पहिलो चरणको मतदान सुरु : प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान

संवाददाता । काठमाडौं, १० मंसिर ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजे देखि शुरु भएको छ ।

प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरै देखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसकेको तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान हुनेछ ।

मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ । ‘सम्पूर्ण तयारी भइसकेकाले मतदाताले विवेकपूर्ण निर्णय गर्ने पालो आएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘उत्साहका साथ उपस्थित भएर मतदानमा सरिक हुन आम मतदातालाई आग्रह गर्छु ।’

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान हुँदैछ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् ।

संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् । ती जिल्लामा दुवै सभाको समानुपातिक सिटका लागिसमेत मतदान हुनेछ ।

संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार निर्वाचन क्षेत्र सीमा निर्धारण गरेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । आज हुँदै गरेको निर्वाचनमा २ हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अपराह्न ५ बजे सम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ ।

आइतबार, मंसिर १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*