फरक स्वादको उपन्यास

पुस्तक–चर्चा / जयदेव गौतम

भरउमेर नेपाल र भारतका विश्वविद्यालयहरूमा प्राज्ञिक सेवा गरेर जागिरे जीवनका अन्तिम वर्षहरूमा त्रिवि नेपाली विभागमा सह–प्राध्यापक पदबाट विधिवत् अवकाश ग्रहण गरेका डा. हरिराज भट्टराईको सातौं कृति तथा चौथो उपन्यासका रूपमा बजारमा आएको सिर्जना हो, याङ्सिला । नेपाली साहित्यमा विरलै देखा पर्ने तिब्बत र चीनसम्मकै पृष्ठभूमिलाई आधार बनाएर अनि मध्यकालीन नेपाल–तिब्बत–चीनबीच रहँदै आएको सामाजिक–राजनीतिक–वैवाहिक सम्बन्धाई उजागर गर्दै याङ्सिला उपन्यासको रचना भएको छ । तसर्थ, यो परम्परागत वा अन्य नेपाली उपन्यासभन्दा फरक स्वादको छ । यसमा मिथक, किम्बदन्ती, हल्का यथार्थ र कल्पना–स्वेरकल्पनाको सुन्दर संगम एवम् स्तरीय मिश्रण छ ।

उपन्यासको कथानकअनुसार, कुब्लाई खानका नाति तत्कालीन चिनियाँ सम्राट टिमुर खान (अक्टोबर १५,१२६५–फेब्रुअरी १०,१३०७) को अनुरोधमा ११ जना मिस्त्री–कालीगढहरूको एउटा नेपाली राजकीय टोली प्यागोडा शैलीको भवन बनाउन नेपालबाट चीन जान्छ । उनीहरूको टोली पञ्चसरलाई टोली नेताका रूपमा स्वीकार गरेर अगाडि बढ्दै सप्तकोशीको चतरा, धरानको वराहक्षेत्र–पिण्डेश्वर–बुढासुब्बा क्षेत्र, मैवाखोला साँघु र सिद्ध किरात प्रदेश तथा लिम्बुवान हुँदै ताप्लेजुङको उत्तरी सीमाक्षेत्र ओलाङचुङगोला भई तिब्बत (ल्हासा) हुँदै चीन पुग्छ । बाटोमा पर्ने लिम्बुवानमा केही दिन बस्दा दुई मिथक किरात युवती –सानझाङ र तीजहाङ– सँग पञ्चसरको छोटो तर प्रेमिल भेट हुन्छ, उनीहरूले सँगै जीवन बिताउनुपर्ने सहमति हुन्छ (समाजले त्यस्तो निर्णय गर्छ) र पञ्चसर चीनबाट फर्केर नआउँदासम्म ती दुई युवतीले उसलाई कुरेर बस्ने कुरा हुन्छ ।

लिम्बु समुदायले आफ्नो गाउँमा आएका पाहुनालाई यथोचित आदर–सम्मान गर्छन् । पञ्चसर र ती दुई युवतीको विवाह हुने टुङ्गो भएपछि सिङ्गो समुदायले रातभर नाचगान र रमाइलो गर्छन् । पञ्चसरले चीनबाट फर्केर आएपछि, किरात प्रमुखको अनुरोधअनुसार, प्रमुख महत्वको एउटा भवन त्यहाँ निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्दछ ।

 

Foto (JDG)

          —जयदेव गौतम

तिब्बत पुगेपछि पनि नेपाली कालीगढ टोलीको भव्य स्वागत हुन्छ र त्यहाँ केही दिन उनीहरू पाहुना बनाइन्छन् । त्यहाँबाट राजकीय पाहुनाका रूपमा उनीहरू चीन पुग्छन् । जतिजना नेपाली कालीगढ छन्, त्यति नै सङ्ख्यामा चिनियाँ–तिब्बती युवतीहरू उनीहरूको भोजन, सेवा, सत्कारका निम्ति खटाइन्छन् ।

