पहिलोपटक ‘म्याडम रेक्टर’

– जयदेव गौतम
गत २०७२ पुस ९ गते प्रधानमन्त्री तथा कुलपति केपी ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त रेक्टर पदमा प्राध्यापक डा.सुधा त्रिपाठीलाई नियुक्त गरेसँगै विश्वविद्यालयको इतिहासमा नयाँ अध्याय कोरियो । विश्वविद्यालय स्थापना (विसं २०१६) भएको करिब छ दशक लामो समयमा पहिलोपटक यस्तो भयो– कुनै महिलालाई रेक्टर (त्रिविका तीन सर्वोच्च पदमध्ये एक) पदमा चयन गरियो । रेक्टर हुनुअघिसम्म उनी त्रिवि नेपाली केन्द्रीय विभागमा विसं २०४२ देखि निरन्तर प्राध्यापन गर्दै आइरहेकी एक्ली महिलाका रूपमा थिइन् । प्रथम श्रेणीमा एमए नेपाली उत्तीर्ण गरेर बितेका ३२ वर्षदेखि त्रिविमा प्राध्यापनरत त्रिपाठीले ‘आधुनिक नेपाली उपन्यासमा नारीवादी चेतना’ विषयमा विद्यावारिधिप्राप्त गरेकी छन् ।
आमा भवानी र पिता विद्वत्केशरी प्रा.जगन्नाथ शर्मा त्रिपाठीको परिवारमा विसं २०१५ जेठ २८ गते दार्जिलिङको मिरिकमा जन्मेकी सुधा चारवर्षको उमेरमा नेपाल आएकी हुन् र त्यसरी उनी आफ्नो पुख्र्यौली थलो दोलखा जिल्लाको सुनखानी गाविस–२ मा हुर्केबढेकी हुन् । निमाविसम्मको पढाइ गाउँमै पूरा गरेपछि उनको बाँकी सबै अध्ययन काठमाडौंमा पूरा भएको हो । २०३१ सालदेखि साहित्यलेखन थालेकी त्रिपाठीका निबन्ध, समालोचना, कविता, नाटक, पाठ्पुस्तक र सम्पादित कृति आदिसमेत गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । समय–समयमा गरी अनेक पुरस्कार प्राप्त गरिसकेकी सुधा त्रिपाठी विभिन्न साहित्यिक सङ्घ–संस्थामा पनि सक्रियतासाथ आबद्ध छन् । त्रिविको इतिहासमा ‘पहिलो महिला पदाधिकारी’ बन्न पुगेकी उनै प्रा.डा.सुधा त्रिपाठीसित उनी रेक्टर नियुक्त भइसकेपछिको अवस्थामा केन्द्रित रही गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत छ ।
 रेक्टर हुनुभएकोमा हार्दिक बधाई !
– बधाई दिने त्यो मनलाई धन्यवाद ।
 त्रिभुवन विश्वविद्यालयको साठी वर्षको इतिहासमा पहिलो महिला रेक्टर बन्नुभएको छ, कस्तो महसुस भइरहेको छ ?
– दुई किसिमले रमाइलो लागिरहेको छ । पहिलो त, पहिलो महिला रेक्टर भएको नाताले । अर्को, विगत ३२ वर्षदेखि मेरो जीवनमा निरन्तर चल्दै आइरहेको रुटिनमा क्रमभङ्गता भएको छ । खुसी छु । मलाई रमाइलो र खुसी लागेको मात्र होइन, थप जिम्मेवारी पनि के बोध भइरहेको छ भने मैले पहिलो महिला रेक्टर भएकोले सम्पूर्ण महिलाहरूको नाक राख्ने किसिमले काम गर्नुपर्नेछ । मलाई यस्तो लागिरहेको छ ।

