पारिजातको कविता : जुठी दमिनीको अभिव्यक्ति

सांकेतिक तस्बिर (इन्टरनेटबाट)

कविता/पारिजात

जदौ हजुर…
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी,
आमाको एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरिबको घरमा बत्ती बलेकी थिएँ हजुर बत्ती ।

तर कर्मको खोटी अलच्छिन् मोरी
बाह्र वर्ष नपुग्दै पोली खाएँ
बा-आमा
असारको पैह्राले किचेर
एक चिहान परे कठै
हाट भरेर फर्केकाहरू ।

कहाँ जाने अभागिनी
आँखोको सोझी
मावल हुत्तिएकी
सौतेनी माइज्यू छोरीको रूपमा
यो त डङ्किनी रहिछ
आमा-बाबु ज्युँदै खाई भन्दै भुत्लाउने गर्थी ।

हजुर मालिक,
मेरो बिहे नभएको होइन
ढाँटेर के हुन्छ ?
सौतेनी माइज्यूले उसैको भाइको सौता हाली दिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न गएकी,
मालिक हजुर,
कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनम
मुखिनीले न्वारान गरिदिई
जुठी,
जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।

पुर्परोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन्
हाम्लाई यस्तो
माया पिरती क्यै थाहा छैन हजुर
आइमाईको जातले छोराछोरी पाउनु कुन महाभारत
भयो त !

टालाटुली बटुली
आफैं सिलाकी यो चोली
जुम्रा पर्छ
घरिघरि केलाउन पस्न पर्छ कुनाकुनी,
लाज सरम एउटै हो हजुर
आइमाई जातको
रूझ्नु, भिज्नु, चिसिइनु, खट्नु
सुख्खा खोकी लाग्छ
ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन
बाँच्ने मन छैन मालिक,
साह्रै नै बाँझो भएको छ
ऊ त्यो वनमारा फैलिई झ्यामिएको पाखा जस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्, जोतिदिनुस् क्यार
जदौ हजुर…
बीउ छर्न लायक बनाई दिनुस् क्यार ।

parijat

            – पारिजात      

 बिहीबार, असोज ५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*