाउनुभयो । गाउँका ठेट शब्ददेखि विभिन्न कथा र कहानीसम्म स्मरणमा सधैँ ताजा रहनेछन् ।
‘हजुरआमाको मरणपश्चात् मलामीहरूमा मृत्युको शोक सँगसँगै अर्को चिन्ता हाबी थियो, क्रिया–पुत्री को बस्ने ?
सबीना आफ्नी आमासित
‘मेरा मामा हुनुहुन्न । हजुरबुबा–आमाका चारजना छोरीहरू, मेरी आमा सबीना साहिँली, पेसाले नर्स, लगभग १२–१३ महिनादेखि थला पर्नुभएकी हजुरआमाको दिन–रात सेवा गर्नुभयो । मम्मी भन्नुहुन्थ्यो, ‘हेरिराख, म आमालाई हिँड्ने बनाउँछु !!’ हजुरआमा अब कहिल्यै हिँड्नुहुन्न तर पशुपतिमा उपस्थित दाजुभाइ खलकलाई सम्झाइ–बुझाई, आमाले जसरी आफू नै क्रिया–पुत्री बस्ने कुरामा राजी गराउनुभयो, त्यो कुराले मलाई जिन्दगीको गोरेटोमा हिँड्न सधैँ प्रेरणा दिनेछ ।
‘हो धेरै कुर उठे, ‘तिमी जिउँदो हुँदाहुँदै भाउजूले सेतो लुगा लगाएर क्रिया बस्या समाज ले सहन्छ ?’ भनेर बुबा शङ्करलाई पनि प्रश्न तेस्र्याइयो तर बुबाको साथ र सहयोगले आमालाई सो निर्णय लिन ठुलो भूमिका खेल्यो ।
‘यस दुःखद घडीलाई मिलेर पार गर्न सान्तवना, साथ र सहयोग दिने सबैमा धेरै धेरै धन्यवाद ।’
शुक्रबार, पुस २०, २०७५ मा प्रकाशित (Published on Friday, Jan 5, 2019)
Leave a Reply