 रेक्टर भन्नाले के के काम जिम्मेवारीहरू निर्वाह गर्नुपर्ने हुदो रहेछ ?
– ‘रेक्टर’ अङ्ग्रेजी शब्द हो जसलाई नेपालीमा शिक्षाध्यक्ष भन्दछन् । त्रिविमा एकेडेमिक कामकारवाही हेर्ने जिम्मेवारी भनेको रेक्टरले नै हो । विभिन्न अनुसन्धान, रिसर्च सेन्टर, पाठ्यविकास केन्द्र, डिन कार्यालय, सहायक डीन, क्याम्पस प्रमुखहरूको नियुक्तिका लागि नाम सिफारिस आदि सबै रेक्टरले नै गर्ने हो । मैले आफूलाई अफिसमा रेक्टर र घरमा रजिस्ट्रार भन्ने गरेकी छु ।

 रेक्टर पदमा नियुक्त भएपछि पहिलो काम के गर्नुभयो ?
– त्यस्तो उल्लेखनीय काम त केही गरिएन । सामान्य तवरले पदबहाली गरियो । तापनि यहाँ आएर केही गर्नुपर्छ भनेर मैले सुरुमै अनुसन्धान क्षेत्रमा केही फरक गर्नुपर्छ भन्ने सोचेर पिएचडी क्षेत्रमा हात हालेकी छु ।

 जस्तो कसरी ?
– जस्तो कसरी भने यहाँ पछिल्ला थुपै्र वर्षदेखि पिएचडीको स्तर खस्कँदै गइरहेको छ । जुन विषयमा जुन युनिभर्सिटीमा एमए तहको पठनपाठन नै हुँदैन, त्यस्ता क्याम्पसले पिएचडी गराइरहेका छन् । यो उनीहरूको अधिकारको कुरा हो कि होइन ? यहाँबाट मैले सुरु गरेकी छु । त्यसले गर्दा यससम्बन्धमा झन् गहिरिएर अध्ययन गर्दा के भन्नुपर्ने हुनसक्छ भने त्यहाँ पिएचडी गराइरहेकोमा उनीहरूको रहर पूरा गर्नका लागि मात्र हो भने त मानौँ ठीक छ तर पदोन्नतिका लागि त त्यसको गणना हुँदैन भन्ने, अथवा, यसलाई रोक्ने यी दुई कुरामध्ये एउटामा पुग्नुपर्छ भन्ने लागेको छ ।

 पिएचडीको स्तर खस्केको कुरा गर्नुभयो । यसको अर्थ त देशको समग्र शिक्षा व्यवस्थाकै स्तर खस्केको भन्ने लाग्छ नि, होइन र ?
– हो नि, त्यही रोक्न खोजेको मैले । जस्ता पनि पिएचडी हुने, दुःख गरेर, घुँडा धसेर पिएचडी गर्नेहरूलाई ऊ पनि डक्टर म पनि डक्टर ? के महत्व रह्यो र ? भन्ने जस्तो हुने स्थिति छ । त्यसरी जस्ता पनि पिएचडी उत्पादन गरिसकेपछि तिनले एमफिल कस्ता उत्पादन गर्छन् ? भोलि तिनले पिएचडी गाइड गर्लान्, तिनले कस्ता विद्यार्थी उत्पादन गर्लान् ? भनेपछि प्रत्येक पुस्ता–पुस्तामा त्यसको स्तर खस्कँदै जाने सम्भावना रहने भयो । त्यसकारण यसमा कडाई गर्नुपर्छ भन्ने लागेको हो र त्यही गर्न खोज्दैछु । अर्को कुरा, यसमा अलिकता काम अगाडि बढिसकेपछि एमए तहको रिसर्च थेसिसको क्षेत्रमा हात हाल्नुपर्ने भएको छ । अहिलेको एमए स्तरको थेसिस भनेको कपि–पेस्ट मात्र छ । त्यसमा के प्रक्रिया राख्दा त्यसमा सुधार हुन सम्भव हुनसक्छ भन्नेतिर पनि मैले सोचिरहेकी छु ।

