फिफा विश्व कप–२०२६ आयोजना गर्न अमेरिका, क्यानडा र मेक्सिकोको बिड

 

खेल संवाददाता
काठमाडौं, ४ वैशाख । फिफा विश्व कप २०१८ का लागि पाँचै महादेशमा छनोट चरणका खेलहरू अगाडि बढिरहेका बेला अमेरिका, क्यानडा र मेक्सिकोले आगामी २०२६ मा सम्पन्न हुने फिफा विश्व कप आयोजना गर्ने अधिकारका लागि संयुक्त निवेदन (बिड) विश्व फुटबलको सर्वोच्च संस्था फिफामा पेस गरेका छन् । ‘युएस सकर’ लाई उद्धृत गर्दै जारी भएको समाचारअनुसार अमेरिकी फुटबल (सकर) संघका अध्यक्ष सुनील गुलाटीले गत सोमबार १० अप्रिलमा आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् ।

तीन देशको आयोजना इतिहासको अनुभव हेर्दा, अमेरिकाले सन् १९९४ मा विश्व कपको सफल आयोजना गरिसकेको हो भने मेक्सिकोले सन् १९७० र १९८६ मा गरी दुईपटक फिफा विश्व कपको आयोजना गरिसकेको छ । क्यानडाले सन् २०१५ मा फिफा महिला विश्व कपको आयोजना गरेको अनुभव सँगालेको छ ।

अमेरिकी अगुवाइमा अगाडि सारिएको यस नयाँ बडलाई फिफाले निर्धारित समयभन्दा पहिले नै स्वीकृति दिइसक्नेमा उत्तर अमेरिकी महादेशीय फुटबल महासंघ (कन्काकाफ) विश्वस्त छ, यद्यपि उक्त वर्षको आयोजनासम्बन्धी अन्तिम निर्णय फिफाले सन् २०२० मा गर्ने कार्यक्रम पूर्वनिर्धारित छ । उसले यो बिड आगामी मे महिनामा हुने फिफा कङ्ग्रेसमा प्रस्तुत गर्नेछ ।
फिफा विश्व कप–२०२६ संस्करणको विशेषता के हुनेछ भने यो फिफा विश्व कप फुटबल इतिहासमा त्यस्तो पहिलो प्रतियोगिता हुनेछ जसमा ४८ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् । यससम्बन्धमा फिफाले गत जनवरीमा निर्णय गर्दै प्रतिस्पर्धी देशको सङ्ख्या हाल कायम रहेको ३२ बाट बढाएर ४८ गर्ने निर्णय लिएको थियो ।

यसरी टोली सङ्ख्या बढाइएपछि विश्व कपको अवधिमा खेल (म्याच) सङ्ख्या पनि हाल कायम ६४ बाट बढेर ८० पुग्नेछ । उपलब्ध स्टेडियम र संरचनागत पूर्वाधार हेर्दा तीन देशको संयुक्त आयोजना हुने भए पनि सबैभन्दा म्याच स्वयम् अमेरिकामै आयोजना हुनेछन् ।
यसअघि सन् २०२२ को फिफा विश्व कप आयोजनाको एकल अधिकारका लागि बिड गरेको भए पनि अन्तिममा कतारले उक्त अधिकार पाएसँगै अमेरिका त्यसपटकको प्रयासमा असफल रहेको थियो । स्मरणीय छ, सन् २०१८ को फिफा विश्व कपको आयोजना रसियाले गर्दै छ । समाचार एजेन्सीहरूका अनुसार, विश्व कप आयोजना फरकफरक महादेशहरूले गर्नुपर्ने फिफाको ‘रोटेसन नीति’ अनुरूप युरोपेली अथवा एसियाली देशले फिफा विश्व कप–२०२६ को आयोजना अधिकारका लागि बिड गर्न पाउँदैनन् । यसको अर्थ, उक्त आयोजनाका लागि बिड गर्ने अधिकार कन्काकाफ अतिरिक्त केवल दक्षिण अमेरिका, अफ्रिका र ओसेनिया समूहरूसित मात्र रहेको छ ।

अमेरिकी अगुवाइको यो बिड सफल भएमा विश्व कपको संयुक्त आयोजना भएको यो केवल दोस्रो पटक हुनेछ । यसअघि, पहिलोपटक, सन् २००२ मा दक्षिण कोरिया र जापानले फिफा विश्व कपको संयुक्त आयोजना गरेका थिए । त्यसबेला दुवै देशले छनोट चरण नखेलिकनै आयोजकका हैसियतले सोझै विश्व कपमा प्रवेश पाएका थिए । यसपटक तीन देशले संयुक्त आयोजनाका लागि निवेदन दिएकोमा उक्त तीनवटै देशले सोझै विश्व कप प्रतियोगितामा प्रवेश पाउने हुन वा होइनन् भन्ने स्पष्ट नभए पनि सहभागी देशको सङ्ख्या बढेको आधारमा हेर्दा आयोजक देशले सोझै विश्व कपमा खेल्ने पाउने फिफा परम्पराले निरन्तरता पाइरहने आधार नै बलियो देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*