‘भवन निर्माणको सिलसिलामा ती युवती र नेपाली युवा मिस्त्रीहरूबीच हुने स्वभाविक सहकार्य, दोस्ती, यौन आकर्षण, अन्तर–सांस्कृतिक रोमान्स, प्रेम र विवाह तथा टोलीमा आइपर्ने सिर्जनशील तनाव, सम्राट टिमुर खानलगायत उनका प्रशासक–व्यवस्थापकहरूसँग र भवन निर्माण टोलीका सदस्यहरूबीच भएका अनेक मानसिक–आन्तरिक द्वन्द्व र हर्ष, उन्माद र रमाइला प्रसङ्गहरू छन् । प्रणय–अनुभव सन्दर्भमा अनुभवी नारी पात्र गोलाको मुखबाट मेलम्चीलाई सुनाउँदै उपन्यासकार भन्छन्– ‘तल पर्दा धेरै कुरा सजिलो हुन्छ । जो माथि हुन्छ उसको जवाफदेही पनि बढी हुन्छ नि । माथि हुनेले छाताको काम गर्नुपर्छ । तल पर्दाको आनन्द अर्कै छ, क्यै गर्नै पर्दैन, बेलाबेला साथ दिए जस्तो गर्दा पुगिहाल्छ । मलाई त आफू तल पर्दा नै जीवनको वास्तविक सुख लिन सकिन्छ भन्ने लाग्छ । माथिकाले नै बढी श्रम पनि गर्नुपर्छ, पसिना बगाउनुपर्छ । यस्ता कुरालाई वस्तुगत रूपले होइन, भावगत रूपले लिनुपर्छ । त्यसैले तल पर्नेहरूको माथिल्लो स्तरको उँचाइ कसले बुझ्न सक्छ र ?’ यसबाट उपन्यासकारले के सन्देश दिन खोजेका हुन्, बुझ्न कठिन छ ।

चीनमा करिब दश वर्ष बसेर प्यागोडा शैलीका दुई विशाल एवम् सुन्दर भवन बनाएपछि पञ्चसरको टोली नेपाल फर्किन्छ । फर्किँदा पञ्चसर आफ्ना भावनाको रूपमा याङ्सिला र विवेकका रूपमा मेलम्ची नाम गरेका दुई युवतीलाई श्रीमतीका रूपमा सँगै लिएर फर्किएको हुन्छ । नेपालमा बुद्ध पूर्णिमाको दिन पारेर कान्तिपुर, ललितपुर र भादगाउँका राजाहरूले संयुक्त रूपमा पञ्चसरहरूको सम्मान गर्छन् । एक दिन सपनामा एक देवीले याङ्सिलालाई दर्शन दिन्छिन् र सोही अनुसार पञ्चसरले उनलाई काठमाडौंबाट पूर्वोत्तरतिरको एउटा रमणीय पहाडी स्थानमा पु¥याउँछ जुन स्थानलाई हेलम्बु भनी नामाकरण गरिन्छ । याङ्सिला ‘हेलम्बु देवी’ मा रूपान्तरित हुन्छिन् । उता पञ्चसरलाई पर्खिरहेका दुई किराती युवती सानझाङ र तीजहाङको स्मृतिमा त्यस ठाउँको नाम नै ‘मेन्छ्यायेम’ राखिन गएको हो भन्ने भनाइ छ (लिम्बु–किराती भाषामा तरुनीलाई ‘मेन्छ्या’ भनिन्छ) । पञ्चसरकी अर्की पत्नी मेलम्ची भने कान्तिपुरमै अग्निगर्भा माता भएर रहन्छिन् ।

पञ्चसर र मेलम्चीबाहेक मौनी अर्थात् मन्मथ पनि उपन्यासको एक प्रमुख पात्र हो । ऊ पञ्चसरको निकटतम साथी पनि हो । मौनी बोल्न सक्दैन । केही भन्नु पर्दा उसले कालो सिलोटमा लेखेर भन्ने गर्छ । यसरी बोल्दा पनि ऊ थोरै बोल्छ तर गहिरो कुरा बोल्छ ।