 आफ्नो अध्ययन पृष्ठभूमिबारे केही बताइदिनुस् न ।
– म हुर्केबढेको दोलखा जिल्लाको सुनाखानी गाउँमा निम्न माध्यमिक तहसम्मको विद्यालय मात्र थियो । समयको त्यस कालखण्डमा छोरी–चेलीलाई पढाइहाल्ने चलन थिएन । पढाए पनि घरपायक पर्ने विद्यालयमा मात्र । टाढा पढ्न पठाएमा छोरीचेलीले नाकमुखमा कालो लगाइदिन्छन् भन्ने विश्वास व्याप्त थियो । अझ त्यतिबेला विवाह गरेर पठाइदिने कुरा पनि निकै चलेको थियो तर मेरो बुबा आफै पनि सुशिक्षित भएको र दार्जिलिङको पठनपाठनको वातावरण राम्ररी देखे जानेबुझेको हुँदा मलाई पढाउन अग्रसर हुनुभयो । गाउँमा कसैको कुनै कुरा नसुनी पढ्नका लागि मलाई काठमाडौं ल्याउनुभयो । उहाँ काठमाडौंमा प्राध्यापन पेसामा हुनुहुन्थयो । त्यसकारण म पनि यहीँ बसेर पढ्न थालेँ । मेरो बुबा शिक्षित हुनुभएकोले मात्र मैले पढ्ने अवसर पाएकी हुँ, अरू केही होइन ।

 तपाईंले त शिक्षित बुबाका कारणले पढ्न पाउनु भएको रहेछ । तर समयको त्यस कालखण्डमा गाउँमा महिला शिक्षाको अवस्था कस्तो थियो ?
– बुबाजस्तो मान्छेलाई त ‘ल, जगन्नाथले छोरी पढाएर बिगारे’ भन्नेहरू धेरै थिए, त्यसरी छोरी पढाउन हुँदैन कि हुँदैन भनिरहन्थे । बुबालाई गाली गर्न र बाझ्नसमेत आउँथे । अब बुझ्नुस् न, मेरो शिक्षित बुबालाई आफ्नी छोरी पढाएकोमा गाली गर्ने गाउँलेहरूले आफ्ना छोरीचेलीलाई के पढाउँथे होलान् र ? हाम्रो गाउँमा मसँगै एसएलसी पास गर्ने अर्की एक महिला थिइन् तर उनको अध्ययन त्यहाँभन्दा अगाडि बढ्न सकेन । मैले पो अवसर पाएँ । मजस्तै अरू तमाम महिलाहरूले पनि अवसर पाएको भए त उनीहरूले पनि उच्च शिक्षा हासिल गर्न सक्ने थिए होलान् नि ।

 अहिलेको खास महिला समस्या, सामाजिक समस्या के हुन् ?
– मान्छेमा व्याप्त सामन्ती चिन्तन नै हो अहिलेको मूल सामाजिक समस्या । देशमा गणतन्त्र आए पनि राज्य गरिरहेको भनेको सामन्ती चिन्तन नै हो । जे तन्त्र आए पनि अहिले पनि त्यही चिन्तन हावी छ । म रेक्टर भएकोमा मेरो श्रीमान्लाई बधाई दिने क्रममा ‘अब तपाईं पनि प्रमोसन भएर यस्तै कुनै अर्को पदमा जानुपर्छ’ भन्दै बधाई दिनेहरू थुप्रै भेटिए । धेरैजनाले श्रीमान्प्रति सहानुभूति राख्दै बधाई दिए । यो भनेको, श्रीमान् जहाँ जति उच्चस्तरमा पुगे पनि हुन्छ, श्रीमतीचाहिँ त्यसरी जानु हुँदैन भन्ने किसिमको सामन्ती चिन्तन होइन र ?

 तपाईंको श्रीमान् (रमेश भट्टराई) पनि पिएचडी हासिल गर्ने क्रममा हुनुहुन्छ । तपाईं रेक्टर नियुक्त भएकोमा प्राध्यापक श्रीमान्को प्रारम्भिक प्रतिक्रिया कस्तो रह्यो ?
– पूर्ण समर्थन रह्यो र छ पनि । सामन्ती चिन्तन बोकेको भए पो समस्या हुन्थ्यो, मेरो श्रीमान् त्यस्ता सबै किसिमका सामन्ती चिन्तन मिल्काइसकेको व्यक्ति भएका हुनाले कुनै समस्या रहेन । अँ, सामन्ती चिन्तन रहेको भए लामो विदा लिएर कतै एक्लै जानसक्ने सम्भावना रहन्थ्यो होला । जसरी उहाँ कुनै उच्च पदमा पुग्दा मलाई कुनै समस्या वा ईष्र्या हुँदैन, त्यसरी नै उहाँलाई पनि केही छैन, बरु गर्व छ । उहाँले खुसीसाथ स्विकार्नुभयो । मेरो बारेमा फोन गरीगरी आफन्तहरूसँग खुसी सेयर गर्नुभयो ।

