प्रम देउवाको औपचारिक भारत भ्रमण : १ देखि ५ भदौसम्म

काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा हुने भारतीय कूटनीतिक स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म हुने गरी हामी गृहकार्य गरिरहेका छौँ, नेपाली पक्षसँग कुराकानी गरेर चाँडै नै औपचारिक घोषणा गर्छौं,’ भारतीय कूटनीतिक स्रोतले नयाँ दिल्लीबाट टेलिफोनमा भन्यो । अहिलेको तयारीअनुसार प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् ।

उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा आन्ध्र प्रदेश जाने विषयमा छलफल भए पनि टुंगिन बाँकी रहेको स्रोतले बतायो ।

देउवाको भारत भ्रमणबारे मन्त्रालयमा भए यस्ता चर्चा

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे आइतबार उपप्रधानमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयमा सरोकारवाला अधिकारीसँग छलफल गरेका थिए । छलफलमा ऊर्जासचिव महेन्द्रबहादुुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, कृषिसचिव डा. सुरोज पोखरेल, अर्थ, आपूर्ति, गृह, वातावरण मन्त्रालयका सहसचिव सहभागी थिए । बैठकमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

सम्बद्ध स्रोतका अनुसार सो बैठकमा प्रधानमन्त्रीको भ्रमण मिति र आर्थिक एजेन्डाबारे छलफल भएको थियो । बैठकमा भारतका कारण पञ्चेश्वर बहुउद्देश्यीय प्राधिकरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सहमति जुट्न नसकेको चर्चा भएको थियो ।

‘जुलाईमा दुई पक्षबीच पञ्चेश्वरको डिपिआरमा सहमति जुट्ने गरी काम गर्ने भनिएको थियो । तर, प्रधानमन्त्रीको भ्रमणमा पनि यसबारे सहमति नहुने भयो,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यसपटक पनि पञ्चेश्वरबारे कुरा मात्रै हुने भयो ।’

२२ वर्षअघि देउवा प्रधानमन्त्री हुँदा भएको महाकाली सन्धिअनुसार पञ्चेश्वरको डिपिआर ६ महिनामा तयार गर्ने सहमति भएको थियो । यसपटक देउवाले यसबारे चासो राखेका छन्, तर प्राविधिक तहमा सहमति जुट्न नसक्दा यसपटक निर्णय हुने सम्भावना नरहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

‘उपप्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको भ्रमण तयारीका सन्दर्भमा जानकारी लिनुभएको हो, कुराकानी चलिरहेको छ, कुनै टुंगिसकेको छैन,’ उपप्रधानमन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंले भने । उनका अनुसार महराले सोमबार लगानी बोर्डका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । (नयाँ पत्रिका)

      सोमबार, साउन १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*