प्रदेश २ का आठ जिल्लामा चुनावपछि दशैँको छुट्टै रौनक

महेन्द्रनगर (धनुषा), १२ असोज ।

धार्मिक एंव पर्यटकीय नगरी जनकपुरधाममा यस वर्ष विशेष तामझामका साथ दशैँ मनाइँदै छ ।

यो उत्सवलाई दुई दशकपछि स्थानीय तहका प्रतिनिधि चयनले थप विशेष बनाएको छ । यतिखेर जनकपुरमा दोहोरो खुशीको माहोल छ । धनुषासँगै प्रदेश नं. २ का आठ जिल्लामा भएको स्थानीय तहको चुनावमा जितसँगै दशैँको छुट्टै रौनक छाएको देखिएको छ ।

दशैँ शुरु भएसँगै बजारमा चहलपहल पनि बढेको छ । सामान्यतः दशैँमा नयाँ सामान किनमेल गर्ने चलन नेपाली समाजमा रहँदै आएको छ । यसले बजारमा दिनहुँ भीड बढ्दैछ ।

शहरबजारमा आएर विभिन्न पेसा–व्यवसाय गर्दै आएका पनि दशैँ मान्न आफ्नै थातथलो फर्कने गरेकाले पनि किनमेल बढी हुने गरेको छ । त्यसैले व्यवसायीले अन्य बेलाको भन्दा दशैँका बेला निकै बढी व्यापार गर्ने गरेका छन् । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ ।

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको, समाजमा शान्तिसुरक्षा बहाल रहेको अवस्थामा व्यापार–व्यवसाय वृद्धि हुनु स्वाभाविक भएको व्यवसायीहरु बताउँछन् । तर तराईका केही जिल्लामा आएको बाढीका कारण कतिपय स्थानमा दशैँ खल्लो पनि भएको छ । यति हुँदाहुँदै पनि यस वर्षको दशैँलाई धेरै नेपालीले उल्लासपूर्ण रूपमा मनाउँदैछन् ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर उद्योग वाणिज्य सङ्घका संयोजक रामजी सिंहले भने, “२० वर्षपछि भएको निर्वाचन कस्तो होला रु के होला ? भन्ने मनमा भय थियो । घटना, दुर्घटना के होला भन्ने आशंका थियो तर कहीँकतै अप्रिय घटना नभई शान्तिपूर्ण निर्वाचन भएका कारणले पनि दशैँ अझ राम्रो र खुशियालीका साथ मनाउन पाइएको छ ।”

‘म आफैँ पनि यो निर्वाचनमा के होला, कस्तो होला भन्ने मनमा भय पालेर बसेका थिएँ, तर जुन खालको मनमा डर थियो, त्योभन्दा ठीक विपरीत सोचेभन्दा एकदमै फरक किसिमले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो, यसले यहाँका उद्योगी–व्यवसायीलाई थप उत्साह जगाएको छ, यसले यहाँका सर्वसाधारणमा खुशी देखिएको छ,” उनले भने ।

जनकपुरमा दशैँको मुख्य आस्थाको केन्द्र रहेको राजदेवी मन्दिर सिङ्गारिएर झकिझकाउ बनाइएको छ । घटस्थापनादेखि नै हरेक साझ राजदेवी मन्दिर परिसरमा भजनसन्ध्या गरिँदैछ । यसका लागि भारतबाट सांस्कृतिक टोली आएको छ । राजदेवी, बौद्धीमाई, आमरथाना अन्नपूर्णदेवी र दुर्गामन्दिर तथा चोकचोकमा देवी दुर्गाको प्रतिमा स्थापना गरिएको छ । दशैँमा पूजापाठ र भव्य मेला आयोजना गर्न स्थानीय युवा क्लबले शक्तिपीठमा पण्डाल लगाएका छन् ।