 पदबहाली भएको धेरै समय बितेको नभए पनि तपाईंलाई ‘महिला रेक्टर’ भनेर इन्फेरियर देखाउन अथवा होच्याउन खोज्ने कुनै टीका–टिप्पणी वा व्यवहारको अनुभव गर्नुपरेको छ कि छैन ?
– अहिले यहाँ त त्यस्तो केही देखिएको छैन । तर प्रसङ्गवश उल्लेख गर्छु, मैले लगातार २५ वर्ष नेपाली केन्द्रीय विभागमा पढाएँ । त्यसरी पढाउनेमा म एक्ली महिला थिएँ । त्यहाँ अझै पनि त्यस्ता मान्छेहरू छन् जो ‘सर’ (पुरुष) हरूलाई नमस्ते गर्थे,अझै गर्छन् तर सायद महिला भनेर होला मलाई नमस्ते गरेनन्, अझै गर्दैनन् । पहिले एकजना पियन थिए, अहिले रिटायर्ड भएर गइसके । अहिले पनि एकजना कर्मचारी छन् जो रमेश सर र म त्यहाँ केन्द्रीय विभाग सँगै जाँदा उहाँलाई नमस्ते गर्छ, मलाई गर्दैन । मेरो पनि केही रेस्पोन्स हुँदैन, मलाई पनि नमस्ते गरेको भए पो मैले केही रेस्पोन्स गर्नु । यहाँ आइसकेपछि सुन्नमा आएको एउटा कुरा, एकजना त्रिविकै प्राध्यापकले ‘रेक्टर होइन रेक्टर्नी हो’ भने रे । वास्तवमा शिक्षा र चेतना फरक–फरक कुरा हो । ठूलाठूला किताब पढेर, पिएचडी गरेर, ठूलाठूला किताब लेखेर मात्र कसैलाई सचेत भन्न मिल्दैन । हाम्रो शिक्षा प्रणाली कसैलाई चेतना बाँड्ने किसिमको छँदै छैन । ‘रेक्टर होइन रेक्टर्नी हो’ भन्ने ती प्राध्यापकको चेतना कस्तो होला ?
त्रिविकै केही मानिसले मेरो नाम सिफारिस भएपछि ‘रेक्टरमा सुधा त्रिपाठी त हुँदै हुँदैन’ भनेरसमेत विरोध गरे । अझ कतिले ‘उपकुलपति (भिसी) चाहिँ देश खाई शेष पल्टेको टाठोबाठो मानिस हो, रेक्टरमा महिला ल्याएर उसले आप्mनो मन लागे अनुसारका निर्णय कामकारवाही गर्न पाउने भयो’ भन्दै मलाई स्वतन्त्र निर्णय गर्न नसक्ने किसिमको भनेर पनि प्रचारात्मक विरोध गरे । तर मलाई लाग्छ, मलाई चिन्नेहरूमध्ये कसैले यस्तो टिप्पणी गरेको होइन । त्यसो भएको हुनाले मैले सबैलाई आआप्mना समस्या मसमक्ष ल्याउन आग्रह गरेकी छु र भए÷देखिएका समस्याहरूलाई हार्दिकतापूर्वक समाधान गर्ने प्रयास पनि गरिरहेकी छु ।