सामान्यतया विषयवस्तु हेर्दा ऐतिहासिक देखिए पनि उपन्यासमा इतिहास थोरै छ बरु पुरुष–स्त्री सम्बन्ध, माया–प्रेम, यौन–मनोविज्ञान, भवन निर्माण कला र सौन्दर्य अनि मानव–चरित्र एवम् जीवन–दर्शन आदिबारे विस्तारमा पढ्न पाइन्छ । कतिपय ठाउँमा झिनामसिना वर्णनहरूले गर्दा उपन्यासलाई अनावश्यक रूपले लम्ब्याइएको महसुस हुन्छ ।

उपन्यासको भाषा क्लिष्ट भन्न मिल्ने गरी कठिन छ । धेरैजसो त पाठकलाई यो उपन्यास पढ्न बृहत् नेपाली शब्दकोष नै लिएर बस्नुपर्ने हुन्छ । उपन्यासमा प्रयोग भएका त्यस्ता शब्दहरूमध्ये केही यस्ता छन्– स्मिति, चर्वण, सर्वश्राव्य, त्राटन, वारुणी, वंकिम पथ, पुरस्सर, ताच्छिल्यपूर्वक आदि । उपन्यासकारले क्लिष्टताको स्तरसम्म संस्कृतका तत्सम शब्दहरू (त्यसो त यो लेखकको आफ्नै विशिष्ट शैली पनि हुनसक्छ) को भरमार प्रयोग गरेका छन् । एउटा उदाहरण हेरौँ– किन्नर देशका यी सुन्दरी सुवासहीन रहेछन् गुराँसजस्ता । यी त खसखसको हावासँग खेल्दा रहेछन् । कस्तुरीबिनाको भण्डारमा बस्ता रहेछन् । अमोघ सौन्दर्य र अङ्गविलासको लालित्यपूर्ण सञ्चरणले जुन भाव सम्प्रेषित हुन्थ्यो, चपल उत्कण्ठित भावगन्धले सम्पुटित भएर जुन चिर–नवीन राग प्रस्फुटित हुन्थ्यो, पञ्चसर त्यसकै चर्वणमा फर्की–फर्की डुब्ने गथ्र्यो– यौवनभावले ।
उपन्यासकारले ठाउँठाउँमा प्रयोग गरेको एउटा वाक्यांश छ– फेरि अर्को अनुच्छेद पारेर भन्यो÷भनी । कुराकानी भइराख्दा एउटा सानो वा ठुलो अनुच्छेदकै बीचमा पनि आइरहने यो वाक्यांशको प्रयोग चाहिँ बडो विचित्रको प्रतीत हुन्छ ।

पुस्तकको भूमिकामा डा. गोविन्दराज भट्टराईले भने झैँ, उपन्यासमा भाषा, धर्म, संस्कृति, अरू ऐतिहासिक तथ्याङ्क र भौगोलिक वृत्तान्तको अभाव छ । ‘… यस्तो मिथक, किम्बदन्ती, इतिहास, किञ्चित यथार्थ र अरू कल्पनाले बुनिएको कृतिमा देश र कालको परिसीमा धूमिल हुनु स्वाभाविक छ ।’ उपन्यासमा प्रमुख रूपमा खड्किने यिनै पक्ष हुन् । सम्राट टिमुर खानबाहेक अन्य कुनै पात्रको नामबाट ऐतिहासिकता वा समयको अनुमान झल्किँदैन । उपन्यासको यथार्थ यस्तो भए तापनि एक ठाउँ उपन्यासकार लेख्छन्– नीति र संस्कृतिको चेतनाले मानवलाई कतिपय ठाउँमा पछि पनि पार्छ अनि कतिपय ठाउँमा सम्मानित र सुरक्षित पनि । परिणाम हितकर नै होला, त्यो भविष्यको कुरा हो । तर नीति र संस्कृतिका अग्ला पर्खालले घेरिएर आत्मवञ्चनाको पीडामा वर्तमाान थकित हुन्छ । के यस्तो कुरा प्रिय लाग्न सक्थ्यो र वयस्क मानवलाई, परदेशको जीवनलाई ?