प्राचीन मिथिलाको राजधानी र विश्व प्रसिद्ध जानकी मन्दिरका कारण धार्मिक पहिचान बनाएको जनकपुरमा दशैँको अवसरमा लाग्ने मेलाले अझ उचाइ पाएको स्थानीयवासी बताउँछन् । दशैँमा राजदेवी मन्दिर यहाँको मुख्य केन्द्र हो । छागर (बोका) बलिका लागि प्रख्यात छ— यो मन्दिर । महावीर युवा कमिटी र राम युवा कमिटीले संयुक्त रूपमा त्यसको व्यवस्थापन गर्दै आएका छन् ।

शक्तिपीठ सजावटमा लाखौँ खर्चने युवा कमिटीले बलि चढाउन आएका भक्तजनलाई निःशुल्क भोजनको समेत व्यवस्था गरेको राम युवा कमिटीका अध्यक्ष शम्भु साह प्रेमीले बताए । स्थानीय निकायको चुनावले दशैँको शुरुवातमा मेलामा प्रभाव परे पनि परिणाम घोषणासँगै भक्तजनको भीड बढेको उनको भनाइ छ ।

जनकपुरका शक्तिपीठबाहेक यहाँका क्लबले माटोको मूर्ति स्थापना गरी दुर्गा मेला लगाउँदै आएका छन् । रामानन्द चौकामा महिना दिन लगाएर दुर्गा पूजाका लागि माटोको मूर्ति तयार गरिएको छ । १८ वर्षदेखि लाग्दै आएको दुर्गा पूजालाई यसपालि रामानन्द युवा क्लबले निरन्तरता दिएको हो । मूर्ति, पण्डाल, प्रसाद तथा सरसजावटमा नौ लाखभन्दा बढी खर्च भएको रामानन्द युवा कल्बका अध्यक्ष मनमोहन साहले बताए ।

रामानन्द चोक, भ्रमरपुरा चोक, मुरली चोक, कदम चोकमा पनि पूजा आयोजना गरिएको छ । आकर्षक पन्डाल र बिजुली बत्तीका कारण जनकपुर झिलिमिली बनेको छ । यहाँ क्लबले चन्दा संकलन गरी दुर्गा पूजामा लाखौँ खर्चंदै आएको छ । विजयादशमी शुरुसँगै यहाँका शक्तिपीठ आकर्षक रूपले सिङ्गारिने गरिन्छ । त्यसैले अहिले शक्तिपीठ तथा दुर्गा पूजास्थलको आवरण नै फेरिएका छन् । आकर्षक प्रवेशद्वार, रंगीचंगी पण्डाल, बालबालिकालाई लक्षित गरी निर्मित खेल–तमासा, रामहिडोला लगायतका मनोरञ्जनका साधन एवं भक्ति गीतको उच्चारणले यहाँको वातावरण रोमाञ्चक बनेको छ ।

राजा जनकको गृहदेवीका रूपमा पूजित राजदेवी मन्दिर, अमरखनादेवी, बौधी माई, पियरियामाई, देवी चोकस्थित राजदेवी मन्दिर, पल्टीमाई लगायतका शक्तिपीठ बेहुलीझैँ सिङ्गारिएका छन् ।

समाजिक सङ्घसंस्थाको सरसजावट, उत्साह र चहलपहलले जनकपुरमा दशैँको फरक पहिचान बनाएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशंकर साहले बताए । “दशैँ मेलाले पर्यटन र व्यापारमा प्रत्यक्ष फाइदा पुगेको छ,” अध्यक्ष साहले भने ।

जनकपुरमा दशैँलाई केन्द्रित गर्दै सुरक्षा सतर्कता समेत अपनाइएको प्रहरी उपरीक्षक चक्रबहादु सिंहले बताए । उनले विगतमा चाडपर्वमा भएका आपराधिक घटनालाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षाका लागि सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइएको पनि बताए । –अजयकुमार साह/रासस

    बिहीबार, असोज १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*