फैसलाको ८ वर्षपछि माओवादी नेता ढुंगेल पक्राउ, जेल चलान

संवाददाता । काठमाडौं, १४ कात्तिक ।

हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला सुनाइएका नेकपा (माओवादी केन्द्र) का नेता एवम पूर्व सभासद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनलाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सातदोबाटोबाट पक्राउ गरेको हो । पक्राउपछि ढुंगेललाई जिल्ला अदालत उपस्थित गराई सदरखोर कारागार चारखाल चलान गरिएको हो ।

सर्वोच्चले जन्मकैदको फैसला गरेपछि ढुंगेल लुकिछिपी बस्दै आएका थिए । फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानि मुद्दा समेत परेको थियो ।

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

युद्धकालीन समयको घटनाको रुपमा ब्याख्या गर्दै झलनाथ खनाल नेतृत्वको सरकारले ढुंगेलको मुद्दा फिर्ता लिने तयारी गरेको थियो ।

तर चर्को विरोध भएपछिट उनको मुद्दा फिर्ता हुन सकेन । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पनि मुद्दा फिर्ता लिने प्रयत्न नभएको होइन ।

त्यस्तै ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न २०७३ चैत ३१ गते सर्वोच्चले प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको थियो।

फिल्मी शैलीमा यसरी समातिएका थिए ढुंगेल

bal_krishna_dhungel_
बालकृष्ण ढुंगेल लतिलपुरको सातदोबाटोस्थित स्विमिङ पुलको पछिल्तिर बस्न थालेको करिब ६ महिना मात्रै भएको थियो । परिवार कपनमा बस्ने गरे पनि सुरक्षाका कारण आफूमात्रै सातदोबाटो बस्ने ढुंगेलको डेरा–कोठाबारे केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी पुष्कर कार्की जानकार थिए ।

तीनै कार्कीको आदेशमा मंगलबार बिहान चारजना सादा पोसाकका प्रहरी सातदोबाटो पुगे । तीनजना स्विमिङ पुलतिरै रोकिए, कपाल पालेका उनीहरु प्रहरी जस्ता देखिदैनथे । तीमध्ये एकजना बालकृष्णको डेरामा पुगे । बालकृष्ण कतै बाहिर निस्कने तयारीमा थिए । ती अपरिचित ‘युवा’ले ढुंगेललाई देखेपछि श्रद्धापूर्वक हात जोडेर भने, ‘दाइ नमस्ते !’

ढुंगेलले हात उठाउन नपाउँदै उनले मोबाइल निकालेर भने, ‘दाइ हुनुहुन्छ, तपाईँहरु आउनुस् ।’ क्षणभरमै अरु तीन जना कपाल पालेका ‘युवा’हरुले ढुंगेलाई घेरेर भने, ‘तपाई हाम्रो अफिसमा हिँड्नुस, हामी सिआइबीबाट आएको !’

ढुंगेल छाँगाबाट खसेजस्तै भए, हेर्दा प्रहरीजस्ता नदेखिने सादा पोशाकका प्रहरीले क्षणभरमै गाडीमा राखेर केन्द्रीय अनुसन्धान ब्युरोको हेड्क्वार्टर महाराजगञ्ज लगिहाले ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलाई १० असार २०५५ मा कर्तब्य गरेर मारेको मुद्दामा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

फैसला कार्यान्वयनका लागि पटक–पटक सर्वोच्चमा रिट पर्ने र अदालतले पटक–पटक ‘सात दिनभित्र पक्राउ गर्नु’ भन्ने आदेश दिन थालेपछि ढुंगेलले आत्मसमर्पण गर्ने मानसिकता बनाएका थिए ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर गरेको फैसला पुनरावदेन अदालत राजविराजले उल्टाएको थियो । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेपछि कानुन ब्यवसायी, मानवअधिकारवादी र उज्जनकुमार श्रेष्ठको परिवारले ढुंगेललाई पक्राउ गर्न दबाब दिँदै आएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा ढुंगेलले ओखलढुंगा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

पटक–पटक आफ्नो पार्टी सरकारमा गएपनि मुद्दा फिर्ता लिने प्रयत्न सफल नहुने देखेपछि ढुंगेलले आत्मसमर्पणको मानसिकता बनाएको बताइएको छ । तर आत्मसमर्पणको अवसर नआउँदै ढुंगेल कपाल पालेका सादा पोसाकका प्रहरीको फन्दामा परे ।

मंगलबार, कात्तिक १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*