प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

मुम्बई । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको माघ २३ गते सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा माघ २३ गते बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् । लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । कोभिड निमोनिया भएपछि लतालाई २९ दिनसम्म अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार हुन नसकेपछि आइतबार ८ बजेर १२ मिनेटमा उनको ढुकढुकी सधैंका लागि बन्द भयो ।

राजकीय सम्मानका साथ अन्त्येष्टि

Lata Mangeshkar 2

लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि भएको छ । मुम्बईको शिवाजी पार्कमा उनको अन्त्येष्टि गरिएको हो ।

आफ्नो जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताको आइतबार बिहान ८ बजेर १२ मिनेटमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण र निमोनिया भएपछि २९ दिनदेखि उनको अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अन्त्येष्टि कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संगीतकर्मी, बलिउडकर्मी, सर्वसाधारण लगायत हजारौंको उपस्थिति थियो ।

उनको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । दुई दिनसम्म सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

२८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले आफ्नो जीवनकालमा विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।

कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लताको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लताको निधनले देशमा खालीपन महसुस भएको उल्लेख गरेका छन् ।

 

लतालाई भारतमा ‘स्वर कोकिला, दिदी र ताई’ जस्ता उपनामले पनि बोलाइन्छ । विश्वभरका उनका लाखौं फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे । तर, विश्वकै लोकप्रिय गायिकाले सरस्वती पूजाको दिनमा यो धर्तीलाई छाडेर बिदा भइन् ।

लता दुई वर्षसम्म घरबाट बाहिर निस्किएकी थिइनन् । उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग अन्तरक्रिया त गर्थिन्, तर कोरोना कहर सुरु भएपछि उनी घरभित्र आराम गरिरहेकी थिइन् । उनको घरमा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि लतालाई ८ तारिखमा महामारीले छोएको थियो ।

३६ भाषामा ५० हजार गीत रेकर्ड

Lata Mangeshkar 1

लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो । उनको स्वर विनाका चलचित्रका गीत अपूरो हुन्थे ।

उनले सन् २०१५ मा रिलिज भएको ‘डुन्नो वाय’मा अन्तिम गीत गाएकी थिइन् । लता मंगेशकर ८० वर्षसम्म गीतसंगीतमा सक्रिय रुपमा लागेकी थिइन् । सन् १९२९ सेप्टेम्बर २९ तारिखमा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ सालबाटै गीत गाउन थालेकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।

लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् । लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो ।

कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । भारतका प्रधानमन्त्री, रक्षा मन्त्रीसँगै विभिन्न दलका नेता, बलिउडकर्मी, संगीतकर्मी र उनका शुभचिन्तकले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

 

 पाँच वर्षकै उमेरमा पिताले चिनेको प्रतिभा

पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका बारेमा एक भनाइ थियो, उनी न कहिल्यै सार्वजनिक रुपमा आफू रुन्थे न अरुले रोएको मन पराउँथे । तर ७ जनवरी सन् १९६३ मा लता मंगेशकरले कवि प्रदीपको गीत ‘ए मेरे वतनके लोगो’ गाइन्, तब भने नेहरुले आँशु रोक्न सकेनन् । गीत सुनेर निकै भावुक भएका नेहरुका आँखाबाट आँशु झरे ।
‘ए मेरे वतनके लोगो’ गीत गाएर लता स्टेज पछाडि कफी पिइरहेको बेला निर्देशक महबुब खाँले उनलाई नेहरुले बोलाएको खबर सुनाए । निर्देशक महबुबले लतालाई प्रधानमन्त्री जवाहरलाल नेहरु सामु लगे । ‘यिनै हुन् हाम्री लता, कस्तो लाग्यो यिनको गायकी’ भन्दै उनले नेहरुलाई सोधे । ‘निकै राम्रो लाग्यो । यिनले मेरो आँखामा पानी भरिदिइन्’ भन्दै नेहरुले लतालाई अंगालो मारे ।