 तपाईं साहित्य सिर्जनामा रमाउने मान्छे । अनि त्यो सिर्जनात्मकता र रेक्टर पदको प्राविधिक प्रशासनिक कामकारवाहीबीच तादात्म्य कसरी मिल्छ ? मिलाउनुहुन्छ ?
– मैले त केवल डिन, निर्देशक, टिचरहरूको सम्बन्धमा मात्र हेर्ने हो, दैनिक कार्य र सबै आर्थिक प्रशासनिक काम सबै रजिस्ट्रारले हेर्ने हो । मैले पहिले भनिसकेँ नि, म घरमा रजिस्ट्रार हुँ भनेर । मलाई प्रशासनिक झमेला छैन । अनि अर्को कुरा के हो भने मलाई जुन दिन रेक्टरमा नियुक्तिको पत्र प्राप्त भयो, त्यसै दिन मैले आफैँसित भनेँ– अब चार वर्ष म कुनै साहित्य लेख्दिन । उहिल्यै सानो छँदैदेखि लेख्दै आएको त हो, स्कुल पढ्दैदेखि ! भाले खनियाको बोट संज्ञा दिएर लेखेकै हो निबन्ध पनि । साहित्य मेरा लागि भाले खनियाको बोट मात्रै भयो । त्योभन्दा बढी त केही भएको छैन । एकेडमी (नेपाल प्रज्ञा प्रतिष्ठान) मा जानुपर्छ भनेर दुई–दुईपटक मलाई भनिएकै थियो । मलाई त्यहाँ सीमित हुन मन लागेन । मैले जहाँ बसेर होँचो–अर्घेलो भइभइकन, अपमानका अनेकन घुट्काहरू पिइपिइकन आप्mनो क्यारियर बनाएँ नि, हो म त्यो ठाउँमा जानुपर्छ । पठाउने भए मलाई विश्वविद्यालयमा पठाऊ भनिदिएँ । महिला आयोगको अध्यक्ष भएर काम गर्न पनि प्रस्ताव आयो । म किन जाने त्यहाँ, मेरो शिक्षा कहाँ जान्छ ? जुन क्षेत्रमा मेरो सारा जीवन बित्यो, त्यसलाई माया नमार्ने अडान दोहो¥याइदिएँ । नकारात्मक अर्थमा बदला लिने होइन । मैले त्रिविमा प्रोफेसर हुँदा सबै किर्तीमान भङ्ग गर्दै जुन पोजिसन र अङ्क ल्याएँ, त्यो दिन मेरा सबै घाउहरूमा, मेरा सङ्घर्षहरूमा मलम लागेको अनुभव गरेकी थिएँ । त्यस्तै किसिमको मल्हम रेक्टर हुँदाखेरी लागेको थियो । पद मेरा लागि ठूलो होइन । हिजो म केन्द्रीय नेपाली विभाग प्रमुख हुने पक्कापक्की थियो, त्यहीबेला यो कुरा पक्कापक्की भएर आयो तर मैले यसबारे कसैलाई भनिन । भन्नेहरूले त यो भोलि कुनै दिन विभाग प्रमुख भइहाल्छे, अहिले नाटक मात्र गरेको हो, आफू कसैले पाउनका लागि ‘सुधाजीले त विभाग प्रमुख भएर चलाउनै सक्नुहुन्न’ समेत भन्न सके, भ्याए । अनि मैले मनमनै ठीक छ नि त,मैले विभाग प्रमुख चलाउन नसके पनि रेक्टर चलाएर देखाइदिन्छु नि त भनेँ । चुनौतीकारूपमा मैले यो पदलाई स्वीकार गरेकी हुँ । त्यसकारण म साहित्य लेखनको लोभ गर्दिन चार वर्षका लागि । साहित्य सिर्जनामा जुन समय र क्षमता लगानी हुन्थ्यो, जुन सिर्जनात्मकता थियो, त्यो क्षमता र सिर्जना अब रेक्टर पदमा रहेर काम गर्दा अरू कुनै रूपमा प्रकट होला नि ।

