प्रदेश नं ३ को मुख्यमन्त्री बन्न स्थापितदेखि पाण्डेसम्मको दाबी

आकांक्षीमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित, एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र प्रसाद पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत

काठमाडौं, २९ मंसिर ।

मंसिर २१ गते सम्पन्न निर्वाचनमा वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको हो । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् । मुख्यमन्त्रीका रूपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र प्रसाद पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत देखिएका छन् ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेकी छन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् । ‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ,’ उनले भनिन्, ‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताए । ‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’ उनले भने,‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’

प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ । काठमाडौं महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौंको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए ।

“मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नं ३ लाई चाँडै नै विकास गर्ने थिएँ,’ उनले भने । पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उनको भनाइ छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एकरएक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोट जिल्ला रहेका छन् । रासस

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*