समग्रमा ३४६ पृष्ठ (डा.गोविन्दराज भट्टराईको १३ र विक्रम सुब्बाको ९ र लेखकीय ६ पृष्ठसमेत) लामो भए पनि उपन्यासको अन्त्य भने निकै हतारोमा गरिए जस्तो देखिन्छ । मूलपात्र पञ्चसर चीन जाँदै गर्दा समयाभावले नभ्याउने भए पनि फर्किँदा किराँत प्रदेशमा विशाल भवन बनाइदिने वाचा गरेको हुन्छ । चीनबाट फर्केर कान्तिपुरमा केही समय बिताएपछि ऊ आफ्नो वाचा सम्झेर किराँत प्रदेश पुग्छ तर त्यहाँ ऊ आफूलाई पर्खिबसेका दुई चिरयौवना किराँती युवती सानझाङ र तीजहाङसँग डुल्ने–फिर्ने गरेर मात्र फर्केको देखिन्छ । ती दुई युवती उसका दुई श्रीमती पनि थिए भने आफ्नो पतिलाई उनीहरूले कसरी एक्लै कान्तिपुर फर्किने अनुमति दिन सके ? भवन बनाउने प्रसङ्ग के भयो ? सिद्ध किरातको प्रतिक्रिया के रह्यो ? यी र यस्ता प्रश्नहरूबारे उपन्यास मौन छ ।

उपन्यासले मध्यकालीन समयलाई कथानकको पृष्ठभूमिका रूपमा रोजेको भए पनि भाषा भने आधुनिक समयको छ । शिक्षालयहरू नै नभएको त्यो समयमा उपन्यासका पात्रहरूले बोल्ने भाषा अत्यन्त माझिएको र उच्च शिक्षितहरूले बोल्ने किसिमको छ । बीचबीचमा गीत, कविता र वाहकमार्फत संदेशको आदानप्रदान हुने जस्ता प्रसङ्ग वर्णन भए पनि त्यो बेलाको समयमा अहिलेको बोली नसुहाउने किसिमको ठहरिन्छ । पात्रहरूको बोलीवचनमा लेखक पूर्णतः हावी देखिन्छन्, जस्तो– एक ठाउँ (पृष्ठ २००) मा पञ्चसरले राष्ट्रकवि माधव घिमिरेको कवितांश भन्छ, ‘या वीर बन्छन् वसुधैव भोगी । या बन्दछन् जीवनमुक्त योगी ।।’

अन्त्यमा, उपन्यासको शीर्षकबारे नै पनि प्रश्न उठ्छ– यसको शीर्षक किन याङ्सिला राखिएको होला भनेर । याङ्सिला एकजना नारी पात्र हो तर उपन्यासको प्रमुख पात्र ऊ होइन, जसरी पञ्चसर र मेलम्ची छन् । याङ्सिलाको प्रसङ्ग पनि त्यति धेरै ठाउँमा छैन । उसलाई कुनै प्रभावशाली पात्रका रूपमा पनि देखाइएको छैन, कुनै महत्वपूर्ण भूमिका पनि खेलेको देखिँदैन । याङ्सिला नामसित कुनै लेखकीय मोह भए बेग्लै कुरा ।

शनिबार, २२ मंसिर २०७५ मा प्रकाशित /Published on Saturday 08 Dec 2018

यो पनि हेर्नुहोस् :    https://www.kantipurdaily.com/koseli/2018/11/24/154302703704498624.html?fbclid=IwAR3imtC5IORE1-0UFgYlGTC5EWP3m38rsRQdN6ibeO3XUEVpi8yrHR6t_ws

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*