 यसको अर्थ रेक्टर सुधा त्रिपाठीले साहित्यकार सुधा त्रिपाठीलाई चार वर्षका लागि निल्ने भयो । होइन त ?
– अँ, चार वर्षका लागि मेरो साहित्य लेखन ओझेल पर्ने भयो । पहिले मेरा सारा कुरा साहित्यकार सुधा त्रिपाठीले निलेको थियो । म प्राध्यापक भएको कुरा, मैले विद्यावारिधि गरेको कुरा साहित्य क्षेत्रका अनेक मानिसहरूलाई थाहा भएन । ‘ए तपाईं पढाउनु पनि हुन्छ?’ भनेर कतिपय साहित्यिक गोष्ठीहरूमा मसित सोधे । ‘कहाँ के गर्नुहुन्छ ?’ भनेर पनि सोधे । यसको अर्थ, हिजो साहित्यले मेरो अरू सबै व्यक्तित्वलाई खर्लप्पै निलेको थियो । अब रेक्टर सुधा त्रिपाठीले आप्mनो सबै त्यो सबै साहित्यिक परिचयलाई स्थगित राख्ने निर्णय लिएको अवस्था हो । त्यसो नगर्दा मैले केवल केही लेख्न सकिएन भनेर टेन्सन लिने र बढाउने काम मात्र हो । नयाँ केही लेख्ने जिम्मा पनि नलिने सोच हो ।
 तपाईं आफँै साहित्य सर्जक अनि समालोचक पनि हुनुहुन्छ । हामीलाई बताइदिनुस्, अहिले नेपाली साहित्यमा महिला लेखन वा महिला साहित्यको धार के छ ?
– नेपालमा अहिले महिला लेखनको धार भनेको नारीवादी धार नै हो । साठीभन्दा अगाडि नारीहरूका बीचमा गएर म नारीवादी हुँ भन्न पनि डर लाग्नुपर्ने अवस्था थियो । त्यस्तो अवस्था म आफैँले पनि भोगेको हो । अहिले आएर मलाई त्यति बेला डर देखाउनेहरू नै पनि आफूलाई नारीवादी भन्न थालेका छन् । तसर्थ, अहिलेको मूलधार भनेको नारीवादी हो । अन्य वैचारिक धार त्यसपछि आउँछन् ।

 नारीवादी भन्नाले के कसरी परिभाषित गर्नुहुन्छ ?
– महिलाको अस्मिताको जगेर्ना गर्ने गरेर, महिलाको अस्मिताको सुरक्षा गर्ने गरेर, महिलाको वर्चस्वलाई विस्थापित हुन नदिने कोणबाट गर्ने सिर्जना÷गतिविधि नारीवादी हो । साहित्यले महिलाको वर्चस्वलाई विस्थापित गरिरहेको छ, त्यसका विरुद्धमा आफूलाई उभ्याउनु हो । होला, त्यसरी लेख्नेहरूलाई त्यही धार सही लागेको होला । नारीवादी धारभित्र पनि सबै धारहरू उपयुक्त छैनन्, कुन अर्थमा भने त्यसभित्र सिर्जनाहरू समाजका लागि उपयोगी हुनेभन्दा पनि अनुपयोगी भएका देखिएका छन् । यसमा अहिले थप विस्तारमा नजाऊँ । एउटा किताब भेट्यो, अनि ल यही रहेछ नारीवादी विचार भन्दै त्यसकै पछाडि दौडिने गर्नु उचित हुँदैन । राम्रोसँग बुझेर र कहाँनिर टेकेर अगाडि बढ्दा समाजको अहित हुँदैन भन्ने मूल आधार हुनुपर्छ । साहित्यकारले यो सोच्नैपर्दछ । व्यक्तिको मात्र अथवा कुनै थोरै समूहको मात्र हित हुने कार्य नारीवाद होइन । सिङ्गो समाजको हित हुनेगरी त्यो चिन्तनलाई अँगाल्नुपर्दछ । यसमा केही कमीकमजोरी छन् ।

 अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
– त्रिविको नीति एकातिर छ, व्यवहार अर्कोतिर कुदिरहेको छ । एकदम तदर्थवादमा त्रिवि चलेको छ । त्रिविलाई त्यसबाट मुक्त गर्नका लागि हामी तीनजना पदाधिकारी (उपकुलपति, रजिस्ट्रार र रेक्टर)को संयुक्त प्रयास अगाडि बढ्न थालेको छ । तदर्थवादमा कुनै संस्था कहिल्यै पनि चलिरहन, अगाडि बढ्न सक्दैन । त्यहाँ अनुशासन कायम हुनै सक्दैन । अनुशासनबिना कुनै पनि संस्था वा व्यक्ति कसैको विकास सम्भव छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*