बुवा दिनानाथ भित्र आउँदा ढोकामा उभिएर लताले गाएको सुनिरहेका थिए । उनले लताकी आमालाई बोलाएर मलाई हाम्रो घरमा यति असल गायिका छिन् भनेर थाहा थिएन भनेका थिए ।
‘ए मेरे वतनके लोगो’को मास्टर टेपलाई विविध भारतीको स्टेसन पुर्‍याइयो । उनको यो गीत निकै मन पराइयो र यो ‘नेसनल रेज’ बन्यो ।

सन् १९६४ मा नेहरु मुम्बई आउँदा लताले ब्रेबार्न स्टुडियोमा उनीसामु आरजु फिल्मको गीत ‘अजि रुठकर कहाँ जांगे’ गाएकी थिइन् । तर, नेहरुलाई फेरि एक पटक ‘ए मेरे वतन के लोगो’ सुन्नु थियो । उनले लतालाई एक कागज पठाउँदै फेरि ‘ए मेरे वतन’ सुन्न चाहेको बताए । लताले नेहरुको यो गीत सुन्ने इच्छा पूरा गरिन् ।

‘बरसात’ फिल्मपछि करिअरले लियो उचाइ

सन् १९४९ मा चलचित्र ‘अन्दाज’ रिलिज भएपछि भारतीय संगीत दुनियाँको पहिलो पाँच स्थानमा सधैं लताको नाम रह्यो । तर आफू ८० वर्षको भएपछि लताले आफ्नो सांगीतिक यात्राको उचाइ राज कपुर र नरगिस अभिनित चलचित्र ‘बरसात’ आएपछि चुलिएको बताएकी थिइन् ।

‘सन् १९५६ मा मेट्रो मर्फीले संगीतकारलाई गायक खोज्न पूरै भारत पठायो, तर हामीले लताको जस्तो प्रतिभा कहीं भेटाउन सकेनौं । यो हाम्रो सौभाग्य हो कि लता हाम्रो जमानामा संगीतको दुनियाँमा आइन्,’ लताका बारेमा मदन मोहनले भनेका छन् ।

बडे गुलाम अली खाँको टिप्पणी

सन् १९४८ मा ‘महल रिलिज भएपछि गायिका गीता रायलाई छाडेर लता मंगेशकरका सबै प्रतिद्वन्द्वी पछि पर्दै गए । जसमा शमशाद बेगम, जोहराबाई अंबालावाली, पारुल घोष र अमीरबाई कर्नाटकी रहेका थिए ।

सन् १९५० मा लताले ‘आएगा आने वाला’ गाउँदासम्म अल इण्डिया रेडियोमा चलचित्रका गीत बजाउन नपाइने नियम थियो । त्यसबेला रेडियो सिलोन पनि थिएन । भारतीयहरुले पहिलो पटक लताको गीत रेडियो गोवामा सुनेका थिए । गोवा त्यो समयमा पोर्चुगलको कब्जामा थियो । गोवा सन् १९६१ मा मात्रै स्वतन्त्र भएको थियो ।

‘एकपटक म बडे गुलाम अली खाँलाई भेट्न अमृतसर गएँ, सामान्य कुराकानी गरिरहँदा रेडियोमा ‘ए जिन्दगी उसिकी है जो किसीका हो गया’ बज्यो । कुराकानी गरिरहेका खाँसाब एकाएक शान्त भए । गीत सकिएपछि उनले भने, ‘कम्बख्त कहिल्यै बेसुरो गाउँदिनन् । यस टिप्पणीमा बुवाको प्रेम र एक कलाकारको लगाव अर्थात् नशा थियो’ प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराजले लताका बारेमा एक किस्सा सुनाएका छन् ।
लताले पाँच वर्षको उमेरबाट गाउन सुरु गरेकी थिइन् । नसरीन मुन्नी कबीरको पुस्तक ‘लता इन हर अन भ्वाइस’मा लताले पिता दिनानाथ मंगेशकरले गाएको देख्ने गरेको भएपनि पिताको गायकीसामु आफू कमजोर रहेको बताएकी थिइन् ।

‘एक दिन बुवाले एक जनालाई राग पुरिया धनाश्री सिकाइरहेका थिए । केही कामले बुवा एकछिन बाहिर जानुभयो । म बाहिर खेलिरहेकी थिएँ, मैले बुवाको शिष्यले गाएको सुनें । मलाई उसले सुरतालमा गाउन नसकेको लाग्यो । म ऊ नजिक गएँ र उसलाई गाएर सुनाउँदै यसरी गाउनुपर्छ भनेर सिकाएँ,’ उनले ‘लता इन हर अन भ्वाइस’मा भनेकी छन् ।

बुवा दिनानाथ भित्र आउँदा ढोकामा उभिएर लताले गाएको सुनिरहेका थिए । उनले लताकी आमालाई बोलाएर मलाई हाम्रो घरमा यति असल गायिका छिन् भनेर थाहा थिएन भनेका थिए ।

‘गीत सुनेको भोलिपल्टबाट बुवाले बिहान ६ बजे उठाएर तानपुरा उठाउन लगाई आजबाट तिमीले संगीत सिक्नुपर्छ भन्नुभयो,’ लताले भनेकी थिइन् । उनको सांगीतिक यात्राको सुरुवात त्यही पुरिया धनाश्री रागबाट पाँच वर्षको उमेरमा भएको थियो ।

गुलाम हैदर र अनिल विश्वासबाट सिकिन्

लता मंगेशकरले कैयौं संगीतकारसँग काम गरिन् । तर गुलाम हैदरका लागि उनको मनमा विशेष स्थान थियो । उनले लतालाई बीटमा आउने गीतलाई सही ढंगले उठाउन सिकाएका थिए । अनिल विश्वासले लतालाई श्वासमा नियन्त्रण गर्न सिकाएका थिए ।

हरिश भिमानीले आफ्नो पुस्तक ‘लता दिदी अजिब दास्ता हैं’ मा अनिल दाले श्रोतालाई नबिझाउने गरी गीत गाउँदा श्वास कहाँ छोड्ने, कहाँ रोक्ने जस्ता कुरा सिकाएका थिए । गीतको पहिलो र नयाँ अक्षरलाई अलि जोडले गाउन अनिलले लतालाई भनेको उल्लेख गरेका छन् ।

उर्दू सुधार्नमा दिलीपकुमारको हात
लताले हिन्दी मात्रै नभई विभिन्न भाषाका गीतमा स्वर भरेकी छन् । लतालाई उर्दू भाषाका शब्द उच्चारणमा बलिउड अभिनेता दिलीप कुमारले सहयोग गरेका थिए ।

भिमानीले पुस्तक ‘लता दिदी अजिब दास्ता है’मा अनिल विश्वास र लता मंगेशकर लोकल ट्रेनबाट गोरेगाउँ जादै गर्दा बान्द्रा स्टेसनबाट दिलीपकुमार चढेको बताएका छन् ।

अनिलले दिलीपसँग गायिका लताको परिचय गराउँदा उनले मराठीको मुखबाट दाल भातको बास्ना आउने भन्दै उनीहरुलाई उर्दूको मिठासका बारेमा थाहा नभएको भनेका थिए । यो कुरालाई लताले मनमा लिएकी थिइन्, उनले उर्दू भाषा सिक्ने प्रण गरिन् । सफी साहेबले लताका लागि मौलवी उस्तादको व्यवस्था गरे, जसको नाम महबुब थियो । लताले महबुबबाट उर्दू भाषाको लवज सिक्न थालिन् ।

केही समयपछि चलचित्र ‘लाहोर’को सुटिङ भयो । सुटिङमा जद्दनबाई र उनकी छोरी नरगिस पनि थिइन् । लताले यसमा ‘दीपक बगैर कैसे परवाने जलरहे हैं’ गाइन् ।

गीत रेकर्डिङपछि जद्दनबाईले लतालाई बोलाएर उनको तारिफ गर्दै यस्तो लवज सबैको नहुने बताएका थिए ।

महबुब खाँलाई फोनमा ‘रसिक बलमा’ गाएर सुनाइन्

लताको जादुमयी स्वरले श्रोताको मन जितेको थियो । उनको आवाजमा सबै लठ्ठ पर्थे । सन् १९६१ मा प्रदर्शन भएको चलचित्र ‘जंगली’मा अभिनेत्री सायरा बानोका लागि ‘कश्मीरकी कली हुँ’ गाइन् । त्यसको १२ वर्षपछि ‘अनामिका’मा जया भादुरीका लागि गाएको ‘बाहोमे चले आओ’ गाउँदा उनको उचाइ अझै चुलिँदै गएको थियो र स्वरमा झन् निखारता आइरहेको थियो ।

सन् १९५८ मा महबुब खाँ ओस्करमा सहभागी हुन अमेरिकाको लस एन्जल्स गएका थिए । समारोहको दुई दिनपछि उनलाई हृदयघात भएको थियो ।

राजु भारतनले लता मंगेशकरको जीवनीमा महबुबलाई लताले बम्बईबाट फोन गर्दा उनले लताको गीत सुन्न चाहेको बताएका थिए । ‘मलाई तिम्रो गीत सुन्न मन छ, तर यो मुलुकमा तिम्रो गीत कसरी सुनुँ ? लताले महबुबलाई कुन गीत सुन्न मन छ भनेर सोधिन् । लताले उनका लागि फोनमै ‘रसिक बलमा’ गाएर सुनाइन् । एक हप्तापछि लताले फेरि त्यही गीत सुनाइन् । महबुबको स्वास्थ्य अवस्था ठीक हुनुमा ‘रसिक बलमा’को कति ठूलो हात थियो भनिन्छ । महबुबका लागि गाएको गीत लताका लागि पनि निकै विशेष रह्यो,’ राजुले लेखेका छन् ।

नुरजहाँ र लताको मित्रता अनि बाघा सीमाको भेट
पहिले भारतमा रहेकी नुरजहाँ पछि पाकिस्तान गएकिी थिइन् । उनीहरु दुवैबीच गहिरो मित्रता थियो । सन् १९५२ मा लता अमृतसर जाँदा उनलाई नुरजहाँलाई भेट्न मन लाग्यो । नुरजहाँ अमृतसरबाट दुई घण्टाको दुरीमा रहेको पाकिस्तानको सहर लाहोरमा बस्दै आएकी थिइन् ।

लताले उनलाई फोन लगाइन् । उनीहरुले घण्टौं कुराकानी गरे र दुवैले भारत–पाकिस्तानको बाघा सीमामा भेट्ने वाचा गरे ।

‘मैले उनीहरुको भेटघाटका लागि वातावरण मिलाएँ । यो भेट बाघा सीमा नजिकै सेनाको भाषामा ‘नो म्यान्स ल्याण्ड’ स्थानमा भएको थियो,’ प्रसिद्ध संगीतकार सी रामचन्द्रनले भनेका छन् ।

‘नुरजहाँले लतालाई देखेपछि दौडिंदै आइन् र अंगालोमा बेरिन्, वर्षौैैंसम्म बिछोडिएका साथीजस्तै गरी । दुवैका आँखामा आँशु थिए । उनीहरुलाई देखेर हामीले समेत आँशु थाम्न सकेनौं । उनीहरुबीचको मित्रता र भावुकताले सैनिक समेत रोए,’ सी रामचन्द्रनले उल्लेख गरेका छन् ।

नुरजहाँले लताका लागि लाहोरबाट बिर्यानी र मिठाइ ल्याएकी थिइन् । नुरजहाँसँग उनका श्रीमान पनि आएका थिए भने लताका साथ बहिनी मनिषा, उषा र साथी मंगला थिइन् । यसबाट थाहा हुन्छ संगीतका लागि कुनै चिज बाधा हुँदैन ।

नुरजहाँले लताका लागि लाहोरबाट बिर्यानी र मिठाइ ल्याएकी थिइन् । नुरजहाँसँग उनका श्रीमान पनि आएका थिए भने लताका साथ बहिनी मनिषा, उषा र साथी मंगला थिइन् । यसबाट थाहा हुन्छ संगीतका लागि कुनै चिज बाधा हुँदैन ।
मोहम्मद रफीसँग मनमुटाव

लताले अरु गायकसँग गीत गाएकी भएपनि मोहम्मद रफीसँग गाएका उनका गीतलाई श्रोताले निकै मन पराउँथे । ‘रफी साब र म एकपटक स्टेजमा गाउँदै थियौं, सर्वसाधारणको भीड थियो । ‘ऐसे हस हस के ना देखा करो, तुम सब कि तरफ लोग ऐसे हि अदाओ पर फिदा होते है ।’ यो लाइन गाउँदा रफी साब हाँस्न थाल्नुभयो, उहाँ हाँस्दा मैले पनि हाँसो रोक्न सकिन । दुवै हाँस्दा हामीले गीतको लाइन नै पूरा गर्न सकेनौं, जसका कारण आयोजकले पर्दा बन्द गर्नुपर्‍यो,’ रफीका बारेमा कुरा गर्दा लताले भनेकी थिइन् ।

सन् १९६० को दशकमा उनका गीतको रोयल्टीलाई लिएर रफीसँग मतभेद भयो । त्यसबेला मुकेश, तलत महमुद, किशोर कुमार र मन्ना डे लताको साथ थिए । जबकि, आशा भोस्ले मोहम्मद रफीलाई साथ दिइरहेकी थिइन् ।

त्यो मतभेदपछि चार वर्षसम्म उनीहरु नजिक भएनन् । तर पछि सचिन देव बर्मनले उनीहरुलाई नजिक ल्याए ।

सचिनदेव बर्मनले लतालाई पान दिन्थे

सचिनदेव लताका फ्यान थिए । जब उनी लताका गीत सुन्थे तब खुसीले उनको पिठ्यँ थपथपाउनुका साथै पान दिन्थे । सचिन पानका शौखिन भएका कारण पान जहिल्यै उनीसँग हुन्थ्यो । तर उनी मन वचनले नखाइ कसैलाई पान दिंदैनथे । तर उनले लताको स्वरका लागि पान दिएका थिए ।

एकपटक सचिन र लताबीच झगडा भयो । ‘मिस इण्डिया’ फिल्ममा लताले एक गीत गाइन् । सचिन लताले उक्त गीत सफ्ट मुडमा गाऊन भन्ने चाहन्थे । लताले पनि गाउन मञ्जुर गरिन् । तर लताले व्यस्त भएकाले केही दिनपछि गाउने बताइन् । केही दिनपछि बर्मनले रेकर्डिङको मिति तय गर्न कसैलाई पठाए ।

रेकर्डिङको मिति तय गर्न गएका व्यक्तिले लता व्यस्त छिन् भन्नुको साटो लताले गीत गाउन इन्कार गरेको सुनायो । यसबाट बर्मन रिसाए र लतासँग कहिल्यै काम नगर्ने बताए । लताले उनलाई फोन गरेर तपाईंले मसँग काम गर्दिन भनेर घोषणा गर्नुपर्दैन आजदेखि म आफैं तपाईसँग कहिल्यै काम गर्दिन भनिन् ।

केही वर्षसम्म बर्मन र लताबीच मनमुटाव रहेपनि पछि ‘बन्दनी’ चलचित्रमा उनका लागि ‘मोरा गोरा अंग लै ले’ गाइन् ।

क्रिकेटमा रुचि

लता मंगेशकर क्रिकेटकी शौखिन थिइन् । उनले सन् १९४६ मा पहिलो पटक मुम्बईको ब्रेबार्न स्टेडियममा भारत र अस्ट्रेलियाको टेस्ट म्याच हेरेकी थिइन् । उनले एकपटक इङ्ल्याण्ड र पाकिस्ताबीचको खेल पनि हेरेकी थिइन् । क्रिकेटका महान् खेलाडी डन ब्रेडम्यानले उनलाई आफ्नो हस्ताक्षर भएको चित्र दिएका थिए ।

लता मंगेशकरसँग राम्रा–राम्रा कारको पनि कलेक्सन थियो । उनले पहिलो कार सिलेटी रंगको हिलमेन किनेकी थिइन् । जसका लागि उनले त्यसबेला ८ हजार भारतीय रुपैयाँ खर्च गरेकी थिइन् ।

त्यसबेला लतालाई प्रतिगीतका लागि दुई सयदेखि पाँच सय रुपैयाँसम्म पारिश्रमिक दिइन्थ्यो । सन् १९६४ मा आएको ‘संगम’ फिल्मबाट भने उनले दुई हजार रुपैयाँ लिन थालिन् । उनले हिलमेन बेचेर पछि निलो रंगको शेवेरले कार किनिन् ।

लताले यश चोपडाको फिल्म ‘वीर जारा’का लागि गीत गाउँदा चोपडा आफ्नो भाइजस्तो भएकाले पारिश्रमिक लिन अस्वीकार गरेकी थिइन् । चलचित्र प्रदर्शन भएपछि यश चोपडाले लतालाई मर्सिडिज कार उपहार दिएका थिए । जिन्दगीका आखिरी दिनहरुमा पनि लताले चोपडाले उपहार स्वरुप दिएको मर्सिडिज चढिरहिन् ।

हीरा र जासुसी उपन्यासमा रुचि

लताले हीरा र जासुसी उपन्यास मन पराउँथिन् । सन् १९४८ मा ७०० मा आफ्नो लागि उनले हीराको औंठी बनाएकी थिइन् । जसलाई उनले बायाँ हातको तेस्रो औंलामा लगाउने गर्थिन् । लताले सुनको पाउजु लगाउने गरेको भएपनि सुनलाई भने त्यति मन पराउँदिनथिन् ।

उनलाई जासुसी उपन्यास पढ्न औधी मन पर्थ्यो । लतासँग सरलक होम्सका सबै पुस्तकको संग्रह थियो ।

उनलाई मिठाईमा जलेबी निकै मन पर्थ्यो । एक समय उनलाई इन्दौरको गुलाब जामुन र दही पनि निकै मन पर्दथ्यो । लता गोवन फिस करीको पनि शौखिन थिइन् ।

पकाउने कुरामा लताले सुजीको हलुवा निकै मीठो बनाउँथिन् । जस–जसले उनले पकाएको मटन खाएका थिए, उनीहरुले उनको हातको स्वाद कहिल्यै बिर्सिन सकेका थिएनन् । उनलाई किमोको समोसा पनि उत्तिकै मन पर्थ्यो । यसका साथै पानीपुरी, कागतीको अचार र ज्वारको रोटी उनलाई मन पर्ने खान्कीमा पर्दथे ।

२००१ मा ‘भारत रत्न’

लता मंगेशकर हिन्दी भाषी राज्यमा मात्रै होइन दक्षिण भारत लगायत अन्य थुप्रै देशमा लोकप्रिय छिन् । भारतमा उनको आवाजलाई ईश्वरको सबैभन्दा ठूलो बरदान भन्दै पुज्ने गर्छन् ।

लतालाई भारतीय चलचित्र उद्योगको सबैभन्दा ठूलो सम्मान ‘दादा साहेब फाल्के’ पुरस्कार सन् १९८९ प्रदान गरिएको थियो भने भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’बाट सन् २००१ मा सम्मानित गरिएको थियो ।

प्रसिद्ध गीतकार मजरुह सुल्तानपुरीले ‘लता मंगेशकर’ शीर्षकमा कविता लेखेर यसरी सम्मान दर्शाएका थिए–

जहा रंग ना खुश्बु है कोही

तेरे होठो से महक जाते हैं अफकार मेरे

मेरे लब्जो को जो छु लेती हैं आवाज तेरी

सरहदे तोडकर उड जाते हैं अशआर मेरे ।

लतालाई भारतमा स्वर कोकिला, लता दिदी र ताई जस्ता उपनामले बोलाइन्छ । उनले जीवनकालमा ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर भरेकी छन् ।

उनको भौतिक शरीर नरहे पनि विश्वभरका संगीतप्रेमीमाझ उनले गाएका गीत सधैं अमर रहनेछन् । (स्रोत : विभिन्न वेबखबरबाट सधन्यवाद साभार)

मंगलबार, माघ २५, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*