पहिलो चरणको चुनावका उम्मेदवार र निर्वाचन क्षेत्रहरू, जो सर्वाधिक चर्चामा रहे

काठमाडौं, ११ मंसिर ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ । पहिलो चरणका १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारी पछि सुरू भएको विवाद, आरोप प्रत्यारोप र सम्भवित नतिजाबारे सबैका आआफ्ना विश्लेषण छन् ।

पहिलो चरणमा निर्वाचन हुने क्षेत्र मध्ये बहुचर्चित क्षेत्र हो गोरखा २ । जहाँ लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र वाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । कुनै समयमा एकै पार्टीका सहयोद्धा भट्टराई र श्रेष्ठबीचको प्रतिस्पर्धा रोचक छ ।

यस्तै सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्र पनि चासोका केन्द्रमा छन् । अन्तिम पटकका लागि भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा काँग्रेसको सहयोगमा सिन्धुपाल्चोक २ मा प्रतिस्पर्धामा छन् ।

चार वर्ष अघि ०७० को संविधानसभा सदस्यमा सिन्धुपाल्चोक ३ बाट पराजित राणाले यो पटक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन् । ०७० मा राणालाई पराजित गरेका एमालेका शेरबहादुर तामाङ नै यो पटक पनि उक्त क्षेत्रमा उम्मेदवार छन् । सिन्धुपाल्चोक २ को चुनावी परिणाम सबैको चासोको विषय छ ।

सिन्धुपाल्चोक २ जस्तै १ मा पनि चुनावी माहोल तातेको छ । यहाँ बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत लोकतान्त्रिक गठबन्धन र पूर्वसञ्चारमन्त्री अग्नि सापकोटा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीको अप्रत्याशित नजिता आउँदा सापकोटा तत्कालीन बागमती अञ्चलबाटै माओवादीबाट निर्वाचित हुने एक मात्र सांसद हुन । बस्नेत पनि यस अघि सिन्धुपाल्चोक १ को सोही क्षेत्रबाट निवाचित जनप्रतिनिधि हुन । दुवैको चुनावी भिडन्त रोचक छ ।

यता नुवाकोटका दुवै क्षेत्रको चुनावी परिणामलाई पनि चासोका साथ हेरिएको छ । नुवकोटबाट लगातार निर्वाचित हुँदै पटक पटक मन्त्री बनेका डा। रामशरण महत यो पटक पनि नुवाकोट १ बाटै प्रतिस्पर्धामा छन् । महतसँग दुई पटक पराजित भएका हितबहादुर तामाङ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् । गठबन्धनका कारण यो पटकको नतिजालाई निकै चासोका साथ हेरिएको छ ।

काँग्रेसकै अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी पनि नुवाकोट २ मा प्रतिस्पर्धामा छन् । वाम गठबन्धनले नारायणप्रसाद खतिवडालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रको नतिजा पनि रोचक हुने आँकलन छ । – गोरखापत्रबाट

सोमबार, ११ मंसिर, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*