बाइडेन र ह्यारिसलाई ‘टाइम वर्ष व्यक्ति’ उपाधि

वासिङ्टन डिसी । विश्वचर्चित अमेरिकी पत्रिका टाइम म्यागेजिनले वर्ष २०२० का लागि ‘वर्ष व्यक्ति’ घोषणा गर्दै यसपटक अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई कभर पेजमा स्थान दिएको छ । दुवैको फोटोसहित पत्रिकाले लेखेको छ- बदलिँदो अमेरिकाको कथा ।

सन् १९२७ देखि नै टाइम म्यागेजिन वर्ष व्यक्ति छानिँदै आएको छ । यस वर्ष वर्ष व्यक्तिको दौडमा अमेरिकाका फिजिसियन डा. एन्थनी फौसी, जातीय न्याय आन्दोलन र राष्ट्रपति डोनाल्ड ट्रम्प पनि थिए ।

बाइडेन गत महिना भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई हराउन सफल भए । अमेरिकाको सबै ५० राज्यको चुनावी परिणाम आइसकेको छ । यसको बावजुद पनि ट्रम्प चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् ।

म्यागेजिनले दुवैलाई अमेरिकी इतिहास बदलेको जससहित राजनीतिमा यो उपाधि दिएको हो । टाइमका प्रधानसम्पादक एडवर्ड फेल्सेन्थलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाइडेन र कमला ह्यारिसले अमेरिकी इतिहास बदल्ने प्रयास गरेका छन् । नागरिकलाई विभाजन गर्दाभन्दा उनीहरुप्रति सहानुभूति देखाउँदा बढी शक्ति मिल्छ भन्ने उनीहरुले देखाएका छन् । दुवैले दुःखमा डुबेको दुनियाँको घाउमा मल्हम लगाउने भिजन प्रस्तुत गरेका छन् ।’

टाइमले अमेरिकी राष्ट्रपतिलाई वर्ष व्यक्ति छानेको पहिलोपटक भने होइन । यसअघि २०१६ मा ट्रम्पलाई र त्यसअघि ओबामा र जर्ज डब्ल्यु बुशलाई पनि दुईपटक टाइम वर्ष व्यक्ति चुनिसकेको छ । सन् २०१९ मा यो सम्मान जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएकी स्वीडेनकी बालिका ग्रेटा थनबर्गलाई दिइएको थियो । (एजेन्सी)

सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*