प्रदेश २ को पहिलो महिला प्रमुखमा रीनाकुमारी शाह

रौतहट, ६ असोज ।

प्रदेश नं २ कै पहिलो महिला प्रमुखका रुपमा रौतहटको मौलापुुर नगरपालिकामा रीनाकुुमारी साह निर्वाचित भएकी छन् ।

नेकपा (माओवादी केन्द्र) को टिकटबाट रीनाकुुमारी निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् ।

उनीसँगै माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर जयसवाल मौलापुुर नगरपालिकाको उप–प्रमुखमा निर्वाचित भएका छन् । प्रमुख साहले कुल तीन हजार, ९१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका प्रमुखका उम्मेदवार धीरज भन्ने रवीन्द्र पटेलले दुुई हजार २०८ मत प्राप्त गरे ।

यसअघि परोहा नगरपालिकाबाट नेपाली काँग्रेसका शेख वकिल प्रमुख र सुुगन्धी देवी गिरी उपप्रमुखमा निर्वाचित भइसकेका छन् । प्रमुखले कुुल छ हजार ३३० मत र उपप्रमुख गिरीले छ हजार ९० मत प्राप्त गरेका सथए । शेखका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अरुण जयसवालले चार हजार मत प्राप्त गरेका थिए ।

त्यसैगरी ईशनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकका सन्तोष मेहता प्रमुखमा र हुुसेनी आरा खातुुन उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुख मेहताले पाँच हजार ७८५ र उपप्रमुख खातुुनले पाँच हजार २३६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिएका छन् ।

जिल्लाभरिका १६ नगरपालिका र दुुई गाउँपालिका गरी कुल १८ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी छ । देशमै चासोको केन्द्र रहेको चन्द्रपुुर नगरपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा, एमाले दोस्रो स्थानमा, माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा छन् ।

त्यसैगरी गौर नगरपालिकामा राजपा अग्रस्थानमा, एमाले दोस्रो स्थानमा र फोरम तेस्रो स्थानमा छन् । एघार स्थानीय तहमध्ये चार स्थानमा नेपाली काँग्रेस, चार स्थानमा मधेशवादी र तीन स्थानमा माओवादी केन्द्रको अग्रता छ ।

रीनाकुमारी साह (पार्टी नामकविता) : भूमिगत जीवनदेखि मेयरसम्मको यात्रा

रौतहटमा माओवादीले जित पक्का भएको दाबी गरेको स्थानीय तह मध्ये एक मौलापुर हो ।

दोस्रो संविधानसभामा माओवादीले निकै कमजोर प्रदर्शन गर्दा पनि रौतहट ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए, माओवादी नेता प्रभु साह ।  ३३ वर्षीया रीना उनै प्रभुकी पत्नी हुन् ।

पूर्वमन्त्री एवं वर्तमान सहरी विकास मन्त्री रहेका प्रभु साह सुरुमा डा। बाबुराम भट्टराई निकट मानिन्थे । तर, भट्टराई समूहले माओवादी छाड्दा पनि उनी मूलपार्टी माओवादीमै रहे ।

साहलाई संसदीय राजनीतिको चतुर खेलाडी मान्ने गरिन्छ । र, रौतहटमा जित हात पारेर उनले आफू खेलाडी रहेको थप पुष्टि गरेका छन् ।

माओवादी नेताहरुले मौलापुरमा पाएको सफलताको श्रेय प्रभुलाई दिने गरेका छन् । कतिसम्म भने चुनाव प्रचारमा रौतहट पुगेका कांग्रेसका एक नेताका अनुसार प्रभु साहको चुनाव क्षेत्र सडककै कारण चिनिने अवस्था छ । साहको चुनाव क्षेत्रमा अन्यत्रको तुलनामा सडकको अवस्था निकै राम्रो छ ।

मौलापुरको चुनावी परिणाम सार्वजनिक भएपछि मन्त्री प्रभु साहले भने, ‘मेरो चुनावमा उनको योगदान छ, उनको चुनावमा मेरो पनि भूमिका रहृयो । तर, जनताले उनको योग्यता हेरेर नै जिताएका हुन् । चुनावमा म एक दिन मात्रै गएको हुँ ।’

बिहेपछि माओवादीमा सक्रिय

प्रभु र रीनाको विवाह ०५६ मा भएको हो । त्यसको एक वर्षपछि रीना माओवादीमा सक्रिय भइन् ।

सशस्त्र द्वन्द्वकालमा रुकुम रोल्पासम्म पुगेकी उनी जिल्ला कमिटीमा बसेर काम गरिन् । तर, साह ०६४ मा सांसद भएपछि परिवारसहित काठमाडौं बस्दै आएकी थिइन् । त्यसपछि राजनीतिमा खासै सक्रिय भइनन् ।

माओवादी रौतहटका एक नेताका अनुसार मौलापुर नगरको मेयरका लागि माओवादीबाट ४र५ जनाको दाबेदारी थियो । तर, साह पत्नी रीनाले टिकट पाइन् । उनलाई उम्मेदवार बनाउँदा जित्ने भएकाले टिकट दिइएको माओवादीका जिल्ला नेताहरु बताउँछन् ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि दुई छोराहरुको हेरचाह एवं लगभग गृहिणीको जस्तै भूमिकामा रहे पनि अब रीनाले घर गृहस्थीबाट बाहिर निस्केर जनप्रतिनिधिको भूमिका खेल्ने अवसर प्राप्त गरेकी छिन् ।

दुई नम्बर प्रदेशको मेयरमा पहिली महिला बिजेता बन्न सफल भएकी रीनाले एसएलसीसम्म अध्ययन गरेकी छिन् ।

रीनाका बारेमा एक माओवादी नेताले भने– विगतमा राजनीतिमा खासै सक्रियता नदेखिए पनि उनी सक्षम नेतृ हुन् । उनीसँग नगरपालिका हाँक्न सक्ने क्षमता छ ।   (रासस/अनलाइनखबरको आधारमा)

   शुक्रबार, असोज ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*