प्रम ओली विश्वास–मत जित्न असफल, राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको हो ।

ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।

तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए ।

एमालेका झलनाथ खनाल(माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहे । एमालेका अनुपस्थित सांसदहरूमा क्रमशः १- झलनाथ खनाल, २- माधवकुमार नेपाल, ३- भीम रावल, ४- घनश्याम भुसाल, ५- सुरेन्द्र पाण्डे, ६- गोकर्ण विष्ट, ७- योगेश भट्टराई, ८- मुकुन्द न्यौपाने, ९- सोमप्रसाद पाण्डे, १०- जीवनराम श्रेष्ठ, ११- रामकुमारी झाँक्री, १२- गणेश पहाडी, १३- जयकुमार राई, १४- यज्ञराज सुनुवार, १५- नारायण खतिवडा, १६- पवित्रा निरौला खरेल, १७- भवानी खापुङ, १८- दीपकप्रकाश भट्ट, १९- विरोध खतिवडा, २०- पुष्पाकुमारी कर्ण, २१- झपट रावल, २२- मेटमणि चौधरी, २३- सरला यादव, २४- कृष्णलाल महर्जन, २५- कल्याणी खड्का, २६- निरादेवी जैरु, २७- कलिला खातुन, २८- लक्ष्मीकुमारी चौधरी, रहे ।

आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागी थिए । उनले विश्वासको मत प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु आवश्यक हुन्थ्यो ।

सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका हुन् । विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

 

New PM ka lagi aahwan

 

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसअघि प्रधानमन्त्री ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका थिए ।

यसैबीच, प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वत: काम चलाउमा सीमित भएको छ ।

सोमबार, वैशाख